निगमको ऋण २८ अर्ब

काठमाडौ, २७ पुस । नेपाल आयल निगमको ऋण २७ अर्ब ५२ करोड पुगेको छ । पेट्रोलियम आयात गर्न सरकार र विभिन्न वित्तीय संस्थासँग लिएको ऋणले चुलिएपछि निगमलाई थेग्न नसक्ने भएको छ । निगमले भारतीय आयल निगमसँग पेट्रोलियम पदार्थ खरिद गर्दा बेहोर्नुपरेको घाटा पूर्तिका लागि हालसम्म लिएको ऋण चुक्ता गर्न सरकारले विशेष पहल गरिदिन आग्रह गरेको छ । ऋणबापत निगमले मासिक १८ करोड ब्याज तिर्दै आएको छ ।

निगमको ४३औँ वार्षिकोत्सवका अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा निगमका निमित्त कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले निगमले ऋण तिर्न नसक्ने भएकाले सरकारले बेहोनुपर्ने बताए ।
‘राजनीतिक हस्तक्षेपले अन्तर्राष्ट्रिय बजारअनुरूप पेट्रोलिय पदार्थको मूल्य समायोजन गर्न नसक्दा निगमको ऋण चुलिँदै छ,’ कार्यकारी निर्देशक अग्रवालले भने, ‘निगमको घाटा कर्मचारीबाट नभएर स्पष्ट नीतिको अभावले बढ्दै गएको हो ।’ सरकारले चुक्ता ऋणमा सहयोग गरे निगमलाई प्रतिस्पर्धी संस्थाका रूपमा अघि बढाउन सकिने जानकारी दिए । खाना पकाउने ग्यासमा दिइने अनुदानसम्बन्धी कार्यविधि स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइसकेको जानकारी दिँदै उनले स्वीकृति भएमा घरेलु प्रयोगका लागि बिक्री गरिने ग्यासमा उपभोक्तालाई राहत पुग्ने जानकारी दिए ।
जनवरी १ तारिखमा आइओसीले पठाएको नयाँ मूल्यअनुसार निगमको मासिक घाटा २३ करोड २८ लाख रुपियाँ रहेको छ । पेट्रोल मट्टितेल र हवाई इन्धनमा मूल्य समायोजनपश्चात् केही नाफा भए पनि डिजेल र खाना पकाउने एलपी ग्यासमा घाटा कायम रहेको छ । अहिले प्रतिसिलिन्डर ग्यासमा ६ सय चार रुपियाँ आठ पैसा घाटा रहेको छ । ग्यासमा मासिक घाटा ७२ करोड पुगेको छ । घाटा कम गर्न मूल्य समायोजनको विकल्प नभएको कार्यकारी निर्देशकको भनाइ छ ।
वाणिज्य तथा आपूर्ति सचिव लालमणि जोशीले पेट्रोलियम पदार्थको आपूर्ति सहज गर्न निगमको दायित्व भएको बताए ।
पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न नसक्दा निगमको घाटा बढ्दै गएको छ, सचिव जोशीले भने, ‘निगमको आन्तरिक संरचना सुधार गर्ने काम भइरहेको छ ।’ निगमको भण्डारण क्षमता बढाउँदै जानुपर्नेमा उनले जोड दिए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले पेट्रोलियम पदार्थको कारोबार गर्ने स्पष्ट नीति नभएकाले निगमले धेरै समस्या झेल्दै आएको बताए । निगमको मूल्य निर्धारण नीति, पुनर्संरचना, आन्तरिक सुधारका बारेमा गरिएको अध्ययन जतिसक्दो छिटो सरकारसमक्ष पुर्‍याउन लागिएको उपाध्यक्ष क्षेत्रीले जानकारी दिए ।
निगमले झापको चन्द्रगढी र रामेछापको मन्थलीमा हवाई इन्धन डिपो सञ्चालन गर्न लागेको छ । निगमले मुलुकभर रहेका पेट्रोलियम पदार्थको भण्डारण क्षमताको विस्तार गरिने भएको छ । थानकोट, भैरहवा, विराटनगरमा भण्डारण क्षमता थप गर्ने काम अगाडि बढाएको निगमले जनाएको छ । पेट्रोलियम पदार्थको ढुवानी टेन्डर प्रक्रियाबाट प्रतिस्पर्धा गराई ढुवानी गराउन लागिएको निगमले जनाएको छ ।

प्रतिक्रिया