तीन खेल छँदै बौद्ध ‘बी’ डिभिजनमा घटुवा

काठमाडौं, २७ पुस । गत संस्करणमा सहभागी १८ टोलीमध्ये ११औँ भएपछि बौद्ध फुटबल क्लब जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अघि रेलिगेसनबाट बच्नेमा ढुक्क थियो । अझ यस प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित एनसेल कपमा क्वार्टरफाइनलसम्म पुगेपछि यसप्रति उसको मनोबल उच्च पनि भयो । तर, सोही टोलीका साथ यस संस्करणमा सहभागी भएको बौद्ध तीन खेल खेल्न बाँकी छँदै ‘बी’ डिभिजनमा झर्ने पक्का भएको छ । बिहीबार मच्छिन्द्र क्लबविरुद्ध ३–० ले पराजित भएपछि बौद्ध जारी संस्करणबाट ‘बी’ डिभिजनमा झर्ने(रेलिगेसन) पहिलो टोलीसमेत बन्यो ।

सहभागी १६ ‘ए’ डिभिजन क्लबमध्ये अंक तालिकामा रहने अन्तिम तीन क्लब रेलिगेसनमा पर्ने प्रावधान छ । १२औँ चरणको समाप्तीसम्म बौद्ध एक अंकसहित पुछारमा छ । तीन चरणको खेल बाँकी छँदा बौद्ध रेलिगेसन क्षेत्रभन्दा माथिको एपिएफभन्दा ११ अंकले पछि रहेपछि बाँकी तीन खेलको नतिजा नकुर्दै ‘बी’ डिभिजनमा झर्ने निश्चित भएको हो । प्रेmन्ड्स क्लबविरुद्धको खेलमा अंक बाड्नुबाहेक बौद्ध खेलिएका अन्य सबैमा पराजित भयो । ३–१ को अग्रता लिएर पनि बौद्धले फ्रेन्ड्सविरुद्ध ३–३ को बराबरी खेलेको थियो ।
प्रशिक्षक किरण श्रेष्ठको भनाइ मान्ने हो भने बौद्ध कमजोर व्यवस्थापनका कारण रेलिगेसनमा परेको हो । ‘क्लबको स्थितिप्रति मैले पटक–पटक व्यवस्थापनलाई जानकारी गराएँ तर त्यस सम्बन्धमा खोइ के कारणले हो कुनै सम्बोधन नै पाइनँ ।’ पछिल्लोपटक बौद्ध ‘ए’ डिभिजनमा उक्लिएपछि प्रशिक्षक भएका किरणले भने, ‘क्लबको स्थितिप्रति म्यानेजमेन्ट सवेदनशील भएन ।’ विभागीय सबै तीन क्लबबाहेक यस लिगमा विदेशी खेलाडी नभित्र्याएको एक मात्र क्लबका रूपमा बौद्ध रहेको थियो । ‘विदेशी खेलाडी आबद्ध गराउने विषयमा व्यवस्थापनको ध्यान नै गएन । मैले आग्रह गर्दा निकै ढिलो भइसकेको थियो । हामीसँग पर्याप्त खेलाडी पनि भएनन् । वेन्चमा खेलाडी नै भएनन् । चोटका बीच खेलाडीलाई खेलाउनुपर्ने अवस्था बन्यो,’ उनी भन्छन् ।
०६२ सालमा ‘ए’ डिभिजनमा प्रवेश गरेको बौद्ध त्यसको एक वर्षपछिको ‘ए’ डिभिजन लिगमा सहभागी भए पनि पहिलो सहभागितामै रेलिगेसनमा परेको थियो । त्यसपछि दुई समानान्तर फुटबल संघको अस्तित्वका बीच बौद्ध नेपाल फुटबल संघले सञ्चालन गरेको ‘बी’ डिभिजनबाट ०६५ सालमा फेरि ‘ए’ डिभिजनमा उक्लिएको थियो । प्रशिक्षक श्रेष्ठले राम्रो प्रदर्शन गरे पनि नतिजा आफ्नो पक्षमा आउन नसकेको बताए । ‘हामीले नराम्रो खेलेर यस्तो नतिजा पाएका होइनौँ,’ श्रेष्ठको सुझाव छ, ‘तर अब निराश हुनुहँुदैन । अप्स एन्ड डाउन हुन्छ । यो पार्ट अफ दि गेम हो । तर, गल्ती भने सुधार गर्नुपर्छ ।’
एपिएफलाई पनि रेलिगेसन खतरा
रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) बिहीबारको अर्को खेलमा सरस्वतीविरुद्ध ३–० ले पराजित भयो । जितसँगै सरस्वती रेलिगेसनबाट बच्ने सम्भावना बलियो भयो भने एपिएफ संकटमा परेको छ । १२ खेलबाट १२ अंकमा सीमित एपिएफ १३औँ स्थान अर्थात् रेलिगेसन क्षेत्रभन्दा एक स्थानले माथि रहेको छ । अंकतालिकाको १४औँ स्थानमा रहेको मध्यपुर युथ एसोसिएसनको १४ अंक छ भने जम्मा ६ अंक भएको बाँसबारी पन्ध्रौँ स्थानमा छ । १३ अंक भएको हिमालयन शेर्पा १२औँ स्थानमा छ । यसको अर्थ, रेलिगेसनमा पर्ने बौद्धबाहेक अन्य दुई टोलीको टुंगो जारी लिगको अन्त्यतिर पनि हुन सक्ने सम्भावना देखिन्छ ।
लिगको पहिलो खेलमा थ्री–स्टारलाई पराजित गरेको सरस्वतीबीचमा अपेक्षित नतिजा निकाल्न सफल नभए पनि गत खेलमा उपाधी दावेदार मच्छिन्द्रलाई हराएर ‘ए’ डिभिजनमा कायम रहने होडमा अगाडि बढेको थियो । सरस्वतीको पछिल्लो जितमा कुशल श्रेष्ठ, योना एलियास र ओलावाले उस्मानले गोल गरे ।
थ्री–स्टारसँग मच्छिन्द्रको अंक बराबरी
बौद्धविरुद्ध सहज जित हात पार्दै मच्छिन्द्र अंक तालिकामा थ्री–स्टारसँगै समान अंक भए पनि गोल अन्तरमा पछि रह्यो । यी दुईबीचको खेल बराबर भएका कारण गोल अन्तरका आधारमा थ्री–स्टार अगाडि रहेको हो । सरस्वतीविरुद्ध अप्रत्यासित हार बेहोरे पनि मच्छिन्द्रले बिहीबार नतिजा त आफ्नो पक्षमा पार्‍यो तर प्रदर्शन भने सन्तोषजनक गर्न सकेन ।

प्रतिक्रिया