महाभारतकी मैच्याङ

phulman-balलालीगुराँसजस्तै

रातो गाला
झनै रातो हुनेगरि
किन बेस्सरी दौडिरहेछ आज
यो लेकाली हावा ?
दोर्जेगाङलाई चुमेर
उड्दै उड्दै आइपुगेको यो भुईंकुहिरो
काउकुती चलाउनेगरि
किन मातिरहेछ बेस्सरी ?
धुपी सल्लाका बोटहरू सुस्तरी हल्लिँदा
किन बढिरहेको छ छातीको ढुक्ढुकी ?
सुनगाभाको लहरा
चूल्ठोमा अल्झिँदा
किन सिरिंग हुन्छ यो आङ ?

महाभारतकी मैच्याङ
आज, सोर्‍हवर्षमा टेकी

भुइँकुहिरोसँगै
उड्दै उड्दै
उसको मन आज
छितिजमा चाँदीजस्तै टल्किरहेको बादलसम्म
फैलिँदै फैलिँदै गइरहेको छ
त्यही बादलमुनिको शहरमा
गलैँचा बुन्न गएको च्याङबा
‘साँच्ची अहिले के गर्दै होला हगी ?
के उसलाई–
सँगै बाख्रा चराएको
च्याखुरा लखेटेको
भुइँ जुरेलीको फुल चोरेको
अनि, भाले मजुरको प्वाँख खोज्दा खोज्दै
तामाजोर लेकमा हराएको– संझना होला ?’

आज मैच्याङ
सम्झनाको दहमा
डुब्दै छिन्– डुब्दै छिन् ।

‘यो हावा उड्दै–उड्दै कहाँ पुग्छ होला ?
च्याङबा र मैले मरिनमा दुवाली फर्काउँदा
छोएको पानी
बगेर कहाँ पुग्यो होला ?
यो च्याखुराको एकतमास लय
किन आप्पाले बैँसमा गाउने
फापर व्हाई जस्तै लागिरहेछ ?
यो कुक्कुको आवाज
किन तड्पिरहेझैँ लाग्छ कसैको सम्झनामा ?’

सोर्‍ह वर्ष लागेको पहिलो दिन
आकाश छ्याङ्ग खुलेको छ
बतास सुस्तरी चल्मलाइरहेको छ
चुल्ठोमा सजिएको फूलवरिपरि
एकतमास भुन्भुनाइरहेका छन् बैँसालु भँमराहरू
आज मैच्याङ–
याङवेल लेकबाट
पेटारे बाख्रा सुम्सुम्याउँदै
टोलाउँदै हेरिरहेकी छन्–
भर्खरै डोजरले जोतेर गएको
सहर जोड्ने यो नागबेली कच्ची बाटो
यही बाटो उ कल्पनाको घोडा दौडाउँदै
रोसीखोला ओर्लिन्छे
र, किनारै किनार
हावाको बेगमा बत्तिएर
ऊ काठमाडौं आइपुगेकी छ यतिबेला
पीपा हजुरबाले सुनाएको
–रानी पोखरीको कथा
–टुडिखेलको मैदान
–त्यो सिंहदरबार
–धरहरा,
–घन्टाघर,
–हवाइजहाज बस्ने गौचरन,
–चिडियाखाना,
–स्वयम्भू र बौद्धमा घुमिरहने
घर जत्तिकै ठूलो त्यो म्हाने
–बाहिरैबाट मुख मिठ्याउँदै फर्केको
भोटाहिँटीको त्यो मिठाई पसल
‘आम्मा हो †
कस्तरी कुदिरहेका हुन् यी गाडीहरू ?
के खान्छ होला यिनीहरूले ?
साँझ कहाँ बास बस्छ होला हगि ?’

कल्पनाको घोडा चढेर/घुम्दा घुम्दै
रानी पोखरीकै छेउ
च्याङबालाई उसले भेट्टाई छाडी
कपाल अलिक लामो भएछ–
‘छेवारमा आस्याङले काट्न पाएको भए पो †’
नाक उस्तै छ थेप्चे–
गाला अलिकति सुकेछ
खुट्ट उस्तै छन् मसिना
बाख्रा चराउँदा खर्कमा
खल्र्याङ खुट्टी खेले जस्तै
‘साँच्ची, अघाउँजी खाएनौ कि क्या हो ?’

