काठमाडौं, १८ पुस । मच्छिन्द्र क्लबले राजधानीमा जारी सहिद स्मारक रेडबुल ए डिभिजन लिग फुटबल प्रतियोगितामा आफ्नो उपाधि अभियानलाई थप बलियो बनाएको छ । मंगलबार भएको खेलमा मच्छिन्द्रले संकटा स्पोटर्स क्लबलाई २–० ले पराजित गर्यो । मंगलबार नै भएको अर्को खेलमा सरस्वती युथ क्लबले मध्यपुर युथ एसोसीएसनलाई २–० ले पराजित गर्यो । मंगलबारको खेलपछि मच्छिन्द्र क्लब २३ अंकसहित दोस्रो स्थानमा रहेको छ । १० चरणको समाप्तिमा शीर्ष स्थानमा रहेको थ्री–स्टारको २५, तेस्रो स्थानमा रहेको मनाङ मस्र्याङ्दीको २१ र चौथो स्थानमा रहेको आरसिटीको २० अंक छ । मच्छिन्द्रलाई जित दिलाउने क्रममा कर्ण लिम्बूले पहिलो हाफको इन्जुरी समयमा गोल गरे भने ५५औँ मिनेटमा बिशाल राई ‘ए’ ले अर्को गोल थपे । दुवै गोल संकटाका गोलरक्षक पियरेको गल्तीका कारण भएका थिए ।
रेलिगेसनबाट बच्न संघर्षरत दुई क्लबबीचको खेलमा सरस्वतीका लागि योना एलियासले दुवै गोल गरे । २७औँ मिनेटमा ज्योफ्रीको ‘फ्रि’किकमा एलियासले हेड गर्दै संकटालाई अग्रता दिलाए भने ६०औँ मिनेटमा कृष्णगोपाल श्रेष्ठको पासमा एलियासले अर्को गोल गरे । पराजयपछि मध्यपुरका अगाडि रेलिगेसन क्षेत्र नाच्न थालेको छ । लिगको ठीक अघि भएको एनसेल कप फुटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको मध्यपुरले तिनै खेलाडीमाथि विश्वास गरेको थियो । ‘अब हाम्रो हातमा केही पनि छैन । सबै खेलाडीकै हातमा छ । आजको प्रदर्शनबाट साँच्चै निरास भएको छु ।’ मध्यपुरका प्रशिक्षक उपेन्द्रमान सिंहले खेलको समाप्तिपछि भने । मध्यपुरले नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लबजस्ता बलिया टोलीसँग बराबरी गरेको थियो । सरस्वतीको ७ अंक छ । रेलिगेसन क्षेत्रभन्दा ठीकमाथि रहेको एपिएफको ९ अंक छ । सरस्वती क्लबका कामचलाउ प्रशिक्षक प्रदीप नेपालले मध्यपुरसँगको जित महत्त्वपूर्ण भए पनि क्लब पूर्णरूपमा सुरक्षित नभइसकेको प्रतिक्रिया दिए ।
प्रतिक्रिया