ध्रुबे र बाबुराम

देशमा अहिले कि मत्ता धु्रबे हात्तीको चर्चा छ, कि त उन्मत्त बाबुरामको । यी दुईलाई जोडेर फेसबुक र ट्विटरका भित्तामा कमेन्टको ओइरो लाग्दै गर्दा पंक्तिकारको मनमा भने एउटा कुरो खड्किरह्यो । त्यो के भने के यी दुई एकअर्काबीच तुलना गर्नलायक छन् ? कहाँ ध्रुबे हात्ती, कहाँ बाबुराम † तर, ध्रुबे र बाबुरामको प्रसंग फेसबुकका भित्ताबाट सरेर पत्रपत्रिकामा लेख र कार्टुनका रूपमा अभिव्यक्त हुन थालेपछि भने अधीर मनले यस विषयमा चसोची धरै पाएन ।
बाबुराम आस्तिक होइनन्, न उनी मयलबाट उत्पन्न गजेन्द्र शिरधारी गणेश नै हुन् । बल, सामर्थ र बुद्धिमा उनी गणेशभन्दा चौगुना विराट बन्दै गएको प्रसंग यहाँ अप्रासंगिक भएकाले हालसालैको ‘ससुराली बचाऊ पत्रकार सम्मेलनमा’ बाबुरामले भनेकै शैलीमा ‘अहिले त्यतापट्टि नजाऔँ ।’
उता माडी र चितवानमा ध्रुबेले त्राहिमाम मच्चाउँदै थियो । यता, काठमाडौंको कठ्यांग्रिने जाडोमा सडक तताउनुको सट्टा घरभित्र हिटरअघि बसेर विपक्षी नेताहरू आ–आफ्ना तिघ्रा तताइरहेका थिए । हिटरको न्यानोमा बिछट्टै रमाएजस्तो देखिए पनि उनीहरूको मनस्थिति ‘हाँसेनी बोलेनी मन त रोइरनी’ जस्तै थियो । जब्बर बाबुरामले कुर्सी छोडे पो † बाबुरामको चाल देखेर रन्थनिएका कांग्रेस नेता मीनेन्द्र रिजालले बाबुरामको जब्बरपनको सटिक उपमा खोज्ने क्रममा ध्रुबे हात्तीको सहयोग लिएछन् र, भनेछन्– ‘बाबुराम र धु्रबे हात्ती उस्तै ।’
रिजालको कुरा सुनेपछि धु्रबेप्रति कतकता सहानुभूति जागेर आयो । धु्रबे र बाबुरामबीच कतिपय कुरामा समानता होलान् । तर, यत्तिकै आधारमा बाबुरामसँग ध्रुबेको तुलना गर्नु कुनै दृष्टिकोणबाट पनि जायज देखिँदैन । दुबैको संघर्षका गाथा उस्तै होलान् । जंगलमै हो, दुबैले शक्ति आर्जन गरेको । तर, बाबुरामको जंगल दिल्लीमा हुनु र साल तथा सखुवाका रुखको फेदमा अथवा गुफामा नभई यामानका कंक्रिट झाडीमा उनले बास लिएको कुराले यहाँ खासै ठूलो अर्थ राख्दैन । जंगलबाट मानव बस्तीमा पसेर धु्रबेले आतंक मच्चायो । गाउँलेका छातीमा उसले खुट्टा बजार्‍यो, सुँडले उनीहरूको गर्धन अठ्यायो, पसिनाले मक्काएको लगौँटीसरी उनीहरूको शरीर च्यात्यो । ध्रुबेकै शैलीमा कंक्रिटको जंगलबाट बाबुरामले पनि नेपाली गाउँबस्तीमा आतंक मच्चाए । निमुखा गाउँलेका कन्पटमा उनले गोली हाने, मुखमा किलो ठोकिदिए, आँखा फोडिदिए, ब्लेडले शरीर चिरिदिए । तर, ध्रुबेजस्तै आफँै गाउँ पुगेर होइन, वकिटकीमार्फत आदेश दिएर । आतंक मच्चाएपछि धु्रबेका नराम्रा दिन गन्ती सुरु भए । ध्रुबेमाथि ‘सुट अन साइट’ अर्डर दिइयो । तर, बाबुरामको भने खप्परै बलियो । कंक्रिटको जंगलबाट सिधै बालुवाटार महल छिर्न पाए । यस्तोमा क्षणिक अरण्यवासको समानता देखेर ध्रुबे र बाबुरामबीच तुलना गर्न कहाँ पाइन्छ †
धु्रुबे र बाबुरामले मच्चाएको आतंकको सघनता पनि छेउटुप्पो कतै मिल्दैन । १७ हजारको हत्या गरेका जब्बर बाबुरामसामु जाबो सातजना मार्ने ध्रुबेका के तुलना हुुनु ?
