उद्योग सञ्चालन गर्ने घटे

प्युठान : प्युठानमा पछिल्लो वर्षमा व्यवसाय सञ्चालनका लागि उद्योग स्थापना गर्ने क्रम घटेको छ । जिल्लाबाट युवा वैदेशिक रोजगारका लागि विदेशीने क्रम बढ्दै जाँदा उद्योग दर्ता गराउने र व्यवसाय सञ्चालन गर्नेहरू घटेका हुन् ।
जिल्ला प्रशासन कार्यालयका अनुसार हाल विदेश जानका लागि दैनिक १५ देखि ३० जनाले राहदानीका लागि सिफारिस लिने गरेका छन् भने मासिक करिब पाँच सय बढी युवाले राहदानी बनाउने गरेका छन् ।
जिल्लामा औद्योगिक क्षेत्रमा लगानी गर्ने व्यवसायीहरूको समेत अभाव हुँदा विगतका समयमा भन्दा पछिल्लो वर्षमा उद्योगीहरूको संख्यामा कमी आएको हुनसक्ने घरेलु तथा सानाउद्योग विकास समिति मुख्य शाखा कार्यालय प्युठानले जनाएको छ ।
कार्यालयका अनुसार आव ०६७/६८ मा ८० वटा विभिन्न प्रकृतिका उद्योग दर्ता भएकोमा ०६८/६९ मा ६७ वटा मात्र उद्योग दर्ता भएको कार्यालयका उद्योग प्रशासन फाँट प्रमुख मोधनाथ ज्ञवालीले बताए । हालसम्म कार्यालयमा दर्ता भएका उद्योगहरूमा उत्पादनमूलकभन्दा सेवामूलक बढी दर्ता भएका छन् ।
प्रमुख ज्ञवालीका अनुसार आव ०६७/६८ मा सेवामूलक ६३, उत्पादनमूलक १६ वटा दर्ता भएको थिए भने आव ०६८/६९ मा सेवामूलक ४३, उत्पादनमूलक २० र कृषिजन्य तथा वनजन्य चारवटा मात्र दर्ता भएका छन् । यी दर्ता भएका उद्योगहरूबाट जिल्लाका करिब ८०० जनाले प्रत्यक्ष रोजगारी पाउन सक्ने कार्यालयको तथ्यांकमा देखिए पनि उनीहरूले पाए नपाएको भन्ने कार्यालयमा एकिन तथ्यांक छैन ।
पछिल्लो दुई वर्षको अवधिमा दर्ता भएका उद्योगहरूमा रु. चार करोड ६५ लाख ७६ हजार ३०३ कुल पुँजी लगानी भएको देखिन्छ भने नौ करोड ५३ लाख ७४ हजार पाँच सय नौ रुपियाँ बराबरको उत्पादन गर्ने लक्ष्य लिई दर्ता भएका छन् ।
स्थानीय घरेलु तथा साना उद्योगबाट उत्पादन गरेका घरेलु सामग्री बिक्री वितरणका लागि बजारको अभावले गर्दासमेत नयाँ उद्यमीहरू उद्योग सञ्चालनका लागि उत्साहित नभएको फाँट प्रमुख ज्ञवालीको भनाइ छ ।
लोडसेडिङ मुक्त घोषित जिल्लामा अनियमित बिजुली एवं जिल्लाका सरोकारवालाहरूले औद्योगिक क्षेत्रमा लगानी गर्नेहरू कम भएकाले उद्योगहरूको संख्यामा कमी आएको हुन सक्ने उद्योग वाणिज्य संघ प्युठानका कार्यकारी निर्देशक भवेन्द्र शर्मा बताउँछन् ।
उनका अनुसार वाणिज्य संघका करिब एक हजार ५०० उद्योगी सदस्य रहे पनि जिल्लामा दक्ष जनशक्ति र ठूलो राशिको लगानी गर्ने व्यवसायीहरू छैनन् । घरेलु तथा साना उद्योग विकास समितिका अनुसार चालु आवको पाँच महिनामा ६७ वटा उद्योग दर्ता भए पनि उत्पादनमूलक कमी छन् । (सौस)

प्रतिक्रिया