फकल्यान्डमा जनमतसंग्रह हुने

Finlandलन्डन : फकल्यान्डबासीहरू आफ्नो भूमिलाई बेलायतको समुद्रपारिको द्वीपको हैसियतमा कायम राख्न चाहन्छन् वा चाहँदैनन् भन्ने विषयमा मार्च १० तथा ११ मा जनमतसंग्रह हुने भएको छ । फकल्यान्डको सार्वभौमसत्ताबारे बेलायत र फकल्यान्ड प्रशाशनबीच तनाव तथा विवाद उत्पन्न भएपछि यसको छिनोफानोका लागि जनमतसंग्रह गर्न लागिएको हो । द्वीपका करिब तीन हजार बासिन्दाले जनमत संग्रहमा भाग लिनेछन् । यसले फकल्यान्डको भविष्यबारे अर्जेन्टिना र बेलायतबीच विद्यमान विवाद पनि समाधान गर्ने अनुमान गरिएको छ ।
बेलायतले आन्ध्र महासागरको दक्षिणी भागमा रहेको उक्त द्वीपलाई सन् १८३३ आफ्नो नियन्त्रणमा लिएको थियो । तर, फकल्यान्ड प्रशासनले भने उक्त द्वीप सार्वभौम भएको दाबी गर्दै आएको छ ।
फकल्यान्ड प्रशासनले एक विज्ञप्ति प्रकाशन गरी जनमत संग्रहको नतिजाले यहाँका जनता कस्तो जीवन बिताउन चाहन्छन् भन्ने कुरालाई प्रजातान्त्रिक तरिकाले प्रदर्शन गर्ने उल्लेख गरेको छ । फकल्यान्ड द्वीपको सरकारले जनमतसंग्रह स्वतन्त्र तथा निष्पक्ष रूपमा भएको छ भन्ने देखाउन भरपर्दो अन्तर्राष्ट्रिय तथा स्वतन्त्र पर्यवेक्षकहरूलाई अनुगमन गर्न दिने विषयमा पनि परामर्श गरेको विज्ञप्तिमा उल्लेख छ ।
जनमतसंग्रहमा फकल्यान्डका जनतालाई ‘के तपाईं फकल्यान्ड द्वीप संयुक्त अधिराज्यको समुद्रपारिको क्षेत्रको रूपमा रहेको वर्तमान राजनीतिक स्तर कायम राख्न चाहनुहुन्छ ?’ भन्ने प्रश्न सोधिनेछ । यसको उत्तर ‘हो’ वा ‘होइन’ मा दिनु पर्नेछ ।
मतपत्रमा यस विषयको प्रस्तावनासमेत राखिनेछ । त्यसमा ‘फकल्यान्ड द्वीपको वर्तमान राजनीतिक स्तर बेलायतको समुद्रपारिको क्षेत्रको रूपमा रहेको छ । यो द्वीप हाल आन्तरिक रूपमा स्वशासित रहेको छ र संयुक्त अधिराज्य यसको प्रतिरक्षा तथा विदेशी मामिलाप्रती जिम्मेवार छ । फकल्यान्ड द्वीपको संविधानमा यसका जनताले आत्मनिर्णयको अधिकार प्राप्त गरेको उल्लेख गरिएको छ र यसलाई उनीहरूले कुनै पनि समयमा प्रयोग गर्न पाउँछन् भन्नेसमेत लेखिएको’ प्रस्तावनामा उल्लेख गरिनेछ ।
अर्जेन्टिनाले फकल्यान्डको सार्वभौमसत्ताका विषयमा वार्ता गर्न आग्रह गरिरहेको अवस्थामा जनमतसंग्रहले यस द्वीपको राजनीतिक स्तरका बारेमा त्यहाँका जनताको दृष्टिकोण प्रष्ट पार्नेछ । यदि, बहुसंख्यक द्वीपवासीले वर्तमान अवस्थाको विरोधमा मत दिएमा फकल्यान्ड द्वीपको सरकारले यसको विकल्पमा थप जनमत संग्रह गर्ने तथा आवश्यक परामर्श गर्ने तयारी गर्न सक्नेछ भन्ने पनि प्रस्तावनामा राखिनेछ
जनमत संग्रह र त्यसको अर्थका विषयमा चार पृष्ठको पुस्तिका जारी गरिएको छ । बेलायतले फकल्यान्ड द्वीप वरपर तेल प्राप्तिको सम्भावनाका विषयमा अध्ययन गर्न सन् २०१० मा अधिकार दिएपछि अर्जेन्टिना तथा बेलायतबीच यस द्वीपका विषयमा पुन: विवाद बढेको हो । (एएफपी)

प्रतिक्रिया