दलहरू मिल्नुको विकल्प छैन : राष्ट्रपति

काठमाडौं : राष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधानका लागि दलहरू मिल्नुको विकल्प नभएको बताएका छन् । कानुनी विषयसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति यादवले दलहरू सहमतिमा पुग्न नसकी संविधानसभा समाप्त भएकोमा चिन्ता जनाए ।
‘अब पनि वर्तमान संक्रमणकालीन अवस्थालाई अन्त्य गर्दै जनताको चाहना अनुरूप संविधान प्राप्त गर्न दलहरू मिल्नुको विकल्प छैन,’ उनले भने । स्वतन्त्र न्यायपालिका र विधिको शासन प्रजातन्त्रको मेरुदण्ड भएको भन्दै राष्ट्रपति डा. यादवले कानुन व्यवसायीहरू सामाजिक इन्जिनियर भएको चर्चा गरे । नेपाल बार एसोसिएसन र ल एसियाले गरेको सम्मेलनमा नेपालसहित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) देशसहित कोरिया, मलेसिया, जापानका कानुन विज्ञहरू पनि सहभागी छन् ।
सम्मेलनमा स्वतन्त्र न्यायपालिका, विधिको शासन, कानुनी शिक्षा, स्वतन्त्र बार, मानवअधिकार, कानुनी सहयोग प्रदानसहितका विषयका कार्यपत्र प्रस्तुति र छलफल गरिनेछ । विदेशी कानुनविदहरूले आ–आफ्ना देशमा भएको कानुनी शासनका अवस्थाका विषयमा अनुभव आदानप्रदान पनि गर्नेछन् । कार्यक्रममा प्रधानन्यायाधीश खिलराज रेग्मीले जनताको अधिकार गुम्न नदिने माध्यम नै न्यायपालिका भएको भन्दै न्यायपालिका बलियो भएमा मात्र प्रजातन्त्र बलियो हुने टिप्पणी गरे ।
नेपाल बार एसोसिएसनका अध्यक्ष प्रेमबहादुर खड्का र नवनिर्वाचित अध्यक्ष हरिकृष्ण कार्कीले विधिको शासन र स्वतन्त्र न्यायपालिकाका लागि बारको भूमिका अहं रहने चर्चा गरेका थिए । महान्यायाधिवक्ता मुक्तिनारायण प्रधानले मानवअधिकार रक्षाका लागि कानुन व्यवसायीहरूले स्वतन्त्र रूपमा काम गर्नुपर्ने उल्लेख गरे । (सौस)

प्रतिक्रिया