एक चकमन्न रात । स्याङ्जाको सहर गल्याङको गेस्टहाउसमा बसेर पहाडमाथि फुत्त–फुत्त यताउता सरिरहने ताराहरू र अर्धगोलाकार चन्द्रमा हिँडिरहेको हेर्दै छु । पहाडका खोँचबाट सर्दै–सर्दै यता आएको बतासले मेरो मन–मस्तिष्कलाई छोएर जान्छ । देखिरहेछु, पर गाउँमा बलिरहेको धिपधिपे प्रकाश एउटा विम्ब हो मेरो कविताको । के मैले देखिरहेको गाउँको धिपधिपे उज्यालोमा कतै थोप्लोजस्तो थपक्क बसेको घर कविताको विराट् विषय होइन ? के त्यो उज्यालो एउटा चेतना–विम्ब होइन ?
हो, त्यस दिनभरि कविताको विषयमा थुप्रै बहस भएका थिए । काठमाडौंबाट गल्याङ पसेका एक हुल गजलकार(कवि कम)का भिडमा कविता निरीह बन्न पुगेको थिया, कविताको बजारमूल्य के हो ? यस विषयमा गजलकारहरूका निकै कमजोर टिप्पणीले मेरो मस्तिष्कमा एक प्रकारको ज्वारभाटा उठेको थियो । त्यसो त म पनि उत्तर दिन कहाँ सक्थेँ, ‘कविताले कति किलो चामल किनिदिन सक्छ ?’ तर, यति जान्दछु, एउटा सुन्दर कविताले हुरि चल्दा आएको भुमरीजस्तो गोलाकार चित्र कोर्न सक्छ हृदयमा र उसलाई हल्लाइदिन सक्छ कैयौँ कालसम्म । यसको मूल्य पनि हुन्छ भन्ने कुरामा म विश्वास गर्दिनँ । कविता पूर्णरूपमा अभौतिक वस्तु हो । गजलसम्बन्धी मेरो एउटै धारणा रह्यो, ‘यसले एकछिन माहोल तताउन सक्छ र एउटा सतही हुललाई एकछिन वाह वाह † तुल्याउन सक्छ अनि यो छिट्टै बिर्सिइन्छ पनि ।’ गजलकार जीवनपानीको गजलसंग्रह ‘पानीमुनिको आकाश’को विमोचनमा काठमाडौंबाट ‘गजलसम्राट्’को पगरि गुथाइएका ज्ञानुवाकर पौडेलदेखि आलाकाँचा गजलकारसम्म उता पुगेका थिए । गजलकारहरूको यति ठूलो भिडमा मैले यस्ता बांगाटिंगा कुरा गर्नु भनेको कुनै महान् गजलकारको लात वा मुक्का खानु हुन्थ्यो । भिडमा यी कुरा गर्न नसके पनि यतिचाहिँ भन्छु, ‘कविताले जस्तो समाजलाई असल बाटोमा हिँडाउन क्षणिक वाह–वाह पाउन लेखिने गजलले कहिल्यै सक्दैन ।’
अँ † चकमन्न अँध्यारोमा छु बार्दलीमा । हातमा सिग्रेटको ठुटो निभ्न लागिसक्यो । यो गेस्टहाउसभन्दा पारिपट्टि आँधीखोला कराइरहेको स्वर प्रस्ट सुनिरहेछु । काठमाडौंबाट आएका थकित गजलअनुरागी ‘प्लज’ कविहरू सुतिसके । दिमागको पत्रेचट्टानमा जीवन, जगत्सम्बन्धी अनेक प्रश्न फुत्त–फुत्त बाहिर निस्कन्छन् र सवाल गर्छन् आफैँसँग । प्रश्नहरूको जुलुस जहिल्यै जीवनभन्दा अघि हिँड्दोरहेछ । माक्र्स, लाओत्से, कन्फुसियस, माओ, ओशो, बुद्ध, देवकोटा, लामिछानेहरू प्रश्नै प्रश्नले थिचिएर संसार छाडे । मेरो कानमा बज्रिरहेको आँधीखोलामा कति प्रश्नहरूका लाम त्यसै बिलाए हुन् । आँधीखोला उर्लेर आउँदा जीवन सिध्याउन लालायित कतिका कलिला प्रश्नहरू यसैका छालमा मिसिए हुन् । कति निर्दाेष चेलीका, कति रहरलाग्दा केटौले उमेरका ठिटाहरूका प्रश्नहरू…। प्रश्नहरूको गुजुल्टो फुकाउन नसकेरै मानिस पराभौतिक भइदिन्छ र ध्येयहीन जीवनको निस्सारताले कुल्चेर आँधीखोलाका किनारसम्म पुर्याइदिन्छ । जीवनप्रति फेरि मोह पलायो भने किनारबाट फर्किंन्छ र उही उच्चाटमा अरू कैयौँ प्रश्न पुनरुत्पादन गर्छ नभए सबै प्रश्नलाई आफूसँगै भेलमा सेलाइदिन्छ ।
