जमिनमुनि भेटियो साढे ५ किलो सुन

Goldअस्ट्रेलियाका एक व्यक्ति रातारात करोडपति बनेका छन् । उनलाई कुनै चिट्ठा परेको होइन न त कसैको आपुताली हात परेको हो । सुन्दै अचम्म लाग्ने गरी उनले जमिनमुनि गाडिएर बसेको साढे ५ किलो सुन फेला पारेका हुन् । भिक्टोरिया राज्यस्थित बालाराट सहरमा ती व्यक्तिले मेटल डिटेक्टरको सहारामा यतिको परिमाणको सुन हात पारेका हुन् । त्यो पनि जमिनबाट जम्मा साठी सेन्टिमिटरको गहिराइमा । सो सुनको मूल्य ३ लाख १५ हजार डलर अर्थात् करोडौं नेपाली रुपियाँ हुने बताइएको छ । स्थानीय सुनविशेषज्ञका अनुसार दशकांैदेखि सो इलाकामा सुन खोज्ने कार्य हुँदै आइरहेको छ । यति ठूलो परिमाणमा सुन भेटिएको भने यो पहिलोचोटि रहेको उनले प्रस्ट्याए । स्थानीय एक सुन कारोबारीले भने, ‘म पनि दुई दशकदेखि यस इलाकामा सुन खोज्ने र त्यसको कारोबार गर्ने व्यवसायमा संलग्न छु । यति ठूलो सुन भेटिनु अचम्मै हो किनकि यसअघि १०० औन्स सम्मको सुन भेटिएको मात्र मलाई थाहा थियो ।’ भेटिएको सुनको दृश्य अहिले युट्युबमा राखिएको छ, जसको आकार अंग्रेजी अल्फाबेट ‘आई’ जस्तो छ । नाम गोप्य राखिएका ती सुन भेट्ने व्यक्तिले यसअघि पनि सुनको खोजी नगरेका होइनन् । तर, यसपालि भने एकैचोटि ठूलो सफलता हात पारेका हुन् । (एजेन्सी)

प्रतिक्रिया