अभिव्यक्ति स्वतन्त्रताको अवस्था कमजोर

काठमाडौं, १७ पुस । दण्डहीनताका कारण अभिव्यक्ति स्वतन्त्रता उपभोगको अवस्था कमजोर रहेको एक अध्ययनले देखाएको छ । साउथ एसियन मिडिया कमिसन (साफ्मा) ले सन् २०१२ मा साउथ एसियाको आमसञ्चारमा गरेको अनुगमनमा नेपालमा पनि प्रेस स्वतन्त्रताको अभ्यासमा कमजोर रहेको देखिएको छ । यो वर्ष साउथ एसियामा २५ जना पत्रकार मारिएका छन् । जसमा नेपालका दुईजना छन् ।

नीतिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता भए पनि विभिन्न कारणले त्यसको प्रयोग हुन नसकेको र सबैभन्दा समस्या पाकिस्तानमा रहेको अध्ययनले देखाएको छ । नेपालमा पनि अघिल्ला वर्षको तुलनामा पत्रकार र पत्रकारितामाथि आक्रमण र धम्कीका घटना बढेको नेपाल पत्रकार महासंघले जनाएको छ । सोमबार साफ्मा नेपालले गरेको साउथ एसियाको आमसञ्चारको अनुगमन प्रतिवेदन सार्वजनिक कार्यक्रममा महासंघका अध्यक्ष शिव गाउँलेले दण्डहीनताका कारण अभिव्यक्ति स्वतन्त्रता उपभोगको अवस्था कमजोर रहेको भन्दै २०१२ मा मात्रै नेपालमा प्रेस स्वतन्त्रता उल्लघंनका दुई सय ७१ वटा घटना भएको जनाएका छन् ।
यसमध्ये दुईको हत्या, एकको शंकास्पद मृत्यु, एक बेपत्ता, ४४ वटा आक्रमण र ४४ वटा धम्कीका घटना भएका छन् । त्यसैगरी, पत्रकारमाथि ७२ वटा दुव्र्यवहार, पत्रपत्रिका जलाइएका सात र सञ्चारमाध्यम माथि आक्रमण र धम्की १६, स्वतन्त्र पत्रकारितामा बाधा १३ र सञ्चारकर्मी र माध्यमका सवारीसाधनमाथि आक्रमणका ४३ वटा घटना भएको विवरण छ ।
यसबाहेक पक्राउ दुई, प्रकाशन तथा प्रसारण बन्द ६ र जागिरबाट निकाला २० वटा घटना छन् । सरकार र प्रतिपक्षमा बसेका दलहरूबाट, दल आबद्ध संघसंस्थाहरू, सार्वजनिक ओहोदामा रहेका व्यक्ति, सरकारी कर्मचारी र सुरक्षा संयन्त्रबाट पनि पत्रकारमाथि आक्रमण र धम्की दिने काम भएको महासंघले जनाएको छ ।
पत्रकारमाथि आक्रमण गर्ने, धम्क्याउने, दुव्र्यवहार गर्ने प्रवृत्तिले पत्रकारलाई भौतिक रूपमा असुरक्षित बनाइरहेको छ । सञ्चारकर्मीको सवारीसाधनमा आगो लगाइदिने, तोडफोड गर्ने, पत्रपत्रिकालाई दिने, सञ्चारमाध्यमका कार्यालयमा आगो लगाइदिने जस्ता कामले पत्रकारको आत्मविश्वास कमजोर बनाइरहेको महासंघको ठहर छ । ‘प्रेसमाथिका यस्ता ज्यादतीमा संलग्नमाथि बिरलै कारबाही हुने भएकाले पनि घटनामा कमी हुनसकेको छैन,’ अध्यक्ष गाउँलेले भने ।

प्रतिक्रिया