होस खुल्दा मुम्बईको कोठीमा

एक्कासि होस खुले जस्तो भयो उनलाई । चारैतिर आँखा दौडाईन । अहँ..यो त उनको कोठा हुँदै होइन । सबै कुरा नौला छन् । डरले थरर्र थर्कियो शरीर, आत्तिएर बोली पनि थर्थराउन थाल्यो । हेरिन्, आफ्ना बाबुआमा कतै देखिन्छन् कि । बोलाइन । एउटी अजंगकी अपरिचित आइमाई पो आइपुगी । ‘म काहाँ छु ?’ सायद उनी सोध्न चाहन्थिन् । तर त्यो आइमाईले उनको मनोदशा सोध्ने छेकछन्दै देखाइन । बरु उल्टै घिच्याउँदै लगेर अर्को कोठामा थुनिदिई । मानौं, त्यो आइमाईका लागि यी दृश्य दिनहुँका हुन्, अनि नियमित क्रियाकलाप । माउबाट छुटाईएको बाख्राको पाठोले चिच्याएर दिक्क लाएपछि रिसले खोरमा थुनिदिएजस्दै गरी उसले । उनी झन् आत्तिन थालिन् । रोइन्, कराइन् । आजित भएर थचक्क भुँमा बजारिन् । अनि गम्न थालिन्– आखिर म कसरी यहाँ आइपुगें ।
२०५१ सालतिरको कुरा हो यो । १३ बर्षे किशोरी थिईन् सुनिता दनुवार । उनी पाँच बर्षकी छँदादेखि उनको परिवार भारतको हिमाञ्चल प्रदेशस्थित जम्मुकाश्मिरमा बस्थ्यो । आमाका १० सन्तानमध्ये ६ जना विते । दुई दिदी, सुनीता र एक दाइ मात्र जीवित रहे । जग्गाभाडामा लिएर आलुखेती गर्थे जीविकाका लागि । पराई ठाउँ विराना मान्छेका बीच आफन्तैले घात गरे उनीहरुलाई । काका पर्नेले उनका दाजुलाई बेपत्ता पारिदिए । भएभरको सम्पत्ति छाडेर छोरो खोज्दै परिवारयताउता भौँतारिना थाल्यो । खर्च सकियो । गिटी कुटेर बेच्न थाले । मनभरि दाजु हराएको पीडा रहे पनि बैंस फक्रँदै थियो सुनीताको । त्यतैतिर ट्रयाक्टर चलाउने दुई नेपाली केटाको गिद्धेदृष्टि प¥यो किशोरी यौवनमाथि । फकाउने प्रयास गरे, सुनीता मान्दै मानिनन् । नेपालीभाषी हुनुको फाइदा उठाउँदै उनको परिवारसँग नजिकिने दाउ छोपे । बाबुआमालाई फकाए– ‘तपाईका छोरालाई हामी खोजिदिइहाल्छौ नि ।’ बाबुआमाको आँत न्योनो भयो । ती अपरिचित उनीहरुलाई अब आफ्नैजस्ता लाग्न थाले ।

छोरो खोज्न नैनीतालतिर जाँदै थिए उनीहरू । ती केटाहरू सहयोग गरेको ढोङमा उनीहरूकै पछिपछि लागे । एउटै होटलमा बास बसे । बेलुकीको खाना खाइसकेपछि उनीहरूले सुनितालाई भने– ‘ल यो मिठाई खाऊ ।’ उनलाई पटक्कै मन पर्दैनथ्यो तिनको बेहोरा, मिठाई पनि खान मानिनन् । ‘दाइहरूले दिएको खाँदा के हुन्छ त, खाऊ †’ बुबाले नै यसो भनिसकेपछि भने उनले नकार्न सकिनन् । खाइदिइन् । त्यसपछि भर्खरै हो उनको होस खुलेको, त्यो अपरिचित कोठाभित्र ।
किंकर्तव्यविमूढ भएर झोक्राइरहेकी थिइन् उनी । ढोका बाहिरबाट घरक्क उघ्र्याे । एउटी आइमाई छिरी । अनि दासीलाई जसरी उनलाई निर्देशन दिन थाली– ‘ल अब नुहाइधुवाइ गर्ने, कपाल काटेर चिटिक्क हुने अनि मेकअप गरेर धन्दाका लागि तयार हुने †’ धन्दाको अर्थ घरायसी काम भन्ने बुझिन् उनले । लख काट्न थालिन्– ‘मलाई यहाँ नोकर्नी राख्न लागेछन् क्यारे † तर कसले ल्यायो मलाई यहाँ, किन केही थाहा भएन ?’ आइमाई उनलाई हेरिरहेकै थिई । सुनीताले अनुनय गरिन्– ‘गर्दिनँ म धन्दासन्दा, मलाई मेरै आमाबा भएको ठाउँमा पुर्‍याइदिनुस् न, कसरी यहाँ आइपुगेँ मलाई थाहा छैन, जान दिनुस् मलाई ।’ आइमाईले उसको एक सुनिन । फेरि जोडले बाहिरबाट ढोका लगाइदिएर हिँडी ऊ ।
