भारत–पाक गोली हानाहान

नयाँदिल्ली : भारत र पाकिस्तानका सेनाबीच विवादित कास्मिरमा आइतबार गोली हानाहान भएको छ । गोली हानाहानबाट एक पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।
भिडन्तको कारणका सम्बन्धमा दुवै पक्षका आ–आफ्नै दाबी छन् । दुवै राष्ट्रले अर्को पक्षले भिडन्त आरम्भ गरेको दाबी गरेका छन् । दुई देशबीचको सीमा ‘लाइन अफ कन्ट्रोल’ पार गरी आफ्नो सैन्य पोस्टमा भारतीय सेनाले आक्रमण थालेपछि गोली हानाहान आरम्भ भएको पाकिस्तानी सेनाले जनाएको छ । जवाफमा आफूहरूले ‘मुतोड जवाफ’ दिएको र यस क्रममा एक पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानको भनाइ छ ।
तर, भारतले भने पाकिस्तानी पक्षबाट पहिले युद्ध भड्काउने काम भएको दाबी गरेको छ । पाकिस्तानी सेनाले भारत प्रशासनसित कास्मिरमा तैनाथ भारतीय सैनिकमाथि अन्धाधुन्ध गोली प्रहार गरेपछि दोहोरो भिडन्त भएको भारतीय प्रतिरक्षा मन्त्रालयले जनाएको छ । भारतीय सेनाले जवाफी कारबाही गरेपछि आक्रमण रोक्न पाकिस्तानी पक्षलाई बाध्य भएको भारतको भनाइ छ ।
घटनाका सम्बन्धमा पाकिस्तानी पत्रिका डनले सैनिक स्रोतलाई उद्धृत गर्दै लेखेको छ, ‘सीमा पार गरी पाकिस्तानी भूमिमा पर्ने हजिपुर इलाकाको सुरक्षा चेकपोस्टमा भारतीय सैनिकले आक्रमण थाले । पाकिस्तानी सैनिकबाट प्रतिरोधमूलक कदम चालिएपछि हतियार छोडेर भारतीय आफ्नै सीमातिर बेपत्ता भए ।’ घटनामा परी दुई पाकिस्तानी सैनिक घाइते भएको पाकिस्तानी सेनाले जनाएको छ ।
दक्षिण एसियाका दुई परमाणु हतियारसम्पन्न राष्ट्रका सेनाबीच भिडन्त भएको समाचारले विश्वका सञ्चारमाध्यममा प्राथमिकता पाएका छन् । चार सय ५० माइल लामो भारत–पाकिस्तान सीमामा दुई देशबीच भिडन्तका घटना भइरहन्छन् । दुई राष्ट्रबीच सन् २००३ को नोभेम्बरयता युद्धविरामको अवस्था विद्यमान छ । तर, युद्धविराम बारम्बार भंग हुने गरेको छ । हरेकपटक युद्धविराम भंग हुँदा यसका लागि दुवै पक्षले एकअर्कालाई दोष दिने गरेका छन् ।
युद्धविरामपछि शान्तिवार्ता आरम्भ भए पनि सन् २००८ मा भारतको औद्योगिक नगरी मुम्बईमा पाकिस्तानमा आश्रय लिएका भनिएका चरमपन्थीले आक्रमण गरेपछि भारतले अल्पकालका लागि पाकिस्तानसँगको शान्तिवार्तालाई निलम्बन गरेको थियो । तर, गत वर्ष शान्तिवार्तामा दुवै पक्ष फर्किए पनि यसबाट सार्थक नतिजा निस्किन सकेको छैन । सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएयता पाकिस्तन र भारतले तीनपटक युद्ध लडिसकेका छन् । दुवै राष्ट्र परमाणु हतियारसम्पन्न भएकाले उनीहरूबीच गोली हानाहानलाई गम्भीर रूपमा लिने गरिन्छ । भारतसँग ८० देखि सयवटा र पाकिस्तानसँग ९० देखि एक सय १० वटा परमाणु हतियार रहेको एक अमेरिकी अध्ययन केन्द्रको प्रतिवेदनमा उल्लेख छ । (एजेन्सी)
‘कास्मिर मुद्दाको छिनोफानो जिहादबाट’
मुजाफरवाद : पाकिस्तानको युनाइटेड जिहाद काउन्सिलका अध्यक्ष तथ हिजबुल मुजाहिद्दिन समूहका सर्वोच्च नेता सयिद सलाहुद्दिनले कास्मिर विवादको शान्तिपूर्ण समाधान खोज्नुपर्छ भन्नेले कास्मिरी जनतालाई झुक्याएको आरोप लगाएका छन् । कास्मिर विवाद समाधानको एक मात्र उपाय सशस्त्र संघर्ष भएकोमा उनले जोड दिएका छन् ।
शनिबार मुजाफरवादमा आयोजित पत्रकार सम्मेलनमा सलाहुद्दिनले भने, ‘६५ वर्षदेखिको अनुभवका आधारमा म के भन्छ भने सशक्त र नतिजा उन्मुख सशस्त्र द्वन्द्वले मात्रै कास्मिरलाई भारतीय पन्जाबाट मुक्त गर्न सक्छ ।’ यसका लागि तयार रहन । उनले कास्मिरका जनता, त्यहाँको नेतृत्व र पाकिस्तानसँग आग्रह गरेका छन् । ‘भियतनाम, अल्जेरिया, लिबिया, अफगानिस्तान र इराकबाट विदेशी सैनिकलाई सशक्त सैन्य प्रतिरोधमार्फत धपाइएको दृष्टान्त हाम्रैसामु छ,’ उनले भने । (एजेन्सी)

प्रतिक्रिया