काठमाडौं, १४ माघ । धर्मेन्द्र मरवैता ‘पप्पु’ को नाम धेरै चलचित्रकर्मीले सम्भवत: शुक्रबार पहिलोचोटि सुने । यिनै पप्पुलाई सरकारले नेपाली चलचित्र उद्योगको बागडोर सम्हाल्ने जिम्मेवारी सुम्पेको छ । योग्य र विज्ञलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्ति गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रेका चलचित्रकर्मी पप्पुको नाम आएपछि झन् आगो भएका छन् ।
शनिबार विकास बोर्ड परिसरमा पत्रकार सम्मेलन गर्दै आन्दोलनरत चलचित्रकर्मीले पप्पुलाई बोर्डमा छिर्नै नदिने घोषणा गरे । चलचित्रकर्मीले आºना भावनालाई कुल्चेर सरकारले गैरचलचित्रकर्मी बोर्ड अध्यक्ष नियुक्त गरेको भन्दै आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेका छन्् ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आन्दोलनरत चलचित्रकर्मीमाझबाटै अध्यक्ष नियुक्तिको आश्वासन दिए पनि त्यो पूरा नगरेकाले आन्दोलका थप कार्यक्रम घोषणा गरेको आन्दोलन संघर्ष समितिका संयोजक राजकुमार राईले बताए । घोषित संघर्षका कार्यक्रममा शनिबारदेखि नै देशभरका सम्पूर्ण चलचित्र घरका साथै सुटिङ, पोस्ट प्रोडक्सनलगायत चलचित्र निर्माणसम्बन्धी सम्पूर्ण काम बन्द गर्ने जनाइएको छ । यसैगरी, बोर्डका नवनियुत्तक्त अध्यक्षलाई बोर्ड प्रवेशमा निषेध गरी सार्वजनिक बहिष्कार गर्नेसमेत कार्यक्रम छ । चलचित्रकर्मीले जारी अनशनलाई यथावत् सुचारु राख्ने भएका छन् ।
मला ई नमान्नु भनेको देश विभाजन गर्नु हो
– धर्मेन्द्रकुमार मरवैता (पप्पु )
नवनियुक्त अध्यक्ष चलचित्र विकास बोर्ड
तपाइं मूलधारको चलचित्रकर्मी होइन भनिन्छ नि ?
म नेपाल चलचित्र निर्माता संघकै सदस्य हुँ । निर्माता संघको चुनावमा पनि मतदान गरेको छु । मलाई चलचित्रकर्मी होइन भन्नु आºनै योग्यतामाथि प्रश्नचिह्न लगाउनु हो । २२ वर्ष भयो चलचित्र क्षेत्रमा लागेको । निर्माणकै हिसाबले भन्ने हो भने भोजपुरी र मैथिली गरी आधा दर्जन चलचित्र निर्माण गरेको छु । भोजपुरी र मैथिली चलचित्र निर्माण गर्नेलाई चलचित्रकर्मी नभन्नु देश विभाजन गर्न खोज्नु हो ।
चलचित्रकर्मीको आन्दोलन अझै जारी छ नि ?
बोर्ड अध्यक्षको माग हो भने उनीहरूको आन्दोलनको अब औचित्य छैन । चलचित्रको हकहितका लागि म उहाँहरूसँग मिलेर काम गर्न तयार छु, आफैँ अध्यक्ष बन्ने आन्दोलन हो भने यो उहाँहरूकै कुरा हो ।
तपाईंले नेपाली चलचित्रभन्दा भोजपुरीलाई प्रमोट गर्नुहुन्छ कि ?
के नेपाली, के भोजपुरी, के मैथिली हामी सबै नेपाली हाँै । यी सबै नेपालभित्रका चलचित्र हुन् । भाषागत रूपले फरक होला । यसरी भोजपुरी, मैथिली भनेर छुट्याउनु देश टुक्रयाउन खोज्नुजस्तै हो । जुन भाषामा चलचित्र भए पनि कलाकारले गर्ने अभिनय नै हो । यसरी भाषाका रूपले हेर्न हो भने पहाडिया आए भने मधेसीले विरोध गरे भैगो नि † त्यसैले हामी सबै जुटेर नराम्रो चलचित्र साइड लगाउँदै राम्रा चलचित्रलाई अन्तर्राष्ट्रीय स्तरसम्म पुर्याउन र कलाकारिताको विकास गर्न लाग्नुपर्छ ।
तपाईंका योजना पनि त होलान् नि ?
