भाँडा मस्काउँदै नाटक खेल्थेँ

bishnu-bhakta-fuyalयो कलाकारको जुनी पनि अचम्मै लाग्दो छ । केके गर्नु पर्नेपर्ने ? कहिले माझी बनियो, इन्द्रावतीको तीरमा जाल बोक्दै हिँडियो । ‘अविरल बग्दछ इन्द्रावती’ टेलिसिरियलमा मैले निर्वाह गरेको भूमिकाका कारण थुप्रै दर्शकले मलाई माझी नै ठानेछन् । कतिले पात्तिएको बूढो पनि भने होलान् । हुन पनि बुढेसकालमा ‘यो माइ लभ’ गीत गाउँदै तरुनी जिस्क्याउने बूढोलाई सोझा दर्शकले के भनुन् त ? हास्य शृंखला ‘तीतो सत्य’ मा गरेको यो भूमिकाले मैले विगतदेखि अभिनय गर्दै आएको दु:खी बूढोको पहिचानै बदलिदियो । हुन त कलाकारले न आफ्नो वास्तविक पहिचान लिएर हिँडिरहन सक्छ न त चाहनाअनुसारका भूमिका गर्न । कति भूमिकालाई न्याय दिलाउन कलाकारले मौसमको चुनौती स्विाकारिदिनुपर्छ । अझ भन्नुपर्दा कहिलेकाहीँ मौसमविपरीत हिँडिदिनुपर्छ, पागलले जसरी । भन्न त कलाकार अनि साहित्यकारहरूमा केही पागलपन पनि हुनुपर्छ भनिन्छ । त्यसैले त चैतवैशाखको तातोघामले सेकेको इन्द्रावती किनारको बालुवामा खाली खुट्टै जाल बोकेर हिँडियो । अनि कहिलेचाहिँ कठ्यांग्रिने स्याँठमा पनि गर्मी भएको अभिनय गर्दै लुगा खोलेर नांगेझार भइयो । क्यामेराको सटबाहिरको जिन्दगीमा चिसोले कति लुगलुग कामियो, फिल्म हेर्ने मान्छेलाई के थाहा ? साँच्चै इन्द्रावती किनारको सिरेटो अनि खोलाको दुवै किनारबाट आइरहेको चिसो स्याँठले अहिले पनि कानमा हानिरहेजस्तो पो लाग्छ ।

०००
कलाक्षेत्रमा लाग्नुपहिला २७–२८ वर्ष विभिन्न होटलमा काम गरेँ । कतै भाँडा माझेँ, कतै वेटर बनेँ । सबैभन्दा पहिले रोयल होटलमा भाँडा मस्काउने मसाल्ची बनेँ । यो कुनै अभिनय नभएर रियल लाइफको पेसा थियो । शंकर होटल, ग्रिन होटल, अन्नपूर्णलगायत नाम चलेका सबै ठूला होटेलमा काम गरेँ । म रोयलमा छँदा बेलायती महारानी एलिजाबेथ द्वितीया नेपाल आएकी थिइन् । उनैको सम्मानमा रोयल होटेलमा पार्टी थियो । त्यस दिन वेटर नपुगेपछि मलाई वेटर बनाइयो । पछि त फेरि भाँडा पो माझ्न जा भन्छन् । मैले पनि मान्दै मानिनँ । वेटर भइसक्या मान्छे फेरि भाँडा माझ्न जान्छु कि क्या हो भन्दै अड्डी कसेँ । त्यसपछि मलाई त्यही पार्टीमा राजा महेन्द्र र रानीको सेवामा खटाइयो । म राजा महेन्द्रलाई ड्रिंक्स पुर्‍याउन जान्थेँ ।
०००
म युवा छँदा अहिलेजस्तो टेलिभिजन र सिनेमा थिएनन् । मनोरञ्जनको एउटै माध्यम थियो– नाटक । पहिलो पटक ०१९ सालमा पच्चीस वर्षको उमेरमा नेवारी नाटक ‘कर्मया भोग’ मा अभिनय गरेँ । जसको नेपाली अर्थ हुन्छ ‘कर्मको भोग’ । मैले ज्यापू महिलाको रोल गरेँ । उति बेला महिलाको भूमिका पनि पुरुषले नै गरिदिनुपर्ने, नाटक खेल्ने महिलै पाइँदैनथ्यो । कसैले केटा हो भन्ने थाहै नपाउने गरी ज्यापूनीको लुगा लगाएको थिएँ मैले, शृंगार पनि त्यस्तै गरेको । नाटक