आखिर कहिलेसम्म महिला हिंसा

वैदेशिक रोजगारका लागि अर्काको पासपोर्टमा साउदी पुगेकी एक युवती स्वदेश फर्कने क्रममा अध्यागमनको सोधपुछमा लुटिइन् । अध्यागमनमा खटिएका कर्मचारीले उनीसँग रहेको रकम धम्काएर लुटे भने एकजना प्रहरीले गेस्ट हाउसमा लगेर बलात्कार गरे । अध्यागमनका कर्मचारीदेखि प्रहरी कसैले पनि उनलाई धम्क्याउन बाँकी राखेनन् । प्रहरीले लुटिएको रकम उपलब्ध गराउने आश्वासन दिएर उनलाई घर पठाए । दिन बित्दै गयो, रकम नपाएपछि भोजपुरकी ती युवतीले आफ्ना दाइको सहयोगमा एक महिनापछि उजुरी हालिन् । यो घटना एक महिनासम्म सञ्चारमाध्यममा आएन । न त कुनै अधिकारकर्मीका आँखाले नै देखे । अहिले विभिन्न दबाबका कारण सरकारले ती युवतीलाई तत्काल एक लाख ५० हजार रुपियाँ राहत दिने निर्णय गरेको छ । घटनामा संलग्न अध्यागमन विभागमा कार्यरत कर्मचारी र प्रहरी पक्राउ परिसकेका छन् । बलात्कारपछि गर्भवती बनेकी युवती चाहेर पनि सार्वजनिक हुन सकिरहेकी छैनन् ।

