सबै दोषीलाई पक्राउ गर

द्वन्द्वकालमा माओवादी कार्यकर्ताद्वारा निर्ममतापूर्वक कुटपिटपछि जिउँदै खाडलमा पुरेर मारिएका डेकेन्द्रराज थापाका हत्या आरोपी पक्राउ परेका छन् । दैलेखका पत्रकार थापाले समाचार संप्रेक्षण गरेकै आरोपमा ज्यान गुमाएका थिए । अति पासविक यातना भोग्दै त्यसबेला राज्य तथा विद्रोही पक्षबाट धेरैले ज्यान गुमाएका छन् । लेखेका कारण पत्रकार, बोलेका कारण शिक्षक, चन्दा नदिएका कारण व्यापारी, खाना नखुवाएका कारण किसान र भनेको नमानेका कारण सर्वसाधारण विद्रोही पक्षबाट मारिएका थिए ।
यसैगरी, राज्य पक्षबाट पक्राउ गरिएकालाई युद्धबन्दीका रूपमा व्यवहार नगरी मार्ने, अपहरण गर्ने, बलात्कार र आगजनी गर्ने काम भएका थिए । अहिले आएर मानव सभ्यताकै कलंकका रूपमा स्थापित ती क्रूर घटना खोतलिन थालेका छन् । जसलाई पीडितलाई राहत र पीडकलाई दण्ड दिलाउने कार्यको सुरुआत भन्न सकिन्छ । आठ वर्षपछि पत्रकार डेकेन्द्र थापाका दोषीहरू पक्राउ परेपछि पीडित पक्ष आशावादी बन्न पुगेको छ । यस्ता अन्य घटनाका दोषीलाई पनि अब न्यायको कठघरामा उभ्याउने कार्य सरकारले गर्नुपर्छ । मानवअधिकार उल्लंघनका जघन्य अपराधमा संलग्न नेता, कार्यकर्ता, मन्त्री, प्रधानमन्त्री वा अधिकृत जो सुकै होऊन् त्यसले कुनै पनि हालतमा उन्मुक्ति पाउनुहुँदैन ।
युद्ध अपराधको आरोपमा नेपाली सेनाका कर्णेल कुमार लामा बेलायतमा पक्राउ परेकै समयमा दैलेखका पत्रकार हत्याका आरोपी पक्राउ पर्नु अनौठो संयोग मानिएको छ । यी, दुवै घटनाले अपराध गर्ने कसैले पनि उन्मुक्ति पाउँदैनन् भन्ने मान्यता स्थापित गरेको छ भने नेपालमा पनि कानुन मरिसकेको छैन भन्ने सन्देश दिएको छ । द्वन्द्वकालीन धङधङी नमेटिइरहेको अवस्थामा ढिलै भए पनि आरोपीहरू पक्राउ पर्दा आपराधिक मनोवृत्तिका व्यक्तिमा त्रास उत्पन्न गराएको छ । पत्रकार थापा हत्या प्रकरणमा नौ जनाको संलग्नता रहेको पुष्टि भए पनि अहिले पाँच जना पक्राउ परेका छन् । पक्राउ परेका आरोपीले दिएको बयान सुन्दा लाग्छ, पार्टी (जिल्ला हेडक्वार्टर)कै निर्देशनमा उनीहरूले त्यो जघन्य अपराध गरेका थिए । अर्थात् त्यसताका फरक विचार राख्नेहरूको सफाया गर्नु माओवादीका लागि सामान्य थियो । तर, समय एकनास रहँदैन । ढिलो चाँडो मात्र हो, कुकर्मको फल भोग्नै पर्छ । डेकेन्द्र हत्याका अभियुक्तको पक्राउ र बयानले यसको पुष्टि गरेको छ ।
द्वन्द्वकालमा राज्यपक्षबाट भएका जघन्य अपराधका घटनालाई वर्तमान सरकारले ढाकछोप गर्न खोज्दै छ । यो सरकार जघन्य अपराधमा आरोपित व्यक्तिको मुद्दा फिर्ता लिने र उनीहरूलाई उन्मुक्ति दिने कार्यमा लागेको पाइन्छ । कर्णेल पक्राउको घटना र पत्रकारको हत्या आरोपीको बयानलाई मनन गर्दै वर्तमान सरकारले अब मुद्दा फिर्ता लिने कार्य रोक्नुपर्छ । पार्टीका नेताहरूले पनि मानवअधिकार उल्लंघन गर्ने जो सुकैलाई कारबाही गर्न दिनुपर्छ । अहिले पत्रकार थापा हत्या आरोपी पक्राउ पर्दा पत्रकार जगत्ले थोरै भए पनि न्याय पाउने अपेक्षा गरेको छ । तर, कुनै पार्टीको कार्यकर्ता भएकै नाताले दोषीले उन्मुक्ति पाउने हुन् कि भन्ने आशंका पनि गर्न थालिएको छ । आरोपीको मुद्दा फिर्ता लिने र आफ्नो पार्टीको नेतृत्व तहमा बढुवा गर्ने कार्य एमाओादीले गर्दै आएको छ । यस्तो कार्य रोकेर सरकारले आरोपितहरूलाई कानुनी कठघरामा उभ्याउने नीति अवलम्बन गर्नुपर्छ । जिल्ला र सर्वोच्च अदालतबाट समेत सजाय पाइसकेका अहिले सरकारकै छत्रछायाँमा निष्फिक्री घुमिरहेका छन् । उनीहरू अहिले पनि पीडितलाई धम्क्याउँदै मुद्दा फिर्ता लिन बाध्य पार्दै छन् । यस्ता दोषी राज्यबाट दण्डित हुनुपर्ने हो । तर, भइरहेका छैनन् । अहिले पत्रकार थापा हत्याका आरोपी पक्राउ परेपछि जनताले खुसी व्यक्त गर्दै अन्य घटनाका दोषीले पनि दण्ड पाउने अपेक्षा गरेका छन् । सबै खाले मानवअधिकार उल्लंघनका दोषीले सजाय पाउनुपर्छ । यसले मात्र सुशासन र कानुनी राज्यको स्थापनामा सहयोग गर्छ । तसर्थ निर्भयतापूर्वक घुमिरहेका अन्य अपराधीलाई पनि पक्राउ गरेर न्यायको पहँुचबाट कोही पनि टाढा छैन भन्ने सन्देश दिनु जरुरी छ । राज्यले सबै घटनाका आरोपी पक्राउ गर्नै पर्छ ।

प्रतिक्रिया