मैले चलचित्रको हकहितका लागि धेरै डिजाइन तयार पारेको छु । ती डिजाइनमा चलचित्रका समस्या, कलाकारका समस्या, निर्माताका समस्यालगायत फिल्म सिटीको योजना पनि छ । सबैको साथ पाए चलचित्र क्षेत्रलाई अहिलेको भन्दा निकै माथि पुर्याउने लक्ष्य छ मेरो ।
बोर्ड स्वयत्तताको कुरा पनि त होला नि ?
यो मेरो बसको कुरा होइन, यसलाई संसद्को दुईतिहाइले पारित गर्नुपर्छ । मन्त्रिपरिषद्ले समेत गर्न सक्दैन ।
तपाईंलाई त बोर्डभित्र पस्नै नदिने भनेका छन्, यो माहोलमा कसरी काम गर्नुहुन्छ ?
म बोर्डको अध्यक्ष नियुक्त हुनेबित्तिकै मलाई बधाई र साथ दिन तयार छाँै भनेर फोन गर्ने यी आन्दोलनरत चलचित्र संघसंस्थाकै नेतृत्व पक्ष पनि त छ ।
पप्पु चलचित्रकर्मी होइनन्
– राजकुमार राई
अध्यक्ष निर्माता संघ तथा संयोजक संघर्ष समिति
सरकारले बोर्ड अध्यक्ष दिँदा पनि थप कार्यक्रम सार्वजनिक गर्नुभयो नि ?
हामीले चलचित्रकर्मीबाटै बोर्ड अध्यक्षको माग गरेका हाँै । त्यसैले हाम्रो मागको सुनुवाइ नभएसम्म आन्दोलन जारी रहन्छ ।
अहिले आएका अध्यक्ष चलचित्रकर्मी नै हुन् नि होइन र ?
होइन । उनले अहिलेसम्म न नेपाली चलचित्र बनाएका छन् न त नेपाली चलचित्रमा अभिनय नै गरेका छन् । खाली भोजपुरी चलचित्र निर्माण गरेको भरमा चलचित्रकर्मी भन्न मिल्दैन ।
तपाईंकै निर्माता संघको सदस्य त हो नि ?
नेपाली चलचित्र निर्माण कम्पनी दर्ता गर्नेबित्तिकै निर्माता संघको सदस्य हुन पाउँछ । यस हिसाबले उहाँ चलचित्र निर्माता संघको सदस्य हो । चलचित्रकर्मी भनेको नेपाली मूलधारको चलचित्र निर्माण वा अभिनय हुनु जरुरी छ ।
भोजपुरी र मैथिली चलचित्र नेपाली चलचित्र होइनन् र ?
यी भाषिक चलचित्र हुन्, यीनलाई अन्य नेपाली चलचित्रसँग तुलना गर्न मिल्दैन ।
बोर्डको अध्यक्षमा कस्तो व्यक्तिलाई ल्याउनुपर्छ त ?
विभिन्न मापदण्ड पुर्याएर अध्यक्ष नियुक्ति गर्नुपर्यो । त्यो मापदण्डमा चलचित्रकर्मीको सिफारिस पनि एक क्राइटेरिया हो ।
प्रधानमन्त्रीसँगको भेटमा आन्दोलनरत चलचित्रकर्मीको तर्फबाट अध्यक्षका प्रस्ताव मागिएकोमा दिन सक्नु भएन भन्ने हल्ला छ नि ?