यो आँधीखोला सदिऔँदेखि यसैगरी बगिरहेछ । कहिलेकाहीँ फेरिने सामान्य स्वरूपबाहेक उस्तै छ यो, बरु फेरिए हुन् यसका कथा, उपकथाहरू । बर्खामा यो व्यापक उर्लिएर आउँदा छेउको बगर भत्काउँछ, बेलाबेला दुई/चार उत्तेजित मान्छेहरू निल्छ यसले, उनीहरूका सपनासँगै । यो आँधीखोला एउटा प्रतिविम्ब हो समयको, स्याङ्जा छेउछाउका गाउँको, गाउँलेहरूको, संघर्ष र दु:खको । यहाँका मान्छेहरू भन्छन्, उस्तै छ यो गल्याङ बजार, यहाँ दिनहुँ फेरिने गाउँले अनुहारबाहेक केही पनि हुँदैन नयाँ । अनेकौँपल्ट मानिस बास बस्छन् आँधीखोलामा, उनीहरूले पक्कै देखेका छन्, यसको विराट् स्वरूप । हो, त्यस रात गल्याङ मस्त निद्रामा सुतिरहँदा बार्दलीमा बसिरहेको मेरो साक्षी भएका थिए, आकाशबाट मलाई चियाइरहेको चन्द्रमा र बेतोडले कराइरहेको आँधीखोला । म सम्झन्छु, त्यस रात गल्याङ र म एकअर्कालाई गाढासँग हेर्दै मुस्कुराएका थियौँ ।
गल्याङ बजारमा जीवनको सबैभन्दा बढी समय बित्यो ७० वर्षे बाजे सुन्दर बस्नेतको । व्यक्तिगत अनुभूति, सामाजिक घटना सबै मिसिएका छन् उनका गालाका चाउरीमा । ‘अब माओवादीले सरकार छोडनुपर्छ र केपी ओली प्रधानमन्त्री हुनुपर्छ’ भनिरहेका थिए उनी । उनलाई अहिलको सबैभन्दा ठूलो पार्टीले ‘गरिखान्छ’ भन्ने विश्वास पहिल्यै थिएन रे † एउटै लयमा बगिरहने आँधीखोलाछेउ बस्ने मानिसहरूका बेग्लाबेग्लै सुरताल छन् । नयाँ–नयाँ च्याप्टरहरू इतिहासमा बन्दै जान्छन् र तिनलाई समयले पुराना बनाउँदै लैजान्छन्, जसरी आँधीखोलाको आवेगजस्तो सुन्दर बस्नेतको जवानी आँधीखोलाले देख्दादेख्दै सकिँदै छ । उबेला हुलाकघर पनि नदेखेका सुन्दरका नातिनातिना अहिले ट्विटरमा आफ्नो भविष्य सर्च गर्दै छन् । यी परिर्वतन देखेर बडो ताज्जुब छन् सुन्दर बस्नेत । ‘आखिर केही पनि नरहँदोरहेछ सँगै । मात्र यो बजार, आँधीखोला, ढुंगा र माटो’, यस्तै सोच्छन् आजकाल सुन्दर बस्नेत । मानौँ, यी आँधीखोलालाई आड लाएर पढिरहेछन् समयका बकपत्र ।
