कीर्तिमानप्रति सेरेना ‘सिरियस’

लन्डन, २० पुस । अमेरिकी टेनिस सुन्दरी सेरेना विलियम्स पाँचपटक विश्व नम्बर एक महिला खेलाडी भएकी छिन् । र, फेरि अर्कोपटक यो सफलता हात पार्ने प्रयासमा छिन् जुन उनीबाट धेरै टाढा देखिएको छैन । तर, यसपटक उनी सफल भए त्यसले पनि चर्चा पाउनेछ तर त्यसको तौल विगतका भन्दा निकै बढी हुनेछ ।
अहिले विश्व वरीयताक्रममा तेस्रो नम्बरमा रहेकी ३१ वर्षीय सेरेना अब विश्व नम्बर एक भए महिला टेनिसको इतिहासमा यो सफलता हात पार्ने सबैभन्दा बढी उमेरकी खेलाडी हुनेछिन् । यसअघि यो सफलता अमेरिकाकै क्रिस एभर्टको नाममा थियो । सन् १९८५ मा उनी अन्तिमपटक विश्व नम्बर एक हुँदा उनको उमेर ३० वर्ष ११ दिन थियो ।
चोटका कारण करिब एक वर्ष कोर्टबाहिर रहेर पनि सन् २०११ को अन्यतिर खेलमा फर्किएकी सेरेनाले त्यसयता निकै सानदार प्रदर्शन गरिरहेकी छिन् । सो वर्ष युएस ओपनको फाइनल पुगेकी सेरेना सन् २०१२ मा भने विम्बल्डन, युएस ओपन र लन्डन ओलम्पिक जित्न सफल भएकी थिइन् । तर, यी सबै सफलतामा उनले मिहनेतका लागि रमाइलो गर्नसमेत बिर्सिएको बताएकी छिन् । उनको भनाइ छ, नीरस जीवनशैलीकै कारण उनको अहिलेको लय सम्भव भएको हो । ‘मेरो अहिलेको जीवनशैली दिक्कलाग्दो छ ।’ सन् २०१३ को पहिलो प्रतियोगिता ब्रिसवेन इन्टरनेसनलको दोस्रो चरणमा एलिज कोर्नेटलाई पराजित गरेपछि सेरेनाले भनिन्, ‘रमाइलो गर्ने समयमा म पहिला निकै रमाइलो गर्थें तर अहिले रमाइलो गर्नका लागि फुर्सद छैन । मलाई लाग्छ, म बूढी भएछु र ती खुसियालीपूर्ण दिनहरू अब मेरो जीवनमा फेरि फर्कने छैनन् ।’ उनले व्यस्त समयका कारण ‘न्यु इयर इभ’समेत नमनाएको बताइन् । ‘मलाई अचेल निद्रा लाग्दैन ।’ एकलतर्फ १५ र युगलतर्फ १४ ग्रान्डस्लाम उपाधि विजेता सेरेनाले अगाडि थपिन्, ‘मलाई थाहा छैन, अहिले म कस्तो समयमा छु । मैले न्यु इयर इभ अरूले मनाएको सुनिरहेँ तर मेरो त खेल हुँदै थियो त्यसैले कतै गइनँ ।’

प्रतिक्रिया