मंसिर २२ गते बर्दिया गुलरियाकी १६ वर्षीया शिवा हासमीलाई विवाह गर्न नमानेको भन्दै जिउँदै जलाइयो । २६ गते उपचारका क्रममा उनको मृत्यु भयो । उनका प्रेमी बाबु खानले पहिले हासमीले विवाह गर्न नमानेको भन्दै जलाएको आरोप लागे पनि अनुसन्धान चल्दै गर्दा परिवारको संलग्नता देखियो । उक्त घटनाको एक महिना बित्न लाग्दा पनि परिणाम बाहिर आउन सकेको छैन । मंसिर ३० गते अनामनगरस्थित कृष्ण प्रसाईका घरमा घरेलु कामदारका रूपमा ६ वर्षदेखि काम गर्दै आएकी ३१ वर्षीया सरस्वती सुवेदी (अधिकारी) मृत अवस्थामा फेला परिन् । उनी आफ्नी ९ वर्षीया छोरीसँगै त्यो घरमा काम गर्थिन् । सरस्वती एकल महिला थिइन् । सावित्री प्रसाईका अनुसार उनी विष सेवन गरी झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । तर सरस्वतीको परिवारले आत्महत्या नभई हत्या गरिएको किटानी जाहेरी प्रहरीमा दिँदा उजुरी लिएन । मृत सरस्वतीका बुबा खड्क, आमा उमा र बहिनीले उजुरी दिँदा यस्तो प्रतिष्ठित व्यक्तिलाई हामीले कसरी पक्रने भनी हनुमान ढोकाका प्रमुखले उल्टै जवाफ फर्काए । महिला अधिकारवादी संस्थाको दबाबका कारण उजुरी बल्ल लिन मानियो ।
यसै बेला भारतको दिल्लीमा आफ्नो साथीसँग सार्वजनिक बसमा सवार रहेका बेला दामिनी नामक युवती सामूहिक बलात्कारमा परिन् । जसले त्यहाँ ठूलो आन्दोलन भयो । गत शुक्रबार राति ती युवतीको मृत्यु पनि भइसकेको छ । बलात्कारमा पर्दा उनलाई बचाउने क्रममा उनका साथीहरू पनि घाइते भएका थिए । अहिले उनीसँगै रहेका उनका साथीको अवस्था पनि बिग्रँदै गएको छ । नेपालमा पुस ६ गते, सैनिक मुख्यालयमा कार्यरत सुदर्शन थापाले ताप्लेजुङ घर भएकी युवतीलाई विवाह गर्ने भनी काठमाडौं बोलाएर कंलकीको गेस्ट हाउसमा बलात्कार गरे । प्रहरीका अनुसार बिहे गर्न भनेर थापाले १७ वर्षीया ती युवतीलाई ताप्लेजुङबाट काठमाडौं बोलाएका थिए । आफ्नो मोबाइलसमेत उसले लिएको र बाहिरसमेत जान नदिएर बलात्कार गरेको पीडित युवतीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । पुस १३ गते बारा प्रष्टोका–५ की १६ वर्षीया बिन्दुकुमारी ठाकुर घरदेखि सय मिटर पर ९० प्रतिशत जलेको अवस्थामा भेटिइन् । अहिले आएर उनलाई आफ्नै परिवारले जलाएर फ्याँकेको खुल्न आएको छ । त्यस्तै पुस १४ गते राजधानीमा आन्दोलन चर्किरहेको बेला दैलेखको नारायण नगरपालिका–६, नमुना बस्तीमा श्रीमान्ले श्रीमतीलाई यौनसम्पर्क राख्न नमानेको भन्दै शुक्रबार राति जलाउँदै गर्दाको अवस्थामा छिमेकीले उद्धार गरेका छन् ।
उता हेटौँडालगायत मुलुकका विभिन्न भागमा महिलामाथि हिंसाका घटना बढिरहेका खबर आइरहेका छन् । महिलाविरुद्धको हिंसा अहिले आएर बढ्दै गएको हो वा सञ्चारमाध्यमका सहयोगमा बाहिर मात्रै आएका हुन् यो विषय गम्भीर छ । यदि हो भने पीडित व्यक्ति अहिले किन प्रहरीसामु नगएर सञ्चारमाध्यम र महिला अधिकारका लागि लड्ने संघसंस्थाको सम्पर्कमा आँउछन् ? नयाँदिल्लीमा भएको दामिनीको बलात्कारको घटनाले अहिले पूरै भारत शोकमग्न छ । तर, हाम्रो नेपालमा भने पटक्कै संवेदना जागेन । कानुनको शासन नहुँदा आज सबै नेपालीले यो अवस्था भोग्नुपरेको हो । नेपाली चेली विदेशबाट सुरक्षितसाथ नेपाल फर्किन सफल हुन्छिन् । बिडम्बना, स्वदेशमा आइपुग्नेबित्तिकै सुरक्षा निकायबाटै लुटिन्छन् र बलात्कृत हुन्छिन् । कसैकी छोरीको हत्या हुन्छ तर अपराधीलाई ठूलो र प्रतिष्ठित व्यक्ति भएकै कारण प्रहरीले पक्राउ गर्ने आँट गर्दैन । कस्तो कानुन हो यो ? कहाँको कानुन हो ? न्यायका लागि आफ्नो छोरीको फोटो लिँदै वृद्ध आमाबुबा प्रहरी चौकी, राज्यकै सिंहदरबारमा कराउँछन् तर आश्वासन मात्र पाउँछन् र फर्कन्छन् ।
अत्यधिक महिला हिंसा बढेपछि बिहीबारदेखि भने मानवअधिकारकर्मी, महिला अधिकारकर्मीहरूको धर्ना सुरु भएको छ । र सहरमा बल्ल नारा जुलुस हुन थालेको छ । ती अधिकारकर्मीले आफूहरूले ढिलो आवाज उठाएको स्विकार्दै अब निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । महिला हिंसाका नाममा गोष्ठीमा सहभागी हुने र संघसंस्था चलाएर दातृ निकायलाई ठीक पार्ने अधिकारकर्मी महिला अहिले नेपालमा थुप्रै छन् । अहिले समय आएको छ । कानुनको शासन जीवित रहेको देखाउन अब पनि अग्रसर नहुने हो भने महिला अधिकारकर्मीहरूप्रति वितृष्णा फैलन सक्छ ।
महिला अधिकारका क्षेत्रमा काम गर्ने संघसंस्थाका अनुसार मंसिर महिनामा देशभर ८८ जना महिलामाथि हिंसा भएको छ । जसमध्ये पाँचजनामाथि बलात्कार, तीनजनामाथि बलात्कारको प्रयास भएको छ । जब एउटा महिला बलात्कृत हुन्छिन्, उनी बाँचेर पनि पटक–पटक उनलाई समाज र आफन्तका नजरले बलात्कृत गरिरहेको हुन्छ, होच्याइ रहेको हुन्छ । जब मर्छिन् उनले न्याय पाउँदिनन्, उल्टै उनको मराइमा चरित्रहीनको आरोप लगाइन्छ । अहिले ढिलै भए पनि युवादेखि महिला अधिकारकर्मी, महिला अधिकारका क्षेत्रमा कार्यरत महिलाहरू बालुवाटारदेखि सिंहदरबारमा धर्ना बसेका छन् जिउँदै आगोमा जलाएर मरेकादेखि घरमा मारेर झुन्ड्याएकासम्म र आफ्नै भूमिमा बलात्कृत भएका युवतीहरूलाई अहिले न्याय दिलाउन नसके कहिले सक्ने ? प्रधानमन्त्रीको प्रतिबद्धताले ती पीडितलाई न्याय दिँदैन । अपराधीलाई कडाभन्दा कडा सजाय हुन्छ र तुरुन्त निष्पक्ष छानबिनका लागि प्रधानमन्त्रीले आफ्ना मातहतका निकायलाई निर्देशन दिएर मात्र पनि हँुदैन, जल्ने जल्छन्, बलात्कृत हुने भइराख्छन् । प्रहरीले ठूलो मान्छे भनेर उजुरी लिन मान्दैन । उजुरी लिएमा पीडक, पीडित र राजनीतिकर्मीको रोहोबरमा मिलाउन खोजिन्छ ।
यदि महिलाहरूले यो बेला सशक्त आवाज नउठाउने हो भने यसरी नै नेपाली चेली जल्ने, जलाउने, मर्ने, मराउने र अस्मिता लुट्ने, लुटाउन बाध्य हुने प्रक्रिया चलिरहने छ । अपराधीहरूले महिलालाई आफ्नो आपराधिक मानसिकता र क्रियाकलापले आतंकित पारिरहनेछन् । अहिले मुलुकमा अपराधीहरूलाई कडा सजाय दिने कानुन चाहिएको छ । जसले अपराध गर्नुभन्दा पहिले आफ्नै छोरी वा प्रेमिका, श्रीमती वा बुहारी जिउँदै जलाउँदा सयपटक सोचोस् । बलात्कारीले आफ्नो एकपटकको कुकर्मले भविष्यमा पाउने सजायका बारेमा सोचोस् । हरेक पुरुषले आफ्नी छोरी, बहीनी, श्रीमती र हरेक आमाले छोरी, बुहारीलाई सडकदेखि सदन र स्वदेशदेखि विदेशसम्म आफू सुरक्षित साथ हिँड्न पाउने अधिकार खोज्नैपर्छ, बेला यही हो ।

प्रतिक्रिया