पढाइ छाडेर ज्यामी काममा

सिन्धुपाल्चोक : इन्द्रावती नदी किनारस्थित भीमटारका छात्रछात्राले पढाइलाई भन्दा ज्यामी कामलाई बढी महत्त्व दिने गरेका छन् ।
सीमान्तकृत माझी तथा दनुवार समुदायका विद्यार्थीले पर्याप्त आयस्रोत र खाद्यान्नको अभावमा पिल्सिएका बेला कमाएर ल्याएपछि अभिभावकसमेत खुसी हुन थालेका छन् । जिल्लामै सबैभन्दा बढी माझी र दनुवारको बसोबास रहेको गाविसमा उनीहरूको संख्या ९५ प्रतिशत छ ।
बीचमै पढाइ छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्न शिक्षा कार्यालयले गाविसमा विद्यार्थी भर्ना अभियानमा विशेष सक्रियता देखाएको थियो । अभियान प्रभावकारी हुन नसकेपछि ०६९ साल भदौ महिनामा टिफिन बक्ससमेत वितरण गरिएको थियो ।
शिक्षा कार्यालयको समन्वयमा चन्दा संकलन गरी सिभिक लिडरसिप नामक गैरसरकारी संस्थाले टिफिन बक्स वितरण गरेको हो । जसअनुसार भीमसेन माविका ४ सय १७, परोपकार निमाविका २ सय ४, इन्द्रावती प्राविका १ सय २, पञ्चकन्या प्राविका ७९, ढोटार प्राविका १ सय ४, सेतीदेवी प्रस्तावित माविका २ सय ८९, बालविकास केन्द्रका २४, बिपी देउता प्राविका ७२ सहित कुल एक हजार ३ सय छात्रछात्रालाई टिफिन बक्स वितरण गरिएको थियो ।
गाविसमा बिहानको खाना ज्यादै ढिलो पाक्ने हुँदा प्राय: सबै विद्यार्थी भोकै विद्यालय आउने गरेको भीमसेन माविका प्रधानाध्यापक कृष्णप्रसाद श्रेष्ठले बताए । झन्डै ९९ प्रतिशत माझी र दनुवार छात्रछात्रा अध्ययन गर्ने त्यहाँको विद्यालयमा टिफिन बक्स वितरण गरेपछि सुरुका दुईचार दिनमा उत्साहपूर्वक सबैले खाजा ल्याएको स्मरण गर्दै प्रधानाध्यापक श्रेष्ठ घरमा नै खाजा नभएपछि विद्यार्थी पढ्नै आउन छाडेको बताए ।
गाउँनजिकै इन्द्रावती नदी भएकाले माछा मारेर जीविका चलाउँदै आएको पुख्र्याैली पेसा भए पनि विषादी र करेन्ट प्रयोगबाट दसकौँ अघिदेखि उनीहरू पेसाबाट समेत विस्थापित भइसकेका छन् । गाविसबाट हालसम्म १५ जनाले मात्र प्रवेशिका पास गरेका छन् । (सौस)

प्रतिक्रिया