शवसहित प्रदर्शन गर्नेमाथि कारबाही

पेसावर : पाकिस्तानको पेसावरमा शव गाड्न नमान्ने मृतकका आफन्तमाथि प्रहरीले बिहीबार बिहान कारबाही गरेको छ । १४ शव लिएर मृतकका आफन्तसहित तीन सयजनाले पेसावर सहरमा बुधबारदेखि अनशन एवं प्रदर्शन गरेका थिए । उनीहरूमाथि प्रहरीले बिहीबार बिहान अश्रुग्यास प्रहार गरेको थियो ।
मंगलबार राति पेसावरको बारा जिल्लामा हतियारधारीको एक समूहले गाउँलाई घेरा हाली कम्तीमा पनि १४ जनाको हत्या गरेको थियो । हत्यामा पाकिस्तानका सुरक्षाकर्मीको संलग्नता रहेको आशंका गर्दै गाउँलेले दोषीमाथि कारबाहीको माग गरेका थिए । दोषीमाथि कारबाही नभएसम्म शवको अन्त्येष्टि नगर्ने भन्दै मृतकका आफन्तले शवसहित प्रदर्शन जारी राखेका थिए । पेसावरमा रहेका राज्यका गभर्नरको घरअगाडि प्रदर्शनकारीले बिहीबारदेखि प्रदर्शन थालेका थिए । पदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गरेको र यस क्रममा केही घाइते भएको सञ्चारमाध्यमले जनाएका छन् ।
‘सोमबार सोही जिल्लामा ६ सुरक्षाकर्मीको हत्या भएको थियो । यसैको बदला लिन सुरक्षाकर्मी नै हाम्रो घरमा प्रवेश गरे र गोली हानी हाम्रा आफन्तलाई मारे,’ एक प्रदर्शनकारीले भने । गत साता पाकिस्तानको यही सहरमा सिया मुसलमान समुदायका करिब एक सय २६ जनाको हत्या भएको थियो । हत्यापछि पनि उनीहरूले आफ्नो समुदायले धार्मिक क्रियाकलापमा संलग्न हुन पाउनुपर्ने र त्यसका लागि सुरक्षाको प्रबन्ध सरकारले गर्नुपर्ने माग गर्दै मृतकका आफन्तले शव उठाउन मानेका थिएनन् । त्यसपछि पाकिस्तानका प्रधानमन्त्रीले घटनास्थलमा पुगी सुरक्षाको राम्रो प्रबन्ध गर्ने आश्वासन दिएपछि उनीहरूले शवको अन्तिम संस्कार गरेका थिए । (एएफपी)

प्रतिक्रिया