जीवनपानीको गजलसंग्रह विमोचनमा भए अनेक गन्थन । ज्ञानुवाकर पौडेल, डा. महेश्वर शर्मा, रोचक घिमिरे, वियोगी बुढाथोकी, नेत्र एटम, राबत, नगेन्द्रराज शर्मा, मनोज न्यौपाने, मदन कार्की, डा. टीका भण्डारी, डा. सुधा शाहीहरूले गजलमा संरचनागत स्वरूपको कुरा गरे । गणित र विज्ञानका सूत्रहरूलाई आफ्ना गलजहरूमा विम्ब र प्रतीकका रूपमा प्रस्तुत गरेका जीवनपानीले साँच्चै नौलो प्रयोग गरेका थिए आफ्ना सिर्जनामा । जीवनदर्शनका गहन कुरालाई साह्रै मर्मस्पर्शी र सरल ढाँचामा गजलीकृत गर्न सिद्धहस्त जीवनपानीको अनुहारको आभा आफ्नो प्रशंसाले बलेको थियो । तर, त्यहाँ गजल सुनाउने भिड सम्झँदा एउटा कुरा भन्न मन लाग्छ । जस्तै ‘पञ्चे’को पालामा एउटा भनाइ प्रसिद्ध थियो, ‘सबै पञ्च नेपाली, सबै नेपाली पञ्च ।’ मनु ब्राजाकीले भनेजस्तै अहिलेको गजलको माहोल हेर्दा भन्न मन लाग्छ, ‘सबै गजलकार नेपाली, सबै नेपाली गजलकार ।’ तर, जीवनपानीको गजल अरूले लेखेभन्दा फरक र प्रयोगपरक छन् र यी प्रयोगमा मात्रै सीमित नहोऊन् भन्ने मेरो कामना छ ।
गल्याङमा साँझ एउटा भिड जमेको थियो । गोर्खाली भाषामा भन्ने हो भने ‘कचहरी’जस्तो । नेपालका कुनाकाप्चामा जन्मेर काठमाडौंमा ‘कवि सभातिर बेला–बेला पुगिरहने’ कवि, गजलकारहरू । त्यो भिडमा रानो मौरीझैँ बनेका थिए,’ वियोगी बुढाथोकी । वियोगी दाइलाई बियर खान पाए अरू केही नचाहिने † त्यसैले उनले नाम पाए, ‘बियर कवि ।’ यो ‘साहित्यक सभा’मा भाग लिन आएका कवि, गजलकारमा एक बारको जुनीमा स्याङ्जाको गल्याङमा आएपछि एकैचोटि धेरै इच्छा पलाएका थिए । जस्तो गल्याङमा आएको उत्ताल परिवर्तन हेर्ने, आँधीखोलातिर पुग्ने र बियर खाने, धुले बाटोमा लामो समय हिँड्ने आदि–आदि । कविहरू गीतको माहोलमा उत्रिएका थिए । हो, त्यस रात मापसेले झिलिमिली भएपछि वियोगी दाइ, राबत, अकृनहरू खुब नाचेका थिए,
‘आँधीखोला उर्लेर आयो,
आउने थिइनँ मायाले बोलायो…’
‘यत्तिका मान्छे कहाँबाट आएका हुन् ?’ गल्याङका मन्दिर र चोक बजारका बाटा भेट हुने चौरस्तामा अचानक यस्तै प्रश्न उठ्न थाल्छन् । लोकलहरू गजलकारहरूको समूहलाई दुई हात जोडेर ‘नमस्ते’ गर्छन् । ‘वर्षाैंदेखि हजुरको बारेमा सुनेको, आज भेट हुने मौका जुर्यो’, ज्ञानुवाकरलाई देखेर धेरैको मुखबाट यस्तै आवाज आउँछ । साँच्चै गल्याङमा ज्ञानुवाकर हिट भए । उनका गजलका थुप्रै फ्यानहरू भेटिए । लोकल बूढाहरू ‘काठमाडौं’को हट राजनीतिको हालखबर सोध्छन् र नेताप्रति आक्रोश पोखिरहेका छन् । लाग्छ, गल्याङवासीहरू ‘सहर’प्रति निकै आक्रोशित छन् । जे भए पनि तत्काल काठमाडौं फर्किनुपर्ने हाम्रा लागि यो हतारको यात्रा थियो, ‘झेन फकिरझैँ बरालिने सहरमा ।’ हामी फकिर थियौँ र बरालिएका थियौँ’ गल्याङमा ।
इमर्जेन्सीमा उता पुगेकाबीच अनेक ‘मिथ’ चर्चामा आइरहे । हामी गेस्ट हाउसको एउटा हलमा सुत्यौँ, उठ्यौँ, एकअर्काको घुराई नापजाँच गर्दै । यात्रामा पुराना–नयाँ कवि, लेखकका अनेक किस्सा सुन्न पाइन्थ्यो । किस्सामा भूपी शेरचन, देवकोटा, अम्बर गुरुङदेखि विनोदविक्रम केसी र कुमार नगरकोटीहरू आइरहन्थे ।
०००
