देवत्व स्थापित गर्ने बाटोतिर

कणादले अणुको पूर्ण व्याख्या गरेका छन् । उनले भनेका छन्, व्यक्तिमा देवत्व त्यतिबेला मात्रै स्थापित हुन सक्छ जब अणु परिवर्तित हुन्छ । यदि, हाम्रो अणु अधिक राक्षसमय छ भने हामी राक्षस वृत्तिको हुनेछौँ । राक्षस प्रवृत्तिको व्यक्तिले केवल आलोचना गर्छ, गाली गर्छ, झूठ बोल्छ ईष्र्या गर्छ, मनमा वितृष्णा राख्छ । राक्षस वृत्ति धेरै छ । देवत्व वृत्ति एकदम कम छ, यो पनि आउँछ जान्छ । हाम्रो अणुमा परिवर्तन भएपछि मात्र देवत्व वृत्ति स्थायी हुन्छ ।
केवल दीक्षा दिँदैमा मात्र काम चल्दैन । तिम्रो अण्ुासम्म पुग्ने क्रिया जसले दिन सक्दछ त्यसबाट तिमीलाई राक्षस बनाउन पनि सकिन्छ, देवता बनाउन पनि सकिन्छ, पुरुष, महापुरुष, देवता । देवता यस अर्थमा कि हामी सारा नक्षत्र देख्न सकौँ, सारा ग्रह देख्न सकौँ, ब्रह्माण्ड देख्न सकौँ । यदि, मनुष्य शरीरमा रहेरै चन्द्रलोक के हो, शुक्रलोक के हो, सूर्यलोक के हो, कैलाश लोक के हो, विष्णुलोक के हो, रुद्र के हुन्, हिमालय के हो क्षीर सागर के हो देख्न र जान्न सकौँ । यदि, यी सवथोक नहेर्ने हो भने मनुष्य शरीर धारण गरेको के काम ।
धनवान कसरी बन्न सकिन्छ, करोडपति कसरी बन्न सकिन्छ, योग्य सन्तान कसरी जन्माउन सकिन्छ, यो सब क्षमता प्राप्त अणुको माध्यमबाट हुन सक्छ । देवताकहाँ देवता नै पैदा हुन्छन्, राक्षस कहाँ राक्षस नै । ज्यादाजसो पुत्र पिता जस्तै बन्छ, ज्यादाजसोको अनुहारमा समानता नै हुन्छ र वृत्ति पनि त्यस्तै बन्छ । यसैले अणु परिवर्तन गर्नु जरुरी छ । तर, आम मानिस, आम गुरुले अणु परिवर्तन गर्न सक्दैनन् । जसलाई यसबारे ज्ञानै छैन उसले केही गर्न सक्दैन । अब अणु छ कहाँ ?
तिमीले मासु निकाल्यौ, त्यो त अणु होइन । मासुलाई टुक्रा–टुक्रा पार्‍यौ, त्यो पनि अणु होइन । शरीरको एक–एक रोममा अणु हुन्छ । एउटा सियोको टुप्पोमा पाँच हजार अणु अटाउँछ । त्यही अणुलाई परिवर्तन गरियो भने देवत्व प्राप्त हुन सक्दछ । यदि, तिमी देवत्वको दिशामा अग्रसर हुने हो भने त्यो सारा अणु परिवर्तन गर्नु पर्दछ । अणु परिवर्तन मन्त्रको माध्यमबाट हुन्छ किनभने भनिएको छ,
मंत्राधिनश्च देवता ।
यो सारा जुन क्रिया छ त्यो मन्त्रको अधिन छ । मन्त्रको अर्थ हो मैले जे बोले तिम्रो कानमा पुगोस् । म बोलौँ त्यसको प्रभाव होस् । मैले यदि तिमीलाई आमा चकारी गाली गरेँ भने तिमी ढुंगा लिएर हान्न तयार हुने छौ । मैले गाली गर्ने वित्तिकै तिमी एकदम क्रोधित हुनेछौ । मैले त तिमीलाई हातले छोएको पनि छैन, शब्दद्वारा क्रोधित बनाएको मात्र हुँ तर तिमी हिर्काउन तयार भयौ । तिमी र मेरो बीचमा के थियो ? शब्द थियो । मैले शब्द बोलेँ, त्यो तिमी भित्र पुग्यो, त्यसले प्रभाव पार्‍यो । यसरी तिमीलाई शब्दद्वारा क्रोध दिलाउन सक्छु भने शब्दद्वारा देवत्व पनि स्थापित गर्न सक्छु ।
तिमी र मेरो बीचमा रहेको शब्द मात्रै हो, त्यही शब्दले क्रोधी बनायो । शब्द मिलेर नै मन्त्र बन्छ । गाली एउटा मन्त्र हो जसले तिमीलाई क्रोध दियो । एउटा मन्त्र यस्तो पनि छ जसले तिमीलाई देवता बनाउन सक्छ । शब्दहरूको संगुम्फन या शब्दको जुन योग छ त्यो नै मन्त्र हो, चाहे त्यो राम्रो होस् या खराब ।

प्रतिक्रिया