भारतमा पाकिस्तानलाई शृंखला

कोलकाता : भारतविरुद्ध जारी तीन एकदिवसीय क्रिकेट शृंखलाअन्तर्गत बिहीबार कोलकातामा भएको दोस्रो म्याचमा ८५ रनले विजय हासिल गर्दै पाकिस्तान एक म्याच बाँकी छँदै द्विपक्षीय  शृंखला जित्न सफल भएको छ । टस हारेर पहिले ब्याटिङ गर्न पठाइएको पाकिस्तानका लागि म्यान अफ दि म्याच ओपनर नासिर जमसेदले लगातार दोस्रो शतकीय इनिङ खेले भने बलिङतर्फ पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका जुनेद खानसँगै सइद अजमल र उमर गुलसमेत समग्र टिमकै प्रदर्शन उत्कृष्ट रह्यो । पाकिस्तान यो भ्रमणमा आउनुअघिसम्म भारतले स्वदेशमा खेलिएका २४ एकदिवसीय म्याचमा केवल दुईमा हार बेहोरेको थियो भने यसपटक लगातार दुई खेलमा पराजित हुँदै तीन म्याचको शृंखला नै गुमाइसकेको छ । अब दिल्लीमा हुने म्याच औपचारिकता मात्र हुने भएको छ ।
जमसेदले मोहम्मद हाफिज (७६) सँग पहिलो विकेटका लागि १ सय ४१ रनको साझेदारी गर्नुका साथै व्यक्तिगत  १ सय ६ रनको इनिङ खेलेपछि पाकिस्तानले ४८.३ ओभरमा अलआउट हुँदै भारतसमक्ष जितका लागि २ सय ५१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
घरेलु टोली भारत भने ४८ ओभरमा १ सय ६५ रनमा अलआउट हुन पुग्यो । कमजोर प्रदर्शन गरेको भारतविरुद्ध पाकिस्तानी स्पिनर अजमल र फास्ट बलर जुनेदले तीन–तीन विकेट लिए भने उमर गुलले समान दुई विकेट लिए ।
पहिलो विकेटका लागि ४२ रनको साझेदारी गर्दै जितका लागि सम्भावना देखाए पनि भारत १०६–६ को स्थितिमा पुगेको थियो । गुल र जुनेदले  सुरुका चार विकेट बराबर बाँडे । मोहम्मद हाफिजले सुरेश रैना (१८) लाई स्टम्प गराएपछि  कप्तान महेन्द्र सिंह धोनीसँग मिलेर पाँचौँ विकेटका लागि भएको २५ रनको साझेदारी मात्र तोडिएन खेल नै पाकिस्तानको पक्षमा वास्तविकरूपमा ढल्किसकेको थियो ।  लगातार दोस्रो खेलमा कमजोर प्रदर्शन गरेका भारतका भरपर्दा ब्याट्सम्यानमध्ये गौतम गम्भीर ११, विराट कोहली ६ र युवराज सिंह ९ रन बनाई आउट भए । धोनी ५४ रनमा नटआउट रहे । जुनेदले सुरुका पाँचमध्ये चार खेलाडी आउट गरेपछि पहिलो खेलमा भारत कुनै समय २९–५ को स्थितिमा थियो ।
त्यसअघि पाकिस्तानले जमसेदको शतकसँगै पहिलो विकेटका लागि २३.५ ओभरमा १ सय ४१ रनको साझेदारी गरे पनि अनुमानित योगफलसम्म भने पुग्न सकेन । पहिलो खेलमा १ सय १ रनको व्यक्तिगत इनिङ खेलेका जमसेदले यसपटक जडेजाको बलमा आउट हुनुअघि १ सय २४ बल सामना गर्दै १२ चौका र दुई छक्का प्रहार गरे । भारत भ्रमणका क्रममा पाकिस्तानले दुई म्याचको टी–ट्वान्टी शृंखला १–१ ले बराबरी गरेको थियो । (एजेन्सी

प्रतिक्रिया