उपत्यकामा १२ वर्षयताकै बढी चिसो

काठमाडौं, २४ पुस । काठमाडौं उपत्यकामा सोमबार १२ वर्षपछिकै सबैभन्दा चिसो अनुभव गरिएको छ । सोमबार काठमाडौंको न्यूनतम तापक्रम –०.७ डिग्री सेल्सियस रेकर्ड गरिएको छ, जुन सन् २००० पछिको सबैभन्दा कम हो ।

सन् २००० मा तापक्रम –३.० डिग्री सेल्सियससम्म झरेको थियो । मौसम पूर्वानुमान महाशाखाले सोमबारको न्यूनतम तापक्रम सन् २००० पछिकै सबैभन्दा कम भएको पुष्टि गरेको छ । महाशाखाका वरिष्ठ मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठले सौर्यसँग भने, ‘अब पानी नपरेसम्म चिसो जारी रहन्छ, तापक्रम पनि घट्दै जान्छ ।’
श्रेष्ठले खुला आकाश रहँदा शीत र तुसारो परेकाले दिनहुँ चिसो बढिरहेको बताए । महाशाखाका अनुसार सन् २००८ पछि काठमाडौंको तापक्रम माइनसमा झरेको सोमबार पहिलोपटक हो । ‘५ वर्षपछि पहिलोपटक सोमबार काठमाडौंको न्यूनतम तापक्रम माइनसमा रेकर्ड भएको छ, सन् २००८ यता अरू वर्ष न्यूनतम तापक्रम शून्य आसपास मात्रै रह्यो, माइनसमा झरेको थिएन,’ वरिष्ठ मौसमविद् श्रेष्ठले थपे ।
पछिल्लोपटक सन् २००८ मा उपत्यकाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव दुई डिग्री थियो । शून्य डिग्रीभन्दा तल तापक्रम झर्नासाथै तुसारो पर्ने गर्छ । त्यसैले तुसारोलाई तापक्रम माइनसमा झरेको संकेतका रूपमा लिइन्छ । खुला आकाश र तत्काल पानी पर्ने सम्भावना नभएकाले उपत्यकालगायत देशका पहाडी भू–भागमा केही दिन जाडो बढ्ने महाशाखाले जनाएको छ । उपत्यकामा आइतबारको न्यूनतम तापक्रम शून्य दशमलव २ र शनिबार शून्य दशमलव ७ डिग्री सेल्सियस थियो ।
पानी नपरेसम्म तराईमा हुस्सु
चिसोले दिनहुँ कष्टकर बन्दै गइरहेको तराईको जनजीवन केही दिन थप कष्टकर हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले पानी नपर्ने बेलासम्म तराइमा हुस्सु लागिरहने जनाएको छ । ‘केही दिन पानी पर्ने सम्भावना छैन र पानी नपर्दासम्म तराईमा हुस्सु हट्दैन,’ मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठले भने । पानी परेपछि आकाश खुल्ने र घाम चर्किंदै जाने भएकाले पानी नपर्ने बेला हुस्सु र चिसो रहिरहने उनले बताए ।

प्रतिक्रिया