बारमा नयाँ नेतृत्वका लागि निर्वाचन

काठमाडौं, २८ पुस । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि आज देशभरि निर्वाचन भएको छ ।
आगामी तीन वर्षका लागि नेतृत्वमा पुग्न तीन समूह प्रतिष्पर्धामा छन् । विहान ९ देखि ४ बजेसम्म देशभर छरिएर रहेका मतदाताहरुले ३३ मतदान केन्द्रमार्फत आफ्नो मताधिकार प्रयोग गरेका थिए ।
बारमा १७ सदस्यीय कार्यसमितिका लागि ४५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
शेरबहादुर केसीले नेतृत्व गरेको बृहत लोकतन्त्रवादी समूह, हरिकृष्ण कार्कीले नेतृत्व गरेको प्रगतिशील समूह र तेस्रो धारका रुपमा सुरेन्द्रकुमार थापाले नेतृत्व गरेको समूह चुनावी प्रतिष्पर्धामा छ ।
केसी समूहलाई कांग्रेस, मधेसी र जनजातिप्रति आस्थावान कानून व्यवसायीले समर्थन गरेका छन् । कार्कीलाई एमाले र माओवादीप्रति आस्थावान कानून व्यवसायीको समर्थन छ ।
थापामगर समूहमा एमालेबाट असन्तुष्ट जनजाति, मधेसीप्रति आस्थावान कानून व्यवसायीले सहयोग गरेका छन् ।
यसैबीच, सर्वोच्च अदालत परिषरमा राखिएको मतदान केन्द्रमा मत हाल्दै गरेका दुई जना नक्कली मतदाता पक्राउ परेको निर्वाचन अधिकृत सीताराम केसीले जानकारी दिए ।

प्रतिक्रिया