देखाउन अहिलेजस्ता ठूलाठूला मञ्चकहाँ हुन्थे र ? टोलटोलका चौतारामा देखाउनुपथ्र्यो । चौतारामै मिलाएर ठूलो कपडाको पर्दा बनाउँथ्यौँ । अहिलेको चावहिल चोकमा उति बेला ठूलो चौतारो थियो, हामीले त्यो नाटक त्यहीँ देखाएका । मलाई निकै रमाइलो लाग्यो, पहिलोचोटि नाटक खेल्दा । हुन त पहिलोचोटि मञ्चमा उक्लिँदा खुट्टा थरर्रै कामेको थियो । त्यसमाथि महिलाको भूमिकामा अभिनय गर्नुपर्ने । तर, सबैले राम्रै माने ।
त्यसपछि त हामी टोलटोलमा कार्यक्रम देखाउन जान थाल्यौँ । रातरातभर हिँडिन्थ्यो । कहिले कुन टोल, कहिले कुन † मान्छे हँसाउन कहिले मुख बांगो बनाउँथ्यौँ, कहिले स्वर फरक पाथ्र्याैं । सकेसम्म बढी दर्शकलाई कसरी हँसाउने भन्नेमै हाम्रो पूरै ध्यान हुन्थ्यो । उति बेला मनोरञ्जनका अन्य सुविधा नभएकाले मानिसहरू पनि धीत मरुन्जेल नाटक हेर्थे । रमाइलो मान्थे । अहिलेजस्तो साउन्ड–सिस्टम थिएन, न माइक न स्पिकर । दर्शकले सुनून् भनेर चर्को स्वरले कराउनुपथ्र्यो । धर्म र चेतनामूलक विषयमा केन्द्रित हुन्थे उति बेलाका नाटक ।
नाटक खेले पनि होटलमा काम गर्नचाहिँ मैले छाडिसकेको थिइनँ । त्यसै क्रममा एक दिन मुकुन्दकिशोर भट्टरायसँग भेट भयो । उहाँसँगकै सल्लाहमा हामीले ०३१ सालमा पहिलोपटक हलमा प्रहसन देखायौँ । यति बेला राष्ट्रिय सभागृह बनिसकेको थियो । त्यही हलमा ०३३ सालमा ‘भत्केको सपना’ नाटक देखायौँ । सधैँ चौतारामा घाँटी सुक्ने गरी चिच्याउने गरेका हामी, हलमा त निकै सजिलो लाग्यो । रमाइलो पनि । चौतारामा त अभिनय गर्दै गर्‍यो, दर्शकले सानासाना ढुंगाले हानेर हैरानै पार्थे । यहाँ त्यस्तो भएन । कहिले कसको नाटकमा गएर अभिनय गर्थें, कहिले कसकोमा । उति बेला नाटक खेलेर पैसा पाइँदैनथ्यो । जागिरबाट समय मिलाएर सोखका लागि मात्रै खेल्ने हो । मैले अभिनय गरेर पहिलोचोटि पाएको पारिश्रमिक भनेको ५ सय रुपियाँ हो, ‘हिजोआजका कुरा’बाट । त्यो सिरियलका थुप्रै भागमा क्यारेक्टर रोलमा अभिनय गरेँ । नेपाल प्रहरी, सशस्त्र प्रहरीका कार्यक्रम पनि खेलेँ । पारिश्रमिक डिमान्ड गर्ने चलनै थिएन उति बेला । अहिले यो क्षेत्र व्यावसायिक भएको छ, धेरथोर पारिश्रमिक प्राय: सबैले दिन्छन् । नियत नै खराब भएकाका अगाडि त कसको के लाग्छ र ? हिसाब गर्ने हो भने पैसा लिन बाँकी पनि थुप्रै होला कतिसँग ।
०००
करिब सात वर्षअघि दीपकराज गिरीले मलाई ‘तीतो सत्य’ मा खेल्न बोलाउनुभयो । त्यसअघि ‘तिरीमिरी झ्याइँ’मा उहाँसँग काम गरेको थिएँ । त्यसमा एउटा बूढो बाबुको रोल गरेको थिएँ । छोरानातिलाई सम्पत्ति कुम्ल्याउने हतार, मचाहिँ दिँदै नदिने । त्यसै बेला दीपकजीले मलाई भन्नुभएको थियो, ‘अब तपाईंले कमेडी रोल पनि खेल्ने गर्नुपर्छ ।’ पछि त आफ्नै सिरियलमा बोलाइहाल्नुभो । तीतो सत्यमा अझै निरन्तर छु । सबैभन्दा चर्चाचाहिँ क्यापटोपी र गगल्स लगाएर ‘ओ माई लभ’ भन्दै बांगिएर नाच्ने रोलले दिलायो । पहिलो दिन त्यो सिन टिभीमा हेर्दा मलाई के नपुगेनपुगेजस्तो लाग्यो ।
