एमाले नेता अधिकारी अस्वस्थ्य

bharatकाठमाडौं, १२ माघ । एमालेका स्थायी समिति सदस्य तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यमा गम्भीर समस्या देखिए पछि भारतमा उपचार भईरहेको छ ।
उपचारका लागि नेता अधिकारीलाई बुधबार भारतको राजधानी नयाँ दिल्लीस्थित मेदान्त अस्पताल लगिएको नेकपा (एमाले) केन्द्रीय स्वास्थ्य व्यवस्थापन समितिका सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । ७७ वर्षीय अधिकारीलाई दमको समस्या छ । उनलाई मुटुको पनि समस्या छ ।
यस अघि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा राखेर उपचार गरिएको थियो । उपचारका क्रममा सुधार नभए पछि भारत लगिएको श्रेष्ठले बताए । श्रेष्ठले भने, ‘विहीबार बेलुका सम्म नेता अधिकारीको स्वास्थ्यमा खासै सुधार नभए पनि चेकजाँच चलिरहेको छ ।’
नेता अधिकारी पार्टीको कार्यक्रममा सहभागी हुन तीन महिना अगाडि बुटवल गएको समयमा मुटुमा समस्या देखिए पछि चितवनस्थित मेडिकल कलेजमा उपचार गरिएको थियो । यद्यपि चितवनमा पनि सो समस्याको उपचार हुन नसके पछि काठमाडौं हुँदै पुनः दिल्ली लगेर उपचार गरिएको थियो ।
एमाले नेता अधिकारीलाई काठमाडौंमा एक्कासि बढेको चिसोले स्वासप्रश्वासमा समस्या देखिए पछि उपचारका लागि भारत पठाईएको श्रेष्ठको भनाई छ ।
नेता अधिकारीलाई मेदान्त अस्पतालका चिकित्सक डा.एटेन मेहताको टोलीले उपचार गरेको छ । मेहताले यस अघि एमाले नेता केपी ओली, राजपा अध्यक्ष सूर्यबहादुर थापालगायतको उपचार गरिसकेका छन् ।
यसैबीच, नेपाली कांग्रेसका नेता चक्रबास्तोलाको पनि मेदान्त अस्पतालमै उपचार भईरहेको छ । मस्तिष्कघातसम्बन्धी समस्या देखा परे पछि बास्तोला झण्डै तीन सातादेखि मेदान्त अस्पतालमै उपचार गराई रहेका छन् ।

प्रतिक्रिया