ध्रुबे र बाबुरामबीचको गतिलो समानता भनेको पूर्वाधार विनाशमा दुबैले हासिल गरेको पारंगत हो । भूमिगत कालमा बाबुरामले पुलदेखि टावरसम्म भ्याएजति जम्मै भत्काए । लागेको बानी त्यसै कहाँ छुट्थ्यो र ? प्रधानमन्त्री बन्नसाथ काठमाडौंका घर भकाभक भत्काउन उनी लागिहाले । ध्रुबेले सुँडले माडीका घर भत्काउँदै गर्दा डोजरले काठामडौंका घर भत्काउँदै थिए बाबुराम । माक्र्सवादी चश्माबाट हेर्दा दुईबीच रूपमा फरक देखिए पनि सारमा भने मनग्गे समानता देखियो । तै यही देखेर रिजालले उनीहरूबीच तुलना गर्ने धृष्टता गरेका हुन् कि ?
ध्रुबे र बाबुरामलाई जोड्नसक्ने एकमात्र सशक्त सेतु भनेको स्त्री जातिको उत्प्रेरणाबाट निसृत: व्यवहार हो । दुबै स्त्रीबाट परिचालित हुन रुचाउने । चन्द्रकली नाम गरेकी ढोईका लागि ध्रुबेले कत्रो जोखिम उठायो ? साह खान्दानका पारसदेखि कोइराला–जोस्ट खान्दानका रुबेलजस्ता सामन्ती राजकुमारहरूको अखडा ‘टाइगर टप्स’ होटलमा धावा बोलेर उसले आफ्नी प्रेयसीलाई मुक्त गर्‍यो । सर्वहारावादी र कम्युनिस्ट चरित्र भनेको यो पो हो । यसलाई पो भन्छन्– वर्ग चेतना । नवसंशोधनवाद र दक्षिणपन्थी अवसरवादमा फसेका बाबुराम ध्रुबेको क्रान्तिकारिता बुझेनन् रे लौ, ड्यास माओवादीले त ध्रुबेको जीवनदर्शनको मूल्यांकन गरेर उनको पक्षमा घनघोर जनमत सिर्जना गर्नुपर्ने होइन ?
तर, अहिलेलाई ध्रुबे–चन्द्रकली प्रसंगमै केन्द्रित होऔँ । चन्द्रकलीको मृत्यु भएपछि वियोग सहन नसकेर ध्रुबे रन्थनियो । कान्छी भित्र्याउन खोज्दा पापी संसारले रोकेपछि उसले एलान गर्‍यो– प्रेमको तगारो भाँच्नु असल प्रेमीको कर्तव्य हो । र, उसले हाकाहाकी दुनियाँलाई शत्रु बनाउने इरादा बनायो ।
प्रेमका लागि दुनियासँग शत्रुता मोल्ने साहस जुटाउने सवालमा भने ध्रुबे र बाबुरामबीच ठूलो समानता छ । पत्नी हिसिलाका लागि बाबुरामले के मात्रै गरेनन् ? लामा हात पार्ने हिसिलाको बानीलाई बेवास्ता गरेर आफ्नो ‘स्वच्छ छवी’ दाउमा लगाएनन् कि ? हिसिलाको उछित्तो काड्न खोज्ने मिडियालाई ‘आफूविरुद्ध सुनियोजित रूपमा क्याम्पेनिङ’ गरेको आरोप लगाएर रुष्ठ पारेनन् कि ? बालुवाटारदेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडसम्ममा ससुराली खालको हालीमुहालीलाई जानजान आँखा चिम्लिएर पार्टीका इमान्दार कार्यकर्ता र निजामती कर्मचारीलाई दुश्मन बनाएनन् कि ? हिसिलाका लागि गर्नसक्ने जति जम्मै गरे, बाबुरामले । त्यसैले प्रेमका मामिलामा ध्रुबेभन्दा बाबुराम रत्तिभर पनि कमजोर छन् भन्ने कसैले नसोचोस् । दुबै महान् प्रेमी हुन् ।
