मच्छिन्द्रको दोस्रो हारसँगै एघारौँ चरण सम्पन्न

काठमाडौं, २२ पुस । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएका एघारौँ चरणका दुई खेलमा सरस्वती युवा क्लब र विभागीय टोली एपिएफ विजयी भएका छन् । सरस्वतीले उपाधिको होडमा अंकतालिकामा तेस्रो स्थानमा रहेको मच्छिन्द्र क्लबलाई १–० ले पराजित गरेको हो । म्याचको एकमात्र गोल २७औँ मिनेटमा योना इलियासले गरेका हुन् ।

तुलनात्मक रूपले प्रतिस्पर्धात्मक देखिएको उक्त म्याचमा सरस्वतीले आठ मिनेटपछि नै अग्रता लिने बलियो स्थिति उत्पन्न भइसकेको थियो तर ३५ औँ मिनेटमा कृष्णगोपाल श्रेष्ठले गरेको प्रहार मच्छिन्द्रका बलीले लगभग गोललाइनबाट बचाएका थिए । खेलको समय समाप्तितिर बढ्दै जाँदा मच्छिन्द्रले कुनै खास आक्रमण नीति बुन्न सकेन । जारी लिगमा मच्छिन्द्रको यो दोस्रो हार हो ।
पोस्ट म्याच कन्फेरेन्समा बोल्दै एनएमबी बैंक मच्छिन्द्राका प्रशिक्षक राजकाजी शाक्यले आफ्ना प्रमुख खेलाडीहरू पूर्णत: ‘फिट’ नरहेको औँल्याउँदै पाँच डिफेन्डरसहित मैदानमा उत्रिएको सरस्वती क्लबले अत्यधिक रक्षात्मक खेलेकाले आफ्ना स्ट्राइकरहरू सफल हुन नसकेको प्रतिक्रिया दिए । उनले भने, ‘आजको पराजयले हाम्रो उपाधि होडको प्रतिस्पर्धामा ठूलो धक्का पुगेको छ ।’
शनिबारै भएको अर्को म्याचमा एपिएफले संकटा क्लबलाई २–० अन्तरले सहजै पराजित गर्‍यो । संकटाले रोमाञ्चकारी प्रतिस्पर्धा गर्न नसकेको उक्त म्याचमा विजेता टोलीका लागि अर्जुन सुब्बा र श्याम नेपालले गोल गरेका थिए ।
शनिबारका खेलपछि मच्छिन्द्र ११ खेलबाट २३ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा यथावत् छ । सरस्वतीसित पराजित भएपछि उसले लिगलिडर थ्रीस्टार (२६ अंक) सित अंक बराबरी गर्ने अवसर गुमायो । त्यति नै खेलबाट २४ अंक जोडेको मनाङ मस्र्याङ्दी दोस्रो र २० अंक भएको आरसिटी चौथो स्थानमा छन् । त्यसैगरी पछिल्लो जितसँगै एपिएफ ११ खेलबाट १२ अंकसहित अंकतालिकाको १३औँ स्थानमा पुगेको छ र यसरी मध्यपुरलाई दुई अंकले उछिन्दै आफूलाई रेलिगेसन जोनबाट बाहिर निकाल्न सफल भएको छ । अब मध्यपुरसँगै बाँसबारी (५ अंक) र बौद्ध (१अंक) रेलिगेसन जोनमा छन् ।
दोस्रो माउन्टेनबाइक रेस उपाधि नारायणलाई
काठमाडौं : दोश्रो माउन्टेनबाइक प्रतियोगिताको उपाधि नारायणगोपाल महर्जनले शनिबार जितेका छन् । १९.५ किलोमिटर दूरी नारायणले १ घण्टा १ मिनेट १५ सेकेन्डमा पूरा गरे । राजकुमार श्रेष्ठ दोश्रो तथा राजन भण्डारी तेश्रो भए । निर्धारित दूरी पूरा गर्न राजले १ घण्टा ५ मिनेट तथा राजनले १ घण्टा १६ मिनेट खर्चे । शीर्ष तीन स्थान हात पार्नेले क्रमश: २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे । ब्ल्याक हक इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित प्रतियोगिता लुभूदेखि सुरु भई लाँकुरीभन्ज्याङ हुँदै पुन: लुभू मै आएर सकिएको थियो । उक्त रेसमा ७० प्रतिस्पर्धी सहभागी थिए । (सौस)

प्रतिक्रिया