कल्पनाको घोडामा
च्याङबालाई राखेर
ऊ फेरि हुइँकिन्छे गाउँतिर
ल्होछार मनाएपछि पक्कै पनि
ताम्बालाई अघि लाउँदै उसको घरमा
पोङ लिएर आउने छ च्याङबा
बत्तीको धिपधिपे उज्यालोभित्र
अलिकति लजाउँदै
छुनेछे उसले पोङ
भन्नेछन् सबैले– ‘लास्सो †’
गाउनेछन् डम्फूमा सेलो
आमाको ओझेलमा लुकेर ऊ
लजाउँदै हेर्नेछे च्याङवालाई
उही चिम्से आँखा
झिम्काउने छ च्याङबाले
ऊ नाकको पोरा फुलाउँदै
रिसाएको नाटक गर्नेछे

‘उफ,
यो हावा किन चल्नु पर्‍या यस्तरी–
चुल्ठोको गुराँस झर्नेगरि ?
कल्पनाको घोडाबाट खस्नेगरि ?’

गाईबाख्राको पदछाप पछ्याउँदै
साँझ अबेर घर फर्किँदा
आप्पाको स्वर सुनी उसले–
‘मैच्याङलाई आज के भएछ हँ ?
गाईबाख्रा त आफैँ फर्केछन् ?’

महाभारतकी मैच्याङ
सोर्‍ह वर्ष पुगेको
आज दुई वर्ष भयो
दुईवटा ल्होछार आए
दुईपटक गुराँस फुल्यो
दुईपटक भुइँऐँसेलु पाक्यो
दुई याम पार्‍यो तित्राले फुल
तर रूमाल हल्लाउँदै च्याङबा आएन

टाढाबाट गौँथली–
वेगले पखेटा फट्फटाउँदै फर्केको साँझ,
आलो धुलो उडाउँदै
नागबेली बाटो भएर
महाभारत उक्लेको मिनीटाटामा
ऊ खोज्न गई च्याङवालाई

‘छ्या कस्तरी हेर्छ यो मान्छे ?
चुल्ठोको फूल हेरेको कि यो छातीको धडकन् ?
नासपातीको रूख हेरेको कि मेरो गाला ?
घरको झ्याल हेरेको कि मेरो गाजलु आँखा ?
मोबाइलले धाराको पानी खिचेको कि मेरो फोटो ?
मात्तेको ड्राइभर †’

यसपछिको
पहिलो भेटमा–
मैच्याङले पाई
एक सय असी रुपियाँको टेरलिङ फरिया
दोस्रो भेटमा–
छ सय पच्चीस रुपियाँमा किनेको
सेकेन्ड ह्यान्ड चाइनिज नोकिया सेट
तेस्रो भेटमा–
सय रुपियाँको एनसेल सीम
र, छयानब्बे रुपियाँको म्याजिक चप्पल
जम्मा एक एकहजार एक रुपियाँमा
पग्ल्यो मैच्याङको मन
च्यातियो च्याङबाको फोटो
हाँसे मोटे ड्राइभर
उड्यो धुलो बाटोमा
गाउँबाट ओझेल पर्‍यो मिनीटाटा
फैलियो खबर–
‘मैच्याङ हराई, मैच्याङ हराई’
धारामा सुनियो–
‘राजेश हमाल भेटाउन लग्यो होला नि डाइभरले ।’
त्यही रात उसले तीनवटा भीमकाय पहाड थामी
उसलाई राम्ररी याद छ–
पहिलो अनुहार ड्राइभरको थियो
दोस्रो खलासीको
अनि तेस्रोलाई चाहिँ दुवैले ‘साउजी’ भन्थे
गाउँ, आमा र च्याङबालाई सम्झेर
निकैबेर रोएको त्यही साँझबाट
महाभारतकी मैच्याङ
मोनिका भइन् मोनिका
र, ठमेलको नरसिंह चोकछेउ
ब्लु डायमन्ड मसाज पार्लरभित्र
जवानीको पसल थाप्न थालिन्

महाभारतकी मैच्याङ
सोर्‍ह वर्ष पुगेको
आज सोर्‍है वर्ष लागेको दिन,
गलैँचा बुन्दा बुन्दा टिबीले ख्याउटिएको
च्याङवा
‘खै के हो कुन्नी’ रोगले थलिएकी
मैच्याङलाई डोहोर्‍याउँदै
महाभारतको उकालो चढ्दै छ ।
(याम्बुरी बुक प्वाइन्टबाट यसै साता बजारमा आउन लागेको कवितासंग्रह ‘महाभारतकी मैच्याङ’ को शीर्ष कविता ।)

प्रतिक्रिया