टाउको फिर्ता ल्याउन कदम चालिएको छ : भारतीय सेना

bikram-singhनयाँदिल्ली : भारतीय सेनाप्रमुख जनरल विक्रम सिंहले पाकिस्तानी सेनाले दुई भारतीय सैनिकको टाउको काटेर आफूसँगै लगेको बताएका छन् । टाउको फिर्ता गर्न आवश्यक कदम चालिएको जानकारी उनले दिएका छन् । मृतक सैनिकका परिवारजनसँग बुधबार भेट गर्दै उनले यस्तो बताएका हुन् ।
साथै, सेनाप्रमुख सिंहले भारतीय सेनाले ‘लाइन अफ कन्ट्रोल (एलओसी)’ पार गरेर पाकिस्तानी सेनामाथि हमला नगरेको प्रस्ट पारेका छन् । भारतीय पक्षले अन्तरसीमा हमला गरी युद्ध भड्काएको पाकिस्तानी पक्षको आरोपको खण्डन गर्दै उनले आफूहरूले प्रतिकारात्मक कारबाही मात्रै गरेको प्रस्ट पारेका छन् ।
‘हाम्रा जवानले सीमा पार गरेका छैनन् । हामी मानवअधिकारको सम्मान गर्छौं । उताबाट युद्ध भड्काउने काम भएपछि हामीले प्रतिकार मात्रै गरेका हौँ,’ उनले भने । भारतीय सीमाभित्र प्रवेश गरी पाकिस्तानी सैनिकले टाउको काटेर हत्या गरिएका भनिएका भारतीय सैनिक नाइक हमराजको परिवारजनसँग भेट गर्दै सेनाप्रमुख सिंहले यस्तो बताएका हुन् । जनवरी ८ मा पाकिस्तानी पक्षले टाउको काटेर हत्या गरेको दाबी भारतले गरिरहेको छ । तर, पाकिस्तानले भने सिमा पार गरेर हमला नगरेको जिकिर गर्दै उल्टै भारतले सीमा पार गरी पाकिस्तानी सैनिकमाथि हमला गरेको दाबी गर्दै आएको छ । हत्या गरिएका हमराजको टाउको पाकिस्तानी पक्षले लगेको सेनाप्रमुख सिंहले जानकारी दिए । यसलाई बीभत्स कार्यको संज्ञा दिँदै टाउको फिर्ता ल्याउन पहल भइरहेको उनले जिकिर गरे ।
सीमा पार गरी भारतीय सैनिकले हमला गर्दा एक पाकिस्तानी सैनिकको मृत्यु भएको भन्ने पाकिस्तान सरकारको भनाइको प्रतिवाद गर्दै सेनाप्रमुख सिंहले भने, ‘उनीहरूको भनाइ गलत छ । उनी (मृतक पाकिस्तानी सैनिक) दोहोरो गोली हानाहानमा मारिएका हुन् । यस्ता घटना सीमा क्षेत्रमा घटिरहन्छन् । हामीमाथि हमला भएपछि हामीले त्यसको जवाफ फर्काएका मात्रै हौँ ।’
अघिल्लो आइतबार दुई देशका सैनिबीच गोली हानाहान भएको थियो । दुवै राष्ट्रले अर्को पक्षले भिडन्त आरम्भ गरेको दाबी गरेका छन् । सीमा पार गरी आºनो सैन्य पोस्टमा भारतीय सेनाले आक्रमण थालेपछि दोहोरो गोली हानाहान भएको पाकिस्तानी सेनाले जनाएको छ । तर, भारतले भने पाकिस्तानी पक्षबाट पहिले युद्ध भड्काउने काम भएको दाबी गरेको छ । पाकिस्तानी सेनाले भारत प्रशासित कास्मिरमा तैनाथ भारतीय सैनिकमाथि अन्धाधुन्ध गोली प्रहार गरेपछि दोहोरो भिडन्त भएको भारतीय प्रतिरक्ष्ाँ मन्त्रालयले जनाएको छ । गोली हानाहान भएको भोलिपल्ट भारतीय सेनामा दुई जवानको मृत्यु हुनेगरी पाकिस्तानी सैनिकले हमला गरेको भारतीय सञ्चारमाध्यमले जनाएका थिए । भिडन्तका क्रममा पाकिस्तानका दुई र भारतका दुई गरी जम्मा चार सैनिकको मृत्यु भइसकेको छ ।
यसअघि मंगलबार एक अवसरमा सेनाप्रमुख सिंहले एलओसीमा अवस्थालाई उत्तेजित तुल्याउने काम हुन सक्ने भन्दै आºना जवानलाई तत्पर हुन निर्देशन दिएका थिए । पाकिस्तानले युद्धविराम सम्झौताको सम्मान गरुन्जेल आफूहरू युद्धविराम आचारसंहिताअन्तर्गत रहने र पाकिस्तानी पक्षबाट यसको उल्लंघन हुनासाथ ‘जवाफ’ दिन भारतीय सेना तत्पर रहेको सेनाप्रमुख सिंहले बताएका थिए । एलओसीमा तैनाथ सबै भारतीय कमान्डरलाई पाकिस्तानी पक्षबाट युद्ध भड्काउने काम र गोलाबारी भए आक्रमणशिल हुँदै जाइलाग्न सेनाप्रमुख सिंहले निर्देशन दिएका थिए ।
पाकिस्तानी सेनाले भिडन्त आरम्भ गरेको दाबी भारतीय सेनाले गरे पनि कतिपय भारतीय सञ्चारमाध्यमले भने भारतीय सेनाले युद्धविराम सम्झौता उल्लंघन गरेपछि भिडन्त आरम्भ भएको जनाएका छन् । भारतीय पत्रिका ‘द हिन्दू’ले युद्धविराम सम्झौताविपरीत भारतीय सेनाले सीमावर्ती क्षेत्रमा बंकर र सुरक्षा चौकी स्थापना गर्न थालेपछि पाकिस्तानले आपत्ति जनाएको र यसको सुनुवाइ नभए पनि उसले चौकी भएका भारतीय इलाकामा गोलाबारी गरेको जनाएको छ । त्यसैगरी, भारतकै ‘डेली न्युज एन्ड एनलाइसिस (डिएनए)’ पत्रिकाले पाकिस्तानी पक्षबाट भएको गोलाबारीको प्रतिकार गर्दा एक पाकिस्तानी सैनिकको मृत्यु भएपछि जवाफमा पाकिस्तानी सैनिकले भारतीय चौकीमाथि आक्रमण गरी दुई भारतीय जवानको हत्या गरेको जनाएको छ । (एजेन्सी)

प्रतिक्रिया