मेलमिलाप दिवसको औपचारिकता

प्रजातान्त्रिक पार्टीका रूपमा स्थापित नेपाली कांग्रेसले औपचारिकता पूरा गर्दै मेलमिलाप दिवस मनाएको छ । २०३३ साल पुस १६ गते भारत निर्वासनबाट बिपी कोइराला नेपाल फर्किएका थिए । उनले विदेशमा बसेरभन्दा स्वदेशमै बसेर प्रजातान्त्रिक आन्दोलनलाई अगाडि बढाउन सहज हुने ठाने । वास्तवमा हुन पनि त्यस्तै भयो । २०३६ सालमा तत्कालीन राजा वीरेन्द्र जनमत संग्रह गर्न बाध्य भए । यो बिपीद्वारा प्रतिपादित मेलमिलाप नीतिको एउटा पाटो थियो । मुलुकमा जनता प्रजातन्त्रको पक्षमा बोल्न, भेला हुन र छलफल गर्न थाले । यसै पृष्ठभूमिमा २०४६ सालको जनआन्दोलन विकिसत भएको थियो । यसपछि राजतन्त्र कमजोर र प्रजातन्त्रवादीहरू दह्रो हुँदै गए । यो सबै हुनुका पछाडि मेलमिलाप नीतिको ठूलो योगदान थियो । प्रजातान्त्रिक मूल्य मान्यतामा आधारित संवैधानिक राजतन्त्र नेपाली कांग्रेसको सैद्धान्तिक अडान स्थापित भयो । तर, आफ्नो यो अडानमा कांग्रेस नेतृत्व र कार्यकर्ता लामो समय टिक्न सकेनन् । जसले गर्दा नेपाली राजनीतिमा राजसंस्था कमजोर र कम्युनिस्टहरू सशक्त रूपमा देखा परे । बिपीको आदर्शप्रति निराश कांग्रेस पनि कमजोर बन्दै गयो । मेलमिलाप नीतिको उचित परिभाषा कांग्रेसले गर्नै सकेन । बरु कांग्रेसका नेता आफैँ विभाजित भई नेतृत्व प्रदान गर्न नसक्ने अवस्थामा पुगे । अहिले मुलुकका लागि कांग्रेसको असक्तता पनि विडम्बना बन्न पुगेको छ ।
कांग्रेसको सांगठनिक अवस्था अहिले धेरै कमजोर छ । स्वर्गीय गिरिजाप्रसाद कोइरालाको अदूरदर्शी नेतृत्व लामो समय व्यहोरेका कारण पनि कांग्रेसप्रति वितृष्णा जाग्दै गयो । तत्कालीन अवस्थामा सर्वमान्य नेता गणेशमान सिंह पार्टीबाटै निकालिनु, सन्त नेता कृष्णप्रसाद भट्टराईलाई तिरस्कार गरिनु र पार्टी विभाजन हुनु मेलमिलाप नीतिविपरीत कार्य थिए । जसले गर्दा कांग्रेसलाई कमजोर त बनायो नै यसले मुलुकको राजनीतिलाई समेत क्षति पुर्‍यायो । यदि राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिका सशक्त हुन्थ्यो भने वर्तमान दुर्भाग्यपूर्ण राजनीतिक अवस्था राष्ट्रले भोग्नुपर्ने थिएन । तीतो सत्य के हो भने गिरिजाप्रसाद कोइरालाको हैकमवादी नेतृत्व र हठपूर्ण नेतृत्वकै कारण कांग्रेस कमजोर बन्यो । र सिंगो मुलुक पनि अप्ठ्यारोमा पर्‍यो । अहिले एनेकपा (माओवादी) ले राष्ट्रिय राजनीतिमा कमजोर कांग्रेसलाई विभिन्न बहानामा अझ कमजोर बनाउँदै गएको अवस्था छ । जब बिपीको मेलमिलाप नीतिलाई आत्मासात् गरेर अर्थपूर्ण ढंगमा कांग्रेसी नेता अघि बढ्न सकेनन् तब जनतामा रहेको कांग्रेसमोह भंग भयो । ०४६ सालको राजनीतिक परिवर्तनपश्चात् कांग्रेस धेरै समय सत्तामा रहन सफल भयो । तर, जनचाहना र अपेक्षा पूरा गर्न सकेन । नेपाली जनताको अत्यधिक समर्थन हुँदाहुँदै पनि कांग्रेसका नेताहरू राष्ट्र र जनताका पक्षमा उभिन सकेनन् । प्रजातन्त्र धरापमा पर्‍यो । निष्क्रिय राजसंस्था सक्रिय भयो । माओवादीहरू बितण्डा मच्चाउन सफल भए । अहिले तिनै माओवादीले राष्ट्रलाई बर्बाद पारेको टुलुटुलु हेरेर बस्नुपर्ने अवस्थामा कांग्रेस पुगेको छ । जब बिपीको मेलमिलाप नीतिको बर्खिलापमा कांग्रेस गयो तब यस्तो भयो ।
पुस १६ गते मेलमिलाप दिवसका दिन कांग्रेसले दिवस मनाएर औपचारिकता पूरा त गर्‍यो तर आफू सच्चिने प्रण गरेन । मुलुक राजनीतिक र संवैधानिक संकटको भुमरीमा फसेका बेला यसबाट मुक्त हुने उपायका बारेमा बहस भएन । सत्ताको ललिपप देखाएर कांग्रेसलाई खेलाइरहेको एमाओवादीप्रतिको कांग्रेसी नीति पनि स्पष्ट भएन । बिपीले देखाएको मूलबाटो नै त्यागिसकेको कांग्रेसले अब आफूलाई परिमार्जन गर्दै सच्याउन र स्पष्ट धारणा बनाउन जरुरी छ । इतिहासमा बाँच्ने भन्दा पनि वर्तमानमा राष्ट्र र जनताका पक्षमा सशक्त रूपमा उभिने नीति कांग्रेसले लिन सक्नुपर्छ । आफूमा रहेका अभिशापहरू त्याग्दै कांग्रेस सच्चिएर राष्ट्र र जनताको पक्षमा उभिएमा वर्तमान संकटबाट राष्ट्रले मुक्ति पाउनेछ । र, मेलमिलापको बिपी चिन्तन पनि सफल हुनेछ ।

प्रतिक्रिया