सोल : उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले मंगलबार आफ्नो जन्म दिन मनाएका छन् । जन्मदिनका अवसरमा उनले मुलुकका हरेक बालबालिकालाई एक/एक किलो मिठाई बाँडेको उत्तर कोरियाको केन्द्रीय प्रसारण संस्थाले दिएको छ । जन्मदिनमा मिठाई बाँड्ने अभियान सन् १९८० मा नेता उनका हजुरबुबा तथा उत्तर कोरियाका संस्थापक नेता किम इल सुङले आरम्भ गरेका थिए । उनका पिता किम जोङ इलले पनि सन् १९९४ मा शासन आफ्नो नियन्त्रणमा लिएपछि यो परम्परालाई निरन्तरता दिएका थिए । उनको सन् २०११ को डिसेम्बरमा निधन भएको थियो ।
अहिलेका नेता उनको जन्म जनवरी ८ मा भएको हो । तर, उनको जन्मवर्ष सन् १९८२, १९८३ वा १९८४ कुन हो भन्नेमा मतभेद छ । मुलुकका १० वर्ष मुनिका प्रत्येक बालबालिकालाई मिठाई पुर्याउन नेता उनले विमान परिचालन गरेको समाचारमा उल्लेख छ । हवाईजहाजबाट मिठाई गाउँघरमा खसाइएको थियो । आकाशबाट मिठाई खसेको देख्दा गाउँले ज्यादै खुसी भएको जनाइएको छ । (एजेन्सी)
प्रतिक्रिया