ब्रिसबेन, १८ पुस । गत वर्ष सानदार लयमा रहेकी टेनिस खेलाडी सेरेना विलियम्स सन् २०१३ मा पनि विजयी सुरुआत गर्न सफल भएकी छन् । उनले ब्रिसबेन इन्टरनेसनल ओपनको दोस्रो चरणमा एलिज कोर्नेटलाई सोझो सेटमा पराजित गरिन् । सन् २०१२ मा विम्बल्डन, लन्डन ओलम्पिक र युएस ओपन जितेकी अमेरिकी सेरेना ६–२ र ६–२ को सहज नतिजाका साथ क्वार्टरफाइनलमा प्रवेश गरेकी हुन् ।
यता, मारिया सारापोभाले भने प्रतियोगिताबाट नाम फिर्ता लिएकी छिन् । चोटका कारण रसियन सुन्दरी सारापोभा यस प्रतियोगितामा सहभागी हुन नसकेको जनाइएको छ । दोस्रो चरणमा सन् २०११ को संस्करणकी विजेता पेट्रा केभिटोभाले हार बेहोरिन् । पाँचौँ वरीयताकी सारा एरानी डयानिएला हान्चुकोभाविरुद्ध पराजित भइन् । यसअघि पहिलो चरणमा सातौँ वरीयताकी सामन्था स्टसर र आठौँ वरीयताकी क्यारोलिन बोज्निएकीले हार बेहोरेका थिए । सारापोभाले जोखिम मोल्ने प्रयास नगरेको बताइन् । ‘अब १४ जनवरीबाट सुरु हुने अस्ट्रेलियन ओपनको तयारीमा जुट्नेछु,’ सारापोभाले भनिन् । सन् २०११ मा पहिलो ग्रान्डस्लाम उपाधिका रूपमा विम्बल्डन जितेकी केभिटोभा रसियाकी अनास्टासिया पेभ्ल्यिुचेन्कोभाविरुद्ध ६–४ र ७–५ ले पराजित भइन् । (एजेन्सी)
प्रतिक्रिया