असदले सत्ता छाड्दैनन् : रुस

मस्को : सिरियाली सत्तामाथि विद्रोहीको जित नजिकिएको विश्लेषण चौतर्फी भइरहँदा पनि रुसले राष्ट्रपति बसर अल असदले सत्ता त्याग नगर्ने जनाएको छ । पद त्याग गर्ने अथवा देश छोड्ने मनस्थितिमा असद नरहेको जानकारी दिँदै रुसले शान्तिवार्ता आरम्भ गर्न असदको राजीनामा दिनुपर्ने अडान राख्दै आएका विद्रोहीलाई अडान फिर्ता लिनसमेत रुसले आग्रह गरेको छ ।
सिरियाका लागि राष्ट्रसंघीय शान्तिदूत लख्दर ब्राहिमीसँग शनिबार राजधानी मस्कोमा भएको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा रुसी विदेशमन्त्री सेर्गी लाभ्रोभले यस्तो बताएका हुन् । अन्तिम समयसम्म पदमा अड्ने अठोट राष्ट्रपति असदले बनाएको जानकारी उनले दिएका छन् । ‘अन्तिम समयसम्म पदमा रहेर सिरियाली जनता र सिरियाली सार्वभौमिकताको डटेर रक्षा गर्न उनले आफूलाई प्रतिबद्ध बनाएका छन् । उनी आफ्नो अठोटबाट टसमस हुन्छन् जस्तो लाग्दैन,’ लाभ्रोभले भने । यद्यपि, उनले सिरियाली सत्तामा असद कायम रहनैपर्छ भन्ने मान्यतामा रुस नरहेको प्रस्ट पारेका छन् ।
बाह्य आक्रमण गर्न सिरियालाई सघाउने उद्देश्यले रुसले दमास्कसलाई घातक हतियार उपलब्ध गराएको हल्ला निराधार रहेको उनले बताएका छन् । यसअघि भएको सम्झौताअनुरूप रुसले सिरियालाई हतियार उपलब्ध गराएको उनले प्रस्ट पारेका छन् । हवाई आक्रमणनिरोधी प्रणालीलगायत रक्षात्मक कारबाहीका लागि आवश्यक हतियार आपूर्तिसम्बन्धी सम्झौता यसअघि भएको र सोहीअनुरूप सिरियालाई हतियार उपलब्ध गराइएको उनले बताएका छन् । शीतयुद्धताका तात्कालीन सोभियत संघको सहयोगमा सिरियाले पाएका हतियार अझै सिरियाली शस्त्रागारमा रहेका भए त्यसको नैतिक जिम्मेवारी रुसले बहन गर्न नसक्ने उनले प्रस्ट पारेका छन् ।
स्मरण रहोस्, शीतयुद्धताका सिरिया मध्यपूर्वमा तत्कालीन सोभियत संघको दरिलो साझेदार थियो । अमेरिकाले इजरायललगायत राष्ट्रसँग मिलेर मध्यपूर्वमा गतिविधि सञ्चालन गर्दा रुसले सिरियालाई आधार बनाएर मध्यपूर्वमा शक्तिसन्तुलन कायम गर्न खोजेको थियो । सोभियत संघको विघटनपश्चात् रुसले पनि सिरियाली सत्तासँग निकट सम्बन्ध कायम गरेको थियो । अमेरिका, इजरायललगायत राष्ट्रसँग तीक्त सम्बन्ध रहेको सरियाले शीतयुद्धताका समेत घरेलु तथा बाह्य सुरक्षा जोखिमबाट बच्न रुसी हतियार खरिद गर्दै आएको थियो ।
पत्रकार सम्मेलनमा विदेशमन्त्री लाभ्रोभले पूर्वसर्त नराखी गरिने वार्तालाई रुसले स्वागत गर्ने बताए । ब्राहिमीसँगको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘पूर्वसर्तविना वार्ता आरम्भ गर्नुपर्छ भन्ने हाम्रो आग्रहविरुद्ध उनीहरूको (सिरियाली विपक्षीको) वक्तव्य पढ्दा म आश्चर्यमा परेँ । हामीले हाम्रो अडान परिवर्तन गरेर हाम्रो अडानका लागि सार्वजनिक रूपमा क्षमा मागेका खण्डमा मात्रै हामीसँग भेट गर्छौँ भन्ने उनीहरूको भनाइ रहेछ ।’
यसअघि रुसले सिरियाली सत्ता पराजित हुनसक्ने भनाइ राखेपछि राष्ट्रपति असदको दिनगन्ती सुरु भएको विश्लेषण गर्न थालिएको थियो । विद्रोहीहरूले सिरियाको उत्तरपश्चिम तथा पूर्वीक्षेत्रको ठूलो भूभागमा आफ्नो नियन्त्रण कायम गरेपछि रुसी उपविदेशमन्त्री मिखाइल बोग्दानोभले सिरियाली सरकार विद्रोहीबाट पराजित हुनसक्ने बताएका हुन् । त्यसअघि अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियाको विपक्षी परिषद्लाई सिरियाली जनताको वास्तविक प्रतिनिधिको मान्यता दिने घोषणा गरेका थिए ।
सिरियामा २१ म्हिनादेखि आन्दोलन र सशस्त्र विद्रोह जारी छ । यस क्रममा हालसम्म ४४ हजारभन्दा बढीको मृत्यु भएको मानव अधिकारवादीले जनाएका छन् । (एजेन्सी)

प्रतिक्रिया