यहाँका चोक–बजारतिर बरालिँदा पश्चिमाञ्चलको गण्डकी अञ्चलमा पर्ने स्याङ्जाको नाम ‘स्याङ्जा’ रहनुका अनेक किस्सा सुन्न पाइयो लोकलहरूबाट :
–अठारौँ शताब्दीको कुरा हो, यहाँको आँधीखोला उर्लेर आएपछि यसले बस्तीलाई ठेल्न थालेछ । यस नगरका बासिन्दामा हाहाकार मच्चिएछ । एकजना सज्जनले भगवान्लाई पुकारेछन्– खोलो ‘स्यांइय्य्य् जा’ । खोलो ‘स्यांइय’ आफ्नै बाटोमा बग्न थालेपछि ‘स्यांइय जा’को अपभ्रंश भएर ‘स्याङ्जा’ हुन गएको हो ।
– एकीकरणपूर्व सेनवंशीय चौबीसे राज्यअन्तर्गत पर्ने यो क्षेत्र नुवाकोट र भीरकोट राज्यमा विभक्त भई ‘सेन जा’भन्दै कालान्तरमा ‘स्याङ्जा’ भएको ।
–यस जिल्लामा सिंजाली मगरको ठूलो बस्ती भएकोले उनीहरूकै थरबाट अपभ्रंश भएर ‘स्याङ्जा’ भएको ।
अनि आँधीखोला नामचाहिँ कसरी रह्यो नि ? यसमाचाहिँ एउटा वियोगी कथा छ, श्रवणकुमारसँग जोडिने किंवदन्ती । त्रेतायुगमा श्रवणकुमारले अन्धा बाबु–आमालाई तीर्थ घुमाउँदै यहाँ ल्याइपुर्याए । श्रवणकुमारले बाबु–आमालाई पानी खुवाउन स्थानीय दहमा गाग्रो डुबाउँदा निस्केको आवाजलाई मृगको आवाज सम्झी राजा दशरथले त्यसतर्फ वाण चलाउँदा उनको मृत्यु भयो । राजा दशरथ पानी लिएर जाँदा श्रवणकुमारका बाबु–आमाले दशरथलाई ‘तिम्रो पनि छोराको बिछोडको पीरले मृत्यु होस्’ भनी श्राप दिए र दुवैजना त्यहीँ रुँदारुँदै मरे । भाग्यले ठगेका ती दु:खीहरूको आँसुबाट दहको उत्पति भयो र त्यसै दहको नाम ‘अन्धाअन्धी’ दह रह्यो । हो, यसै दहलाई ‘आँधीखोला’ भनिन्छ ।
हाम्रा किंवदन्ती, कथा, इतिहासहरू आँसु र रगतले लतपतिएका छन् ।
०००
नेत्र एटम, अकृन, राजन भट्टराइहरू जीवनका गहनतम पक्षहरूमा मग्न थिए । मचाहिँ गल्याङ बहुमुखी क्याम्पसको चउरमा भेटिएको फुच्चे राजेश अधिकारीसँग बात मार्दै थिएँ । उसको घर तल गल्याङ बजारमा थियो । उसका बुबा सामान्य मजदुरी गर्ने रहेछन् । र, यो क्याम्पसमा भइरहेको साहित्य सभाबारे ऊ जान्दैन । तर, पनि यत्ति धेरै नौला मान्छे देखेर सायद ऊ खुसी थियो । पहाडबाट चिसो स्याँठ चल्न थाल्यो । फिसफिसे टिसर्ट लगाएको राजेशको मुहारमाचाहिँ खुसी छ । यहाँ दिउँसो खाजास्वरूप दिइएको दुई पिस समोसा पनि उसले खान पाएको रहेनछ, सायद समोसासम्म उसको पावर पुगेन ।
निस्कनेबेला मैले राजेशको अनुहार नियालेँ । उसको निर्दोष हाँसोले मलाई खिचिरहेको थियो । म उसलाई ‘बाई’ गर्दै फर्किनेबेलामा दिन ढल्किसकेको थियो, चिसो हावा चलिरहेको थियो । एउटा अश्वेत गायक बब मार्ली मज्जासँगले हाँसिरहेको त्यो पातलो टिसर्टमा राजेश अहिले लगलगी कामिरहेको थियो । यो उसको जीवनको मुस्कान हो कि, जीवनप्रतिको उपहास ? सायद, आँधीखोलाले राजेशहरूको मुस्कानको पनि रेकर्ड राखिरहेको छ ।
प्रतिक्रिया