दमास्कस : सिरियाली राष्ट्रपति बसर अल असदल ‘देशको रक्षाका लागि लडिने युद्ध’मा देशवासीलाई राष्ट्रव्यापी रूपमा परिचालित हुन आह्वान गरेका छन् । अन्तर्राष्ट्रिय समुदायबाट एक्लिएका असदले विद्रोही पक्षले सरकारविरुद्ध आक्रमण तीव्र पारेका बेला आइतबार यस्तो आह्वान गरेका हुन् । धार्मिक चरमपन्थीले सिरियालाई नष्ट गर्न खोजेको आरोप लगाउँदै उनले ‘हत्यारा अपराधी’हरूसँग कुनै पनि हालतमा सम्झौता नगरिने प्रस्ट पारे ।
सिरियाली सत्तासँग संघर्ष गरिरहेका विद्रोहीलाई असदले ‘आतंकवादी’ र ‘विदेशी दलाल’को संज्ञा दिएका छन् । उनीहरूसँग कुनै प्रकारको सम्झौता नहुने उनले प्रस्ट पारेका छन् । राजधानी दमास्कसस्थित ओपेरा हाउसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो भनाइ राखेका हुन् । कार्यक्रममा सहभागीले राष्ट्रपति असदको पक्षमा जयजयकार गरेका थिए । कार्यक्रम हलमा ‘महामहिम असद, तपाईंका लागि हामी रगत र आत्मा दुवै अर्पण गर्न तयार छौँ,’ जस्ता नाराबाजी भएका थिए । गत वर्षको जुन महिनायता राष्ट्रपति असदले गरेको यो पहिलो सार्वजनिक सम्बोधन हो ।
सम्बोधनका क्रममा असदले २१ महिनादेखि जारी सिरियाली संकट समाधानका लागि शान्ति योजनासमेत प्रस्ताव गरेका छन् । सिरियामा मेलमिलापका लागि सम्मेलन आयोजना गर्न सकिने उनले जनाएका छन् । तर, ‘सिरियालाई धोका दिने’हरूलाई भने सम्मेलनमा सहभागी हुन नदिइने उनले प्रस्ट पारेका छन् । विद्रोहीहरूलेसंकट समाधानका लागि जुनसुकै वार्ता हुनुअघि राष्ट्रपति असदले पद त्याग गर्नुपर्ने सर्त तेर्साउँदै आएका छन् । त्यसैले असदको शान्ति योजनामा व्रिद्रोही पक्षले सहमति राख्ने सम्भावना नरहेको विश्लेषकहरू बताउँछन् ।
करिब एक घन्टा लामो सम्बोधनका क्रममा असदले भने, ‘अहिले हामी युद्धमा छौँ । दुई/चार सिरियालीलाई हातमा लिएर विदेशीले सिरियाविरुद्ध आरम्भ गरेको युद्धको हामीले प्रतिरोध गर्नु परिरहेको छ । त्यसैले यो युद्ध भनेको मातृभूमीको रक्षार्थ गरिने युद्ध हो ।’ सिरिया सबै सिरियाली जनताको भएको जिकिर गर्दै उनले मातृभूमीको रक्षाका लागि परिचालित हुन देशवासीसमक्ष आह्वान गरेका छन् ।
राष्ट्रसंघका अनुसार सिरियामा आरम्भ भएको राष्ट्रपति असदविरोधी आन्दोलन र सशस्त्र विद्रोहमा हालसम्म ६० हजारको मृत्यु भइसकेको छ । (एजेन्सी)
प्रतिक्रिया