यो गलत हो । हामीसँग अध्यक्ष मागिएको छैन । मागेको भए हामी विकल्पसहित चार/पाँच जनाको नाम दिन तयार थियाँै । भेटमा उहाँले चलचित्रकर्मीबाटै नियुक्ति गर्छांै ढुक्क हुनुस् भनेर आश्वासन दिएर फर्काउनुभएको हो ।
रिले अनशन १०औँ दिनमा
चलचित्र विकास बोर्डमा चलचित्रकर्मीहरूको जारी रिले अनशन शनिबारबाट १०औँ दिनमा प्रवेश गरेको छ । हालसम्म ६० भन्दा बढी चलचित्रकर्मी रिले अनशनमा बसिसकेका छन् ।
माघ ४– कुमार सिलवाल, लक्ष्मी गिरी, ऋचा सिंह ठकुरी, सुवास गजुरेल, मुकेस ढकाल,
माघ ५– बसुन्धरा भुसाल, सुनील थापा, रूपा राना , पुजना स्त्री, शंकर घिमिरे, पुष्कर लामा, टोमा लामा, जनक कार्की
माघ ६– बुनी संग्रौला, चन्दा बिडारी, दुर्गा नेवाङ, डम्बर भट्टराई, निल बस्नेत
माघ ७– आयूष रिजाल, नवल नेपाल, अभय कोई राई, महिमा सिलवाल, निरु महरा, अनुपा कार्की
माघ ८– आकाश अधिकारी, सैलेजा पाण्डे, नीरज बराल, समला शर्मा, विमला गिरी, शेषराज
माघ ९– हेमन्त बुढाथोकी, विद्या कार्की, निसा अधिकारी, कल्याण घिमिरे, पुष्पराज पुरुष, कामना सिटौला,
माघ १०– शुभेक्षा थापा, विमलेश अधिकारी, महेश गोदार, बेनिसा हमाल, पंकज राज, किरण दाहाल
माघ ११– शंकर आचार्य, राधज आचार्य, सिसा राई, गीता नेपाल, जिया केसी, कुलदीप अधिकारी,
माघ १२– करिश्मा मानन्धर, रश्मि भट्ट, बबि रोजा, विवेक विसी, बुद्ध लामा, जयकिसन बस्नेत
माघ १३– नन्दिता केसी, प्रमोद खड्का, सञ्जय टाउस, सिराजविक्रम विश्वकर्मा, राज क्षितिज, विनिता घिमिरे
माघ १४– वसन्त अधिकारी, दिव्या राज सुवेदी, बिक्की मल्ल, सुरबिध जैन, समुना केसी, मोनिका दाहाललगायत
को–को आएनन्
चलचित्र क्षेत्रकको हकहितका लागि आन्दोलनरत चलचित्रकर्मीहरूको आन्दोलनमा धेरैजसो कलाकर्मीले समर्थनसहित सहभागिता जनाए पनि कतिपय कलाकर्मीले भने अहिलेसम्म सहभागिता जनाएका छैनन् । आन्दोलनमा सहभागिता नजनाउनेमा चलचित्र निर्माता, निर्देशकदेखि कलाकारसमेत रहेको आन्दोलन संघर्ष समितिले जनाएको छ ।
हालसम्म आन्दोलनमा सहभागी नहुनेमा शिव श्रेष्ठ, मिथिला शर्मा, बिराज भट्ट, सञ्चिता लुइँटेल, उज्ज्वल घिमिरे, रामराजा दाहाललगायत थुप्रै चलचित्रकर्मी छन् । आºनो चलचित्रको विभिन्न काम भइरहेकाले यीलगायत धेरै कलाकर्मीले आन्दोलनमा सहभागिता जनाउन नसकेको समितिले जनाएको छ ।
को हुन् पप्पु ?
पप्पु (धमेन्द्र मरवैता) मैथिली भाषाका चलचित्र एवं टेलिचलचित्र निर्माता तथा कलाकार हुन् । उनले मैथिली भाषामा दमन, गरिब के बेटी, विजवा ठेला वाला, चोलिया के हक राजा जी तथा हिन्दी भाषामा भविष्य, भोजपुरीमा रंगबाज र दरोगासहित सजनवा सनेहियालगायत चलचित्र निर्माण गरेका छन् ।
सिरहा मार्डर निवासी पप्पु टिटिभीमा प्रसारण हुने टेलिचलचित्र कहन जी अ र हम अहा के विनाका निर्मातासमेत हुन् । धेरैअघि उनले सुहागन र सिउँदो नामक टेलिचलचित्र निर्माण गरेका थिए । जसमध्ये सिउँदो कान्तिपुर टेलिभिजनबाट केही भाग प्रसारण भएको थियो । निर्माता संघका सदस्यसमेत रहेका पप्पुले संघको निर्वाचनमा समेत भोट हालेको पुष्टि भएको छ । दश वर्षअघि एस मुभी प्रालिको नामबाट उनको चलचित्र निर्माण कम्पनी दर्ता छ । सञ्चारमन्त्री राजकिशोर यादव र पप्पुको गृहजल्ला एउटै हो ।
प्रतिक्रिया