सुन तस्करी बढ्ने चिन्ता

goldकाठमाडौं, १० माघ । भारतले सुनमा भन्सार कर बढाएपछि थप तस्करी बढ्नेमा सुन व्यवसायी चिन्तित देखिएका छन् । चीनको खासाबाट सुन ल्याएर भारत पठाउने सार्वजनिक भइरहेकोमा थप भन्सार दर बढाएपछि झन् सुनको मूल्य बढेर तस्करीलाई फाइदा हुने कारण व्यवसायी चिन्तित देखिएका हुन् ।

भारतले मंगलबार सुनको खपत बढेको भन्दै आयात शुल्क ४ प्रतिशतबाट बढाएर ६ प्रतिशत पुर्‍याएको छ । केही महिनाअघि मात्रै भारतले २ प्रतिशत मात्र रहेको सुन आयात शुल्कलाई ४ प्रतिशत पुर्‍याएको थियो । खुला सीमानाका कारण भारतमा भन्दा नेपालमा सुनको भन्सार दर बढी हुनुपर्ने नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले बताए । भारतले भन्सार दर बढाएका कारण नेपालले पनि नबढाई सुखै नभएको उनले जानकारी दिए ।
यसअघि भारतमा प्रतिदश ग्राम १ हजार ८० भारतीय रुपियाँ भन्सार शुल्क रहेकोमा हालै यसलाई बढाएर १८ सय भारु पुर्‍याइएको छ । नेपालमा भने प्रतिदशग्राम २३ सय रुपियाँ भन्सार शुल्क लिने गरिएको छ । अध्यक्ष शाक्यका अनुसार भन्सार भारतले भन्सार शुल्क बढाएका कारण नेपालले पनि भन्सार शुल्क करिब ३ हजारको हाराहारीमा पुर्‍याउनुपर्छ ।
नेपालमा करिब दुई वर्षअघिदेखि सुन आयातमा परिमाणात्मक बन्देज कायम छ । नेपालले हरेक दिन १५ किलोग्रामसम्म मात्र सुन आयात गर्नसक्छ । नेपालको सुन बजारमा दैनिक ३५ किलो सुनको माग हुन्छ भने बिहेको सिजनमा यो माग बढेर औसत ४० किलोसम्म पुग्छ ।
नेपालमा खासाबाट अवैध रूपमा ल्याएको सुन भारत तस्कर हुने गरेको सुन विभिन्न नाकामा समातिएको घटनाले पुष्टि गरिसकेको छ । एक सुन व्यवसायीका अनुसार सुन तस्करहरूले खासाबाट ल्याएको सुन भारत पठाउँदा एक डेढ लाखसम्म कमाउँदै आएकोमा भारतमा सुनको भाउ बढ्ने भएपछि यो तस्करी अझ बढ्ने उनले बताए ।
विश्व सुन बजारमा भारत सुन आयात गर्ने ठूला राष्ट्रमध्ये एक हो । सुनलगायतका बहुमूल्य धातुहरूमा रकम लगानी हुन थालेपछि भारतको आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेको छ । सरकारको चालु खाता समेत घाटामा छ । चालु खातालाई सन्तुलनमा ल्याउनका लागि भारतले सुनको आयातमा लाग्ने करलाई बढाएर यसको आयातमा अंकुश लगाएको भारतीय सञ्चार माध्यमहरूले बताएका छन् ।
नेपालमा पनि तरल राजनीतिक अवस्थाका कारण लगानीको वातावरण खुम्चिँदै जाँदा सुनमा लगानी गर्ने एवं सुनको धितोमा कर्जा लगानी गर्ने बढेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आवमा वाणिज्य बैंकहरले सुनचाँदी धितोमा २१ अर्ब २१ करोड ३१ लाख रुपियाँ ऋण प्रदान गरेका छन् । वाणिज्य बैंकले गत आवमा ६ सय २२ अर्ब ५३ करोड ७४ लाख ऋण प्रवाह गरेकामा ३ दशमलव ४१ प्रतिशत कर्जा सुनचाँदीको धितोमा कर्जा प्रवाह गरेका हुन् । अघिल्लो वर्ष ५१ दशमलव ३ प्रतिशतले सुनचाँदी धितो कर्जामा वृद्धि भए पनि गत आवमा भने ३५ दशमलव ७ प्रतिशतले मात्र यो कर्जामा वृद्धि भएको हो ।
भारतमा सुन आयातमा भन्सार शुल्क वृद्धि भए पनि नेपालको स्थानीय बजारमा भने त्यसको कुनै असर देखिएन । मंगलबार सुन प्रति तोला ५८ हजार ६ सय रुपियाँमा नै कारोबार भयो । यो दर सोमबार बजार बन्द हुँदा पनि कायम थियो ।

प्रतिक्रिया