टेलिफिल्म वा फिल्मा अभिनय गर्नुको एउटा फाइदा यो पनि हो । पछि टिभीमा हेरेर आफ्नो गल्ती सुधार्न सकिन्छ । नाटकमा त कहाँ त्यस्तो हुन्छ र, अरूले मात्र देख्छन् । आफूले त अभिनय गर्‍यो, सकिइगो । तीतो सत्यमा अभिनय गरेको पहिलो भाग हेर्दै मलाई आफ्नो गल्ती महसुस भइहाल्यो । गीत आधुनिक, आफ्नो प्रस्तुतिचाहिँ झ्याउरेजस्तो लाग्यो । दोस्रो भागमा केही सुधार्न खोजेँ, अझै चित्त बुझेन । बलिउड चलचित्र पार्टनरको त्यो गीतमा सलमान खानले अभिनय गरेका छन् । मैले पनि सिडी ल्याएर उनले नाचेको हेरे । ऐनामा हेर्दै उनले जस्तै गर्न थालेँ । अलि फास्ट गर्दै जाँदा मिलेजस्तो लाग्यो । पर्दामा हेरिने कार्यक्रममा आफूलाई सुधार्ने मौका पाइन्छ । मैले पनि आफूलाई समयअनुसार सुधार्दै लगेको हुँ । हिजोआज बाटामा हिँड्दा ठिटाहरू मलाई ‘ओ माइ लभ’ भन्दै बोलाउँछन् । खुसी लाग्छ, मैले यो उमेरमा पनि युवापुस्ताको प्रतिनिधित्व गर्न सकेछु ।
त्यसो त यो अवधिमा ठूलो पर्दाका चलचित्र पनि निकै खेलेँ मैले । बलिदान, वसन्तीजस्ता सिनेमाले मलाई दर्शकबीच पुर्‍याए । अविरल बग्दछले पनि झनै बढी चिनाइदियो । उति बेला हरेक दिन शुक्रबारसम्म काठमाडांैमा काम गरेर साँझ काभ्रे पुग्थेँ । त्यहाँ दुई दिन अभिनय गरेर फर्कन्थेँ । त्यही भूमिकाका लागि उति बेला सबैले मलाई माझी बूढो भनेर चिन्थे । हुन पनि कम्ती संघर्ष गर्नुपरेन त्यो रोललाई जीवन्त बनाउन । जाडो महिनामा पनि कछाड मात्र लाएर बस्नुपर्ने । लामै सिरियल भएकाले थुप्रै महिना यस्तै कठिनताबीच बिते । तर, गरिब–दु:खी जनताको प्रतिनिधित्व गरेर अभिनय गर्न पाउँदा आनन्द पनि लाग्थ्यो ।
हुन त मानिसहरू चलचित्रमा लागेपछि नाटकलाई बिर्सिन्छन् तर मैले बिर्सिएको छैन । केही समयअघि गुरुकुलको टोलीमा मिसिएर म पनि नाटक देखाउन भारत पुगेको थिएँ । नाटक थियो, ‘घनचक्कर’ । लामै समयको यात्रा थियो, त्यहाँका थुप्रै स्थानमा देखाउनुपर्ने । राम्रो होला कि नहोला भनेर मनभरि शंका–उपशंका थिए । तर, साह्रै राम्रो पो भइदियो । सोच्छु, ‘त्यो नाटक नहुँदो हो त मैले दिल्लीसम्म पुगेर आफ्नो कला देखाउने मौका कहाँबाट पाउँथेँ होला र ?’ पछि अर्को नाटक देखाउन बंगगादेश पनि पुगियो । अब त ७४ वर्ष काटिसकिएछ । उमेरले आराम गर्ने बेला हो भन्छ । तर, मान्छेको शरीर पनि मेसिनजस्तै हो, जति चलायो उति बलियो हुने । त्यसैले हातखुट्टा चलुन्जेल काम गर्नुपर्छ । सक्रिय हुँदाहुँदै मर्न पाए हुन्थ्योजस्तो लाग्छ, त्यसैले त अभिनय गरिरहेकै छु । थुप्रै भूमिका निर्वाह गरियो । अबचाहिँ एउटा लामो तर सन्देशमूलक रोल गर्न मन छ ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया