‘बिपीको आत्मवृत्तान्त पाँचचोटि पढिसकेँ’

किताबमा कति पैसा खर्च भयो भनेर म कहिल्यै हिसाब राख्दिनँ । मन परेको किताब किनिहाल्छु । नाम चलेका, चर्चामा रहेका किताब किन्न मन लाग्छ । कहिलेकाहीँचाहिँ नयाँ किताबले पनि तानिहाल्छन् । खल्तीमा पैसा रहेनछ भने पनि किन्न मन लागेको किताब त्यसै छाडेर हिँड्दिनँ । साथीसँग मागेर भए पनि किनेरै छाड्छु ।
मैले पढेको पहिलो उपन्यास ‘एक चिहान’ हो, डाक्टर ह्दयचन्द्रसिंह प्रधानले लेखेको । त्यति बेला म ९ कक्षाको विद्यार्थी थिएँ । होस्टेलको पुस्तकालयबाट लिएर पढेको । निकै राम्रो लाग्यो मलाई त्यो उपन्यास ।
पढेका मध्ये सबैभन्दा मन परेको किताबचाहिँ ‘बिपीको आत्मवृत्तान्त’ हो । बिपीले त्यसमा मान्छेका भोगाइ, शक्तिकेन्द्रसँगको सम्बन्ध, अपनाउनुपर्ने व्यवहारबारे चित्रण गर्नुका साथै अरूको चरित्र र स्वभाव जाँचेर अघि बढ्नुपर्ने उल्लेख गरेका छन् । यो पुस्तकबाट विशेष गरी राजनीतिकर्मीले निकै लाभ उठाउन सक्छन् । कृष्ण धरावासीको ‘राधा’ उपन्यास, म्याक्सिम गोर्कीको ‘आमा’, तिब्बती नेता दलाई लामाको ‘निर्वासमा स्वतन्त्रता’, जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’, पनि पढ्दा निकै आनन्द लागे । कृष्ण धरावासी, नारायण वाग्ले, झमक कुमारी, आनी डोल्मा, रवीन्द्र मिश्रको लेखाइ मन पर्छ अहिलेका लेखकमा ।
बिपीले लेखेका सबैजसो किताब पढेको छु । ‘हिटलर र यहुदी’ मा उनको लेखनी हेर्दा उनले सुन्दरीजल जेलमा बसेर होइन कि पानीजहाजमै बसेर त्यसको वर्णन गरेजस्तो लाग्छ । उनको आत्मवृत्तान्तचाहिँ पाँचपटक पढिसकेँ, अझै धीत मरेको छैन । स्वामी अरविन्दले लेखेको ‘भारतको पुनर्जन्म’ पनि मलाई दोहोर्‍याएर पढ्न मन छ । पहिले साथीसँग मागेर पढेको थिएँ । अहिले फेरि खोज्दै छु । राजनीतिशास्त्रसम्बद्ध किताबहरू पनि दोहोर्‍याएर–तेहेर्‍याएर पढ्छु । त्यसले आफँैलाई फाइदा पुर्‍याउँछ ।
हरेक किताब अन्तिमसम्मै पढिरहन जरुरी छ जस्तो मलाई लाग्दैन । त्यसैले कुनै पनि किताब दिक्क लाग्ने गरी पढेको छुइनँ । अन्तिमसम्मै पुग्दा पनि दिक्क लाग्दैन मलाई प्राय: किताब पढ्दा । पढ्ने भनेको ज्ञान र मनोरञ्जनका लागि हो । प्राय: किताबमा ज्ञान र दर्शनका कुरा केही न केही त हुन्छन् नै, तिनलाई खुटयाउन सक्नुपर्छ । किताबहरूबाट जीवनोपयोगी चिज पनि प्राप्त हुन्छजस्तो लाग्छ मलाई । केही नभए नयाँ शब्द र भाषा भने पनि जानिन्छ । जुन राजनीतिक कार्यकर्ताका लागि विशेष आवश्यक हुन्छ ।
साहित्यमा कविता पनि मलाई मन पर्ने विधा हो । खास गरी गद्य कविता । रमेश क्षितिज, क्षेत्रप्रताप अधिकारीका कविता मन पर्छन् । कविहरूले शब्दहरूलाई बान्की मिलाएर कवितामा उधिनेका हुन्छन् । आनन्द लाग्छ पढ्दा ।
मैले आजसम्म किताब चोरेर पढेको छैन, बरु मागेको छु । मागेर कतिको किताब फिर्ताचाहिँ गरिएन पनि होला । मेरो किताब पनि चोरी भएको छैन । मागेर लैजान्छन् तर उनीहरूले पनि फिर्ता ल्याइदिएका छैनन् । धेरै भएको छ यस्तो । कसैलाई उपहार दिनुपर्दा पनि किताबै रोज्छु म त । सम्बद्ध व्यक्तिको स्वभाव हेरेर उपयुक्त पुस्तक छनोट गर्छु । अरूभन्दा किताब नै बढी उपयोगी हुन्छजस्तो लाग्छ, उपहारका रूपमा ।
एउटै किताब चारपटकसम्म किनेको छु मैले । ‘नेपाली कांग्रेसको चारदशक’ चारपटक किनेँ । नेविसंघको इतिहास तीनपटक किनेँ । अहिलेसम्म किनेको सबैभन्दा महँगो किताब भनेको नेपाली शब्दकोश हो, २५ सय रुपियाँ हालेको ।
किताब यति नै बेला पढ्छु भन्ने रुटिन छैन । किनकि फुर्सदै हुँदैन । फुर्सद हुँदाको पहिलो कामचाहिँ यही नै हो । मन परेको किताब त फोन अफ गरेर पनि पढेरै सक्छु । रातभरि निद्रा मारेर पढ्ने बानीचाहिँ छैन । जेल बस्दा केही किताब पढेँ । गृहजिल्ला बाजुरामा बस्दा पढ्न पाइएन, त्यहाँ सुविधा थिएन । केही लेखेर समय बिताएँ । ०६२–०६३ को आन्दोलनताका काठमाडौंमै भएकाले निकै पुस्तक पढेँ । त्यति बेला नारायण वाग्लेको ‘पल्पसा क्याफे’, कविता पौडेलको ‘काँडाघारीको यात्रा’, धच गोतामेको ‘घामका पाइला’ अनि प्रदीप नेपालका किताब पढेको थिएँ ।
मैले बढीजसो किताब किन्ने भनेको शंकरदेव क्याम्पसअगाडिको पुस्तक पसल हो । साथीको पसल भएकाले भारी छुटमा पाउँछु । अर्कोचाहिँ बागबजारमा रहेको रत्न पुस्तक भण्डार हो ।

(वार्तामा आधारत)

प्रतिक्रिया