भारत–पाक झडपप्रति अमेरिकी चासो

वासिंगटन : भारत र पाकिस्तानबीच विवादित काश्मिरमा गोली हानाहान भएको घटनाप्रति अमेरिकाले चासो व्यक्त गरेको छ । गोली हानाहान बन्द गरी दुई देशबीचको सीमा ‘लाइन अफ कन्ट्रोल’मार्फत मालसामान ओसारपसार तथा यातायातलाई विधिवत रूपमा सञ्चालनमा ल्याउन अमेरिकाले भारत र पाकिस्तानसँग आग्रह गरेको छ ।
अमेरिकाका तर्फबाट विदेश प्रवक्ता भिक्टोरिया नुल्यान्डले सोमबार आयोजित पत्रकार सम्मेलनमा यस्तो आग्रह गरेकी हुन् । ‘हामी दुवै पक्षलाई बन्द गरी ब्यापार र आवतजावत प्रयोजनका लागि ‘लाइन अफ कन्ट्रोल’लाई विधिवत रूपमा सञ्चालनमा ल्याउन आग्रह गर्दछौँ,’ उनले भनिन् । काश्मिरलगायत विवाद समाधानका लागि दुई देशले चाल्ने हरेक सकारात्मक कदमप्रति अमेरिकाको समर्थन रहने उनले प्रस्ट पारेकी छिन् ।
आइतबार भारत र पाकिस्तानका सेनाबीच काश्मिरमा गोली हानाहान भएको छ । गोली हानाहानबाट एक पाकिस्तानी सैनिकको मृत्यु भएको छ । दुवै राष्ट्रले अर्को पक्षले भिडन्त आरम्भ गरेको दाबी गरेका छन् । ‘लाइन अफ कन्ट्रोल’ पार गरी भारतीय सेनाले आक्रमण थालेपछि गोली हानाहान आरम्भ भएको पाकिस्तानी सेनाले जनाएको छ । जवाफमा आफूहरूले ‘मुतोड जवाफ’ दिएको र यसक्रममा आफ्ना एक सैनिकले सहादत प्राप्त गरेको र अन्य दुई घाइते भएको पाकिस्तानी सेनाले जनाएको छ ।
पाकिस्तानको भनाइ छ । तर, भारतले भने पाकिस्तानी पक्षबाट पहिले युद्ध भड्काउने काम भएको दाबी गरेको छ । पाकिस्तानी सेनाले भारत प्रशासित काश्मिरमा तैनाथ भारतीय सैनिकमाथि अन्धाधुन्ध गोली प्रहार गरेपछि दोहोरो भिडन्त भएको भारतीय प्रतिरक्षा मन्त्रालयले जनाएको छ । भारतीय सेनाले जवाफी कारबाही गरेपछि आक्रमण रोक्न पाकिस्तानी पक्षलाई बाध्य भएको भारतको भनाइ छ ।
दक्षिण एसियाका दुई परमाणु हतियारसम्पन्न राष्ट्रका सेनाबीच भिडन्त भएको समाचारले विश्वभर चासो बटुलेका बेला अमेरिकाले पनि यसप्रति रुची देखाएको हो । दुई राष्ट्रबीच सन् २००३ को नोभेम्बरयता युद्धविरामको अवस्था विद्यमान छ । तर, युद्धविराम बारम्बार भंग हुने गरेको छ । युद्धविरामपछि शान्ति वार्ता आरम्भ भए पनि सन् २००८ मा भारतको औद्योगिक नगरी मुम्बइमा चरमपन्थीले आक्रमण भएपछि भारतले शान्ति वार्तालाई निलम्वन गरेको थियो । तर, अमेरिकी अग्रसरतामा गत वर्ष शान्ति वार्तामा दुवै पक्ष फर्किए पनि यसबाट सार्थक नतिजा निस्किन सकेको छैन ।
सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएयता पाकिस्तान र भारतले तीनपटक युद्ध लडिसकेका छन् । दुवै राष्ट्र परमाणु हतियारसम्पन्न भएकाले उनीहरूबीच गोली हानाहानलाई गम्भीर रूपमा लिने गरिन्छ । भारतसँग ८० देखि सय वटा र पाकिस्तानसँग ९० देखी एक सय १० वटा परमाणु हतियार रहेको एक अमेरिकी अध्ययन केन्द्रको प्रतिवेदनमा उल्लेख छ । (एजेन्सी)

प्रतिक्रिया