काठमाडौं, १८ पुस । एन प्याब्सनले राष्ट्रिय खेलकुद परिषद् (राखेप) समक्ष हरेक विद्यालयमा खेलकुदलाई अनिवार्य गर्नुपर्ने माग गरेको छ ।
राखेपका सदस्य–सचिव युवराज लामा, कोषाध्यक्ष ईन्द्रबहादुर थिङ, नेपाल खेलकुद प्रतिष्ठानका निर्देशक केशवराज गौतम, स्कुल तथा कलेज खेलकुद समन्वय शाखा प्रमुख कुलबहादुर थापा, एन प्याब्सनकी अध्यक्ष गीता राणा, काठमाडौं एनप्याब्सनका महासचिव सिपी आचार्य, भक्तपुर एन प्याब्सनका राजेन्द्र कोजु, ललितपुर एन प्याब्सनका अध्यक्ष शम्भु अधिकारीलगायतको उपस्थितिमा मंगलबार बसेको बैठकमा एन प्याब्सनले उक्त माग राखेको हो ।
त्यस अवसरमा सदस्य–सचिव लामाले विद्यालयबाट खेलकुद सुरु गर्नुपर्नेमा विशेष जोड दिँदै त्यसो गर्न नसकिए खेलकुदको वास्तविक विकास सम्भव नहुने र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि खेलाडीले आशाअनुसारको उपलब्धि हासिल गर्न नसक्ने भएकाले विद्यालय खेलकुद अनिवार्य भएको बताए । ‘अबको खेलकुद विकास केबल विद्यालयबाट मात्र सम्भव छ । त्यसका लागि आगामी बोर्ड बैठकमा यो कुरालाई गम्भीरतापूवर्क छलफल गर्ने छौँ,’ सदस्य–सचिव लामाले भने । विद्यालय खेलकुद शिक्षक कोर्सका सन्दर्भमा सदस्य–सचिव लामाले कुनै स्थानीय स्थानमा ५० जना शिक्षक उपलब्ध भएको खण्डमा सोही स्थानमा पनि कोर्ष सञ्चालन गर्न राखेपले सहयोग गर्ने वचनवद्धता प्रकट गरे ।
विद्यालय खेलकुद शिक्षक कोर्ष सम्बन्धमा माघ दोस्रो सातादेखि चैतसम्म तेस्रो चरणको कोर्ष सम्पन्न गर्न अध्यक्ष राणाले आग्रह गरिन् । त्यस अवसरमा सदस्य–सचिव लामाले विद्यालय खेलकुद शिक्षक कोर्षको पुस्तक अध्यक्ष राणालाई प्रदान गरेका थिए ।
प्रतिक्रिया