केहीबेरपछि अर्की आइमाई आएर फकाउन थाली– ‘हेर् यहाँ आइसकेपछि मानिसलाई खुसी बनाउनुपर्छ, यसैलाई धन्दा भन्छन्, तँ अहिले बम्बैमा छेस्, तेरा दाइहरूले तँलाई यहाँ बेचेर गइसके ।’ मुम्बई शब्द सुनेर झनै आत्तिइन् उनी । अब आफू बेचिएकोमा कुनै शंका रहेन उनलाई । बुझिन् धन्दाको अर्थ– अपरिचितहरूसँग गर्नुपर्ने यौनसम्पर्क, देहको व्यापार † एकाएक शरीर आगोको मुस्लोभित्र छिर्न लागेजस्तो अनुभूति भयो । पछुताइन्– होटेलमा खाएको त्यो बेहोस बनाउने मिठाई अनि आफ्ना बाबुआमाले दाइ भन्न लगाएका ती दुई राक्षसलाई सम्झिएर । आखिर मान्छेको पीडा देखेर मान्छेको मन पग्लन्छ कि ? त्यो आइमाईसमक्ष सकेजति मुक्तिको कामना गरिन् उनले । आइमाई त झन् पो चर्कन थाली–‘अब तैँले नगरे तेरी आमाले आएर गर्छे त धन्दा ? तँलाई हामीले पैसा हालेर किनेका । कि त्यो पैसा तिर्, नत्र धन्दा गर्न तयार हो ।’
अस्मिता जोगाउने अनेकौँ प्रयास गरिन्, सुनिताले । उनी जति कठोर प्रयास गर्थिन्, दिइने यातना उति नै कठोर हुन्थे । जलिरहेको चुरोट उनको शरीरमा ठोसिन्थ्यो । एक दिन कोठीकै म्यानेजर उनको कुमारीत्व हरण गर्ने सुरले कोठामा छिर्‍यो । नमानेपछि घाँटीमा खुकुरी तेस्र्यायो– ‘मानिनस् भने तँलाई टुक्राटुक्रा पारिदिन्छु, यहाँ तँलाई कसैले चिन्दैन, मतलब पनि राख्दैन ।’ सुनितालाई मृत्युभन्दा अस्मिता प्यारो लाग्यो– ‘काटे काट्, मार् मलाई तर यो काम त गर्दै गर्दिनँ ।’
केही नलागेपछि त्यो कोठीले उनको सम्झौता अर्को कोठीसँग गरेछ, एक लाख रुपियाँमा । नयाँ कोठीमा झनै गाह्रो भयो उनलाई । भाग्ने र आत्महत्यासम्मको प्रयास गरिन् । कडा निगरानीका कारण सफ हुन सकिनन् । आखिर नियतिसँगको घम्साघम्सीमा हारिन् उनी । पेटका लागि ‘धन्दा’ मा सामेल हुन बाध्य बनाइन् । ‘नमानेपछि ग्याङ रेप गराइयो, नाइट होल्ड गराइयो’, सुनिता सम्झँदै छिन्, १७ वर्षअघिको त्यो पल । नयाँ कामसँगै नयाँ नाम दिइएको थियो उनलाई– उषा । ६ महिना कोठीमा बसिन् । सुनाउँछिन्– ‘बढीजसो नाइजेरियन, इराकी र भारतीय ग्राहक आउँथे । भारतीय प्रहरीका हाकिम, नेता, व्यवसायी र प्रतिष्ठित व्यक्ति पनि आउँथे ।’ उनी बसेको कोठीमा नेपालीहरूलाई चाहिँ प्रवेश गराइएको थिएन, चिनेर लैजालान् भनेर । बिरामी पर्दासमेत कोठीकै सम्पर्कमा रहेका डाक्टर मात्र आउँथे । नेपालीका कोठीमा नेपाली अनि बंगालीको कोठीमा प्राय बंगाली र भारतीय आउने गर्थे । सुनिता सम्झन्छिन्– ‘कोठी दुई किसिमका हुन्थे– बंगला र फिरोज । बंगला महँगो हुन्छ, त्यहाँ राम्राराम्रा केटी भिआईपी पाराले छानेर राखिएका हुन्थे । २०५२ तिरै बंगलामा विदेशीहरूलाई एक पटकको २ हजार र स्वदेशीलाई ३ सय मूल्य तोकिएको हुन्थ्यो । फिरोजचाहिँ सस्तो हुन्थ्यो, २० देखि ५० रुपियाँ । त्यहाँ केटी आपैँm ग्राहक तान्न जान्छन् ।’
पलपल नारकीय अनुभूतिसाथ बित्दै थिए सुनिताका पलहरू । छटपटिन्थिन् । निदाउन सक्दैनथिन् । ‘पलपल मरेर बाँच्या हो, त्यहाँ त । आफूलाई सन्चो नहुँदा पनि अरूलाई शरीर जिम्मा लगाउनुपर्ने । मिन्स हुँदा त्यस्तो रिलेसन राख्दा झनै गाह्रो हुन्थ्यो । सास फेरे पनि घरीघरी मरिरहन्थेँ, त्यस्तो अवस्था कसैले भोग्नुनपरोस् ।’ सन् १९९६ मा भारतको महाराष्ट्र सरकारले मुम्बैको कोठीमा रहेका १८ वर्ष मुनिका किशोरीलाई ‘रेस्क्यु’ गर्ने आदेश दिएपछि उनको मुक्तिको ढोका खुल्यो । कोठी मालिक्नीले उनलाई लुकाउने प्रयास नगरेकी त कहाँ हो र ? तर सफल भइन । सुनिताका लागि खुसी बोकेर आए पुलिसहरू, उनीसहितका १२ किशोरीलाई नियन्त्रणमा लिइहाले । भारत, बंगलादेश र नेपालका गरी ५ सय किशोरी मुक्त भए त्यतिखेर ।
बंगलादेशले आफ्ना चेली जिम्मा लियो । तर, सुनितासहितका ३५ नेपाली किशोरी भने मुम्बैको चैनपुरस्थित सरकारी गृहमा ७ महिना थन्किनुपर्