बार्सिलोना चौथोपटक विश्वकै उत्कृष्ट

म्याड्रिड : चौथोपटक बार्सिलोना विश्वको सर्वोत्कृष्ट फुटबल क्लब घोषित भएको छ । फेडरेसन अफ फुटबल हिस्ट्री एन्ड स्टाटिस्टीक्स (आइएफएफएचएस)ले बिहीबार राति क्लबको विश्व वरीयता जारी गर्दै बार्सिलोनालाई सन् २०१२ का लागि शीर्षस्थानमा राखेको हो । आफ्ना खेलाडी लिओनेल मेसी लगातार चौथोपटक विश्वकै सर्वोत्कृष्ट खेलाडी भएको एक साता पनि बित्न नपाउँदै बार्सिलोनाले पनि यो सफलता हात पारेको हो । सन् २०११ मा पनि बार्सिलोनाले यो सफलता हात पारेको थियो । पहिलोपटक सन् १९९७ मा शीर्षस्थानमा रहेको बार्सिलोनाले उक्त सफलता सन २००९ मा पनि दोहोर्‍याएको थियो ।
गत सिजन युरोपियन च्याम्पियन्स लिग र स्पेनिस लिग जित्न असफल भए पनि यो स्पेनिस क्लब प्रदर्शनका आधारमा आफ्नो वरीयता रक्षा गर्न सफल भएको हो । बार्सिलोनाको ३०७ अंक छ । तीन सयभन्दा बढी अंक हुने एक मात्र टोलीका रूपमा बार्सिलोना रह्यो । युरोपियन च्याम्पियन्स लिग बिजेता इंग्लिस क्लब चेल्सी भने दोस्रो स्थानमा रह्यो । अर्जेन्टिनाको बोका जुनियर्स तेस्रो र स्पेनकै एट्लेटीको म्याड्रिड चौथो स्थानमा छ । दुवै टिमको समान २७८ अंक रहेको छ । क्लब विश्वकप च्याम्पियन ब्राजिलको कोरिन्थीयन्स पाँचौ स्थानमा रहेर वरीयताक्रममा सबैभन्दा माथि रहने दोस्रो गैरयुरोपियन क्लब बनेको छ । (एजेन्सी)

प्रतिक्रिया