किन लेख्ने ?

साहित्य किन लेख्ने, केका लागि लेख्ने भन्ने प्रश्न र तिनका अनेकौँ उत्तर सदा भइरहेका छन् । प्रश्न गर्ने र उत्तर दिनेको निरन्तरता टुटेको छैन । सदा बहस भइरहेको छ लेखनका हेतुबारे । लेखनका पछि कुनै न कुनै उद्देश्य हुनुपर्छ, पाठकले त्यसबाट केही विशेष कुरा प्राप्त गर्नुपर्छ भन्ने सामान्य मान्यता जहिले पनि रहन्छ । यस्तै मान्यतालाई आधार बनाई लेखिने गरेको पनि छ । अधिकांश लेखक आफ्नो लेखनको उद्देश्यका बारेमा केही न केही धारणा व्यक्त गरिरहेका पनि हुन्छन् ।
वास्तवमा जसलाई पनि एउटा भित्री जिज्ञासा रहन्छ नै । ऊ किन लेख्छ होला, भन्ने थाहा पाउनका लागि । तर, लेखनको अभीष्ट कहिले पनि प्रस्ट हुन सक्दैन । लेखक स्वयंले नै वास्तवमा ऊ किन लेखिरहेछ भनेर भन्न सकेको हुँदैन । उसले कहिले एक थोक भन्दै हुन्छ, कहिले अर्को थोक भन्दै हुन्छ । निरन्तर लेखिरहने लेखकले नयाँ–नयाँ विषयमा कलम चलाउने हुनाले उसको लेखनबाट उत्पन्न हुने सामग्रीको अभीष्टता सदा एकै रहन सक्दैन । लेखक आफूलाई कुनै खास विचार, समूह वा चिन्तनधर्मी देखिनका लागि केही भनिरहेको भए पनि उसको भनाइ र लेखनमा तादात्म्यता रहँदैन ।
आफूबारे आफैँ प्रस्ट हुन नसक्नु लेखकको आफ्नो कमजोरी हो । आफूबारे आफैँ प्रस्ट हुन खोज्ने वैयक्तिक प्रयत्न नै हो लेखन । लेखेर ‘म’ को रहेछु भनी थाहा पाउन चाहने व्यक्ति लेख्दा–लेख्दै लेखक भइसक्छ । पाठकको प्रिय भइसक्छ । सामग्रीको डंगुर लागिसक्छ तर उसले स्वयं आफूलाई ‘म कोचाहिँ रहेछु’ भन्ने बोध गर्न सक्दैन । लेख्दा–लेख्दा–लेख्दा लेखेरै कहिलै नथाक्ने महाकविले मृत्यु शैय्यामा लेखे– आखिर श्रीकृष्ण रहेछ एक, न भक्ति भो ज्ञान न भो विवेक ।
आफूलाई चिन्न खोज्ने देवकोटाले आफूलाई त चिनेनन्, तर एक अव्यक्त सत्यलाई चिने । जति जानेर पनि जान्न नसकिने, जति बुझेर पनि बुझ्न बाँकी रहने, त्यो असमापक, अनन्त र अव्यक्तताको अर्थ बुझेर त्यसलाई उनले एउटा नाम दिए ‘श्रीकृष्ण’ । यो उनले चिनेको श्रीकृष्ण आध्यात्मिक महाभारतीय एक चरित्र श्रीकृष्ण थिएन । यो त सृष्टिको अव्यक्तता, अविदितता अप्राप्यताको नाम थियो । मानिसको महत्त्वाकांक्षाको भोकको नाम थियो । तृप्तिको, अभिलाषाको नाम थियो । अनन्त प्राप्ति र उपलब्धिका पछि पनि त्यतिकै आशक्ति त्यतिकै आकांक्षा र लिप्सालाई बुझ्न नसकेको विगतको बुझाइ थियो ।
आफ्नो लेखाइको अभीष्टताबारे परशु प्रधान भन्छन्– ‘मेरो लेखनको कुनै उद्देश्य छैन । म प्रयोजनहीन, उद्देश्यहीन लेख्छु । मैले ‘स्वान्त सुखाय’ पनि लेखेको होइन, समाज सुधारका लागि पनि लेखेको होइन । मैले आफ्नो अभिव्यक्तिलाई कागजमा उतारेपछि त्यसको उद्देश्य वा नतिजा समाजले विभिन्न रूपमा लिएको हुन्छ । उदाहरणका लागि पहाडी खोलालाई लिन सकिन्छ, जसको काम बग्नु मात्र हो । यसरी बग्दा कति फाइदा, बेफाइदा, लाभा या हानी हुन्छ ऊ हेर्दैन । अर्थात् स्वाभाविकतामा, प्राकृतिकतामा ऊ बाँचेको हुन्छ । मेरो साहित्य लेख्नु पनि त्यस्तै हो ।’ (गरिमा, माघ ०५८)
परशु प्रधानको यो भनाइ पढ्दा बेकम्मा लाग्छ । लेखक पनि कहीँ प्रयोजनहीन, उद्देश्यहीन हुन्छ ? हुनु हुन्छ ? त्यस्तो लेखनको समाजलाई के उपयोगिता ? त्यसलाई पाठकले पढ्न किन समय खर्च गर्ने ? सहज उठ्ने यस प्रतिक्रियामा प्रचुर बहुमत प्राप्त हुन्छ तर एउटा लेखक आफूलाई किन उद्देश्यहीन, प्रयोजनहीन लेख्छु भन्छ ? किन ऊ स्वान्त सुखाय पनि वा समाज सुधार पनि आफ्नो लेखनमा हुल्न चाहँदैन ।
साहित्यलाई बिचारको भारी नबोकाऔँ भन्छन् इन्द्रबहादुर राई । र, वास्तवमा परशु प्रधानको भनाइमा एक इमान्दारिता छ । पाठकलाई र समाजलाई कृत्रिम सन्देश दिएर आफूलाई कुनै विशेष सालिकमा उभ्याउनुभन्दा मनको साँचो कुरा भन्न सक्नु कठीन काम हुन्छ । त्यो कठीन अभिव्यक्ति हो परशु प्रधानको ।
वास्तवमा लेखक आफैँमा केही पनि होइन, लेखकका माध्यमबाट जीवन, प्रकृति, समाज र समय अभिव्यक्त हुन्छ । त्यो अभिव्यक्त हुन चाहने तत्त्व कुन रूपमा आउन खोजिरहेको छ, त्यसको जानकारी लेखकलाई हुँदैन । ऊ त लेख्दै जान्छ, पात्रहरू आफैँ बोल्दै, गफ गर्दै जान्छन् । कति ठाउँमा लेखक आफैँ छक्क पर्छ पात्रहरूको संवाद र असोच्य घटनाहरू देखेर । विषय लेखकका माध्यमबाट प्रकाशित हुन खोजिरहेको हुँदा त्यसलाई लेखकले प्रसवकालको पीडा मात्र बोध गर्दछ, त्यसको रूप र क्षमताको पूर्वज्ञान उसलाई हुँदैन । प्राकृतिकतापूर्वक जसरी हावा, पानी, रुखपात, जीवन चलेको हुन्छ, त्यसकै प्रतिबिम्ब लेखनमा उत्रन्छ जो लेखकको अभीष्टतासँग सम्बन्धित रहन्नन् । लेखकको चाहनामा, उसको इच्छामा र उसको क्षमताभित्र लेखन बाँधिन सक्ने भए प्रत्येक लेखक एक महान् व्यक्तित्व बन्न चाहन्छ तर बन्छ ?
लेखनकार्य विगतमा उद्देश्यपरक पनि थिए, ध्येय र लक्ष्यपरक पनि थिए । समाज निर्माणका लागि पनि लेखिन्थे । तर, जब साहित्यमा मनोविज्ञानले प्रवेश पायो, साहित्यको प्रयोजन, उद्देश्य, अभीष्ट सब गौण भएर गयो । मनोविज्ञानको संसारमा पसेपछि नीति, कानुन, पाप, धर्म, अनुशासन सबै कुरा कमजोर हुँदै गए र पात्र, चरित्र, घटना र विषय स्वयं प्रधान बन्दै आए । पात्र, चरित्र, विषय र घटनाले प्रमुखता लिएपछि लेखक स्वयं पनि एक माध्यम मात्र बन्यो अभिव्यक्तिको ।
साहित्यमा प्रयोजन र उद्देश्यको खोजी स्वयं अब निस्प्रयोजित बन्न पुगेको छ । पात्रहरूले लेखकसँग प्रश्न गर्न थालेपछि साहित्य अब स्वयं जीवनसँग टाँसिन आएको छ र त्यसले के हुन चाहन्छ, लेखक जान्दैन ।

प्रतिक्रिया