यद्यपि, ध्रुबे र बाबुरामबीच मनग्गे भिन्नता छन् र यसलाई नजरअन्जाद गरेर यी दुईबीच तुलना गर्नु सत्यको घाँटी निमोठ्नु सरह हो । आतंक मच्चाएको समाचार छापामा आएपछि धु्रबेप्रति सर्वत्र आक्रोश पैदा भयो । तर, प्रेमका खातिर दुनियाँलाई दुश्मन बनाउने साहस धु्रबेले जुटाएको जब थाहा भयो, भएभरको सहानुभूति उसमाथि ओइरियो । बरा बाबुराम † धु्रुबेको जस्तो पुर्पुरो उनको कहाँ रहेछ र † मुस्ताङ म्याक्स चढेर बालुवाटार छिर्दाको उनको उत्तेजना र शाख पत्नीप्रेमका कारण स्खलन भइसकेको छ । प्रेमले ध्रुबेलाई रातारात हिरो बनायो । तर, त्यही प्रेमले बाबुरामलाई ‘जिरो’ बनाएको छ । यहाँ खलिल जिब्रानले ‘प्रेमले तिमीलाई श्रीपेच पहिर्‍याउँछ, साथै झुन्ड्याउँछ पनि’ भनेको अभिव्यक्ति सम्झिनु वाञ्छनीय छ ।
‘टिट फर ट्याट’को माक्र्सवाद ‘थ्यौरी’ अनुशरण गर्ने सवालमा पनि धु्रबे र बाबुराम उस्तै जान्ने । ढोईसँग सम्भोग गर्न पाउने प्रकृतिपदत्त अधिकार खोस्ने पापी संसारलाई ध्वस्त पार्दिन खोज्यो ध्रुबेले । कुर्सीमा बस्न पाउने आफ्नो नैसर्गिक अधिकार हनन् गर्न खोज्ने र आफ्नो पत्नीप्रेमलाई महसुस गर्न नसक्नेमाथि बाबुरामले पनि ध्रुबेकै शैलीमा ‘टिट् फर ट्याट’ थ्यौरी लगाए । प्रेम ईश्वरको सबैभन्दा पवित्र प्रसाद मानिन्छ । भनिन्छ, प्रेमको सम्मान नगर्नेलाई मान्छेले नसके ईश्वरले दण्ड दिन्छ । ईश्वरीय अस्तित्व स्वीकार नगर्ने बाबुरामले ईश्वरको भूमिका आफैँ निर्वाह गर्न खोजेर के गल्ती गरे र ?
धु्रबेलाई ढाल्न एक ट्रक सेना जंगल पसेको खबर आउनसाथ अर्को खबर बेपत्तासँग फैलियो– धु्रबे भारत पस्यो रे † भारतको नाम सुन्नसाथ धेरैले बाबुरामलाई सम्झिए । मनमनै पंक्तिकारले सोच्यो, खुला सीमाको उपयोग गर्दै भारत पसेर ध्रुबेले कमसेकम दुई देशबीच फरक राजनीतिक अस्तित्व रहेको स्वीकार त गर्‍यो । बाबुरामको ‘मर्ज’ अथवा ‘सबमर्ज थ्यौरी’ र राष्ट्रियताप्रति ध्रुबेको सजगताबीच तुलना गर्दा ध्रुबेप्रति श्रद्धाले मेरो त शिर एकाएक झुक्न पुग्यो । राष्ट्रियता कुन चराको नाम हो भन्ने धु्रबेबाट सिकून् बाबुरामले । तर, सँगसँगै नजानिँदो डरले मन कम्पयमान पनि भयो । पागल प्रेमीले पारि पुगेर कुनै बिहारीको सत्यानाश त गरेन ? यदि गर्‍यो भने नेपालबाट भारतमाथि सुरक्षा खतरा आइलागेको निष्कर्षमा नयाँदिल्ली पुग्ला र, यस्ता आतंकवादी क्रियाकलाप रोक्न सुपुर्दगी सन्धिमा हस्ताक्षर गर्न उसले बाबुरामलाई दबाब देला । अझ आफ्नै सेना नेपाल छिराएर ध्रुबेहरूलाई भुटेर सिध्याउने मनसुबा बनाउला । अर्को दिन ध्रुबे चितवनकै जंगलमा छ भनेको सुनेपछि मात्रै मन हलुँगो भयो ।
चितवानको जंगलमा अहिले लुकामारी चलिरहेको छ । ध्रुबे दुनियाँको आँखा छल्दैछ । ‘सुट अन साइट अर्डर’ खोकिलामा बोकेर बन्दुकधारीहरू ध्रुबेलाई सिध्याउन धुइँपत्ताल खोजिरहेका छन् । जुनसुकै बेला ऊ तातो गोलीको सिकार बन्न सक्छ । बाबुरामको जस्तो भाग्य कहाँ रहेछ र ध्रुबेको ? विदेशी प्रभुको आशीर्वाद पाएको भए ध्रुबेको अवस्था यस्तो दयनीय हुँदैन थियो होला । यस्तो निरीह धु्रुबेसँग मीनेन्द्र रिजाले बलिया र चतुर बाबुरामको तुलना गरेको उनीजस्तै कांग्रेसीलाई चित्त बुझ्ेको होला, तर पंक्तीकारलाई चाँहि यसो गरेको पटक्कै जँचेको छैन ।

प्रतिक्रिया