सारी मिलाउँदा मिलाउँदै बस छुट्थ्यो

Nirmala-Sharmaगाउँको स्कुलबाट एसएलसी गरेकी मैले । सहरमा कलेज पढ्न पाउँदा केके न होला भन्ने थियो । ठूलो उत्साह र कौतूहल बोकेर ०४० सालमा पोखराको पृथ्वीनारायण क्याम्पसमा आइए भर्ना भएँ । रमाइलै लाग्दै थियो । कलेजमा स्कुलमा भन्दा निकै स्वतन्त्रता हुन्छ भन्ने सुनेकी थिएँ । हो रहेछ, आफू निकै फ्री भएजस्तो लाग्थ्यो । स्कुलमा शिक्षकको निगरानीमा बस्नुपर्ने, कलेजमा आफ्नै सुरले पढ्न पाइन्थ्यो ।
कलेजमा अनिवार्य सारी लगाएर जानुपथ्र्यो तर मलाई लगाउनै आउँदैनथ्यो । घरेलुले उत्पादन गरेको सारी माड हालेर टल्काइएको हुन्थ्यो । जति गाह्रो भए पनि लगाउनु त पर्‍यो नै । कहिले कोसँग लगाइमाग्थेँ कहिले कोसँग । बल्लबल्ल लगायो, हिँड्नै गाह्रो । सारीकै कारण कलेज घाँडो पो हुन थाल्यो अब त ।
गाउँबाटै कलेजसम्मको बस आउँथ्यो । तर, सारी मिलाउँदामिलाउँदै छुट्थ्यो कुनै बेलाको बस त । अर्को बस कुरेर बस्थ्यौँ । जे भए पनि कलेजमा मजाले पढ्नुपर्छ, आफ्नो भविष्य बनाउनुपर्छ भन्नेचाहिँ थियो । स्कुलमा घोक्ने बानी परेकाले कलेजमा पनि त्यसै गर्थें । आउँदाजाँदा किताबको भारी नै हुन्थ्यो । किताब घोक्ने काम आइएमा निकै गरियो । ब्याचलरमा पुगेपछि बुझेँ– घोकेर मात्र हुँदैन, बुझेर पढ्नुपर्छ । त्यसपछि आफ्नो अध्ययनशैली परिवर्तन गरेँ ।
बिए पढ्न काठमाडौं आएँ, पिकेमा भर्ना भएँ । अब त सारी झन्झट टर्ला भनेको, यहाँ पनि त्यही पो लगाउनुपर्ने रहेछ । सारी नलगाए कक्षामा छिर्नै नपाउने, आफूलाई भने लगाउनै मन नलाग्ने । सारीबाट मुक्ति खोज्दै बिएड पढ्न टियु गएँ । पिकेमा प्राइभेट पढेँ, नियमित क्लासचाहिँ टियुबाट लिएँ ।
मास्टर पढ्न कीर्तिपुर जानुपर्ने । डेरा थियो बागबजारमा । पैसाको अभाव हुन्थ्यो । गाडीभाडा र खाजाका लागि पैसा हुँदैनथ्यो । सस्तो खाजा खुवाउने ठाउँ खोज्दै हिँड्थ्यौँ । कलेजमा हामी मिल्ने साथी ६ जनाको टिम थियो, केटाकेटी बराबर । कलेज लागेका दिन प्राय: सबै सँगै हुन्थ्यौँ ।
म मध्यमखाले विद्यार्थी थिएँ । फेल कहिल्यै भइनँ तर जेहेनदार विद्यार्थी पनि ठहरिइनँ । उति बेला मलाई शिक्षक बनेर शिक्षा बाँड्ने वा सरकारी जागिर खाएर देशको सेवा गर्ने चाहना थियो । मेरो परिवार पनि त्यही चाहन्थ्यो । तर, समयक्रमले पत्रकार पो बनाइदिएछ ।
उति बेला कीर्तिपुरको सान नै बेग्लै थियो । कलेज भनेकै त्यही मात्र हो जस्तो ठान्थे मानिस । कीर्तिपुरको विद्यार्थी भनेपछि मानिसहरूको हेराइ नै राम्रो । कीर्तिपुरको त्यो साख म अहिले पाउँदिनँ । पढाइबाहेक दायाँबायाँ गर्दैनथ्यौँ हामी । बाटोमा पनि पढाइबारे नै छलफल हुन्थ्यो । सामूहिक रूपमा पनि पढ्थ्यौँ तर अरूका बारे अनावश्यक टीकाटिप्पणी गरेर समय खेर फाल्दैनथ्यौँ ।
त्यति बेला अहिलेकी माओवादी नेत्री पम्फा भुषाल, एमाले नेता शंकर पोखोल, कांग्रेस नेत्री उमा अधिकारीलगायत पनि त्यहीँ पढ्थे । उनीहरू हामीभन्दा सिनियर थिए । ऊ बेला मैले कीर्तिपुरमा देखेका अरू विद्यार्थी पनि अहिले राजनीतिक रूपमा महत्त्वपूर्ण स्थानमा देखिन्छन् ।
कलेज पढ्दा म राजनीतिक रूपमा सचेत थिएँ तर यसमा सक्रिय भने थिइन् । बुबाआमा पनि छोरी स्ववियुमा नछिरोस्, राजनीतिमा नलागोस् भन्ने चाहनुहुन्थ्यो । जागिर खाने बेलामा राजनीतिक ट्याग लाग्ला भन्ने डर थियो उहाँहरूलाई । म उहाँहरूले चालै नपाउने गरी सुटुक्क स्ववियुमा भोट हाल्नचाहिँ जान्थेँ ।
अहिले लाग्छ– कलेजमा पाठ्यक्रमका किताब मात्र धेरै पढेछु । त्यसै कारण बाहिरी समसामयिक ज्ञान उति प्राप्त गरिनँ । पढाइसँगै बाहिरी अध्ययन पनि गरेको भए अहिले करियर निर्माणमा थप सजिलो हुन्थ्यो कि भन्ने लागिरहन्छ । तर, समय फर्केर आउँदैन । कलेज जीवनमा आफू साँघुरो घेराभित्र पसेछु जस्तो लाग्छ । समाज र विश्व बुझ्न पाठ्यक्रमले मात्र पुग्दैन, बाहिरी विषयवस्तुको अध्ययन चाहिन्छ । कलेज पढ्दा मैले चाहिँ त्यो अवसर गुमाएछु ।

(वार्तामा आधारित)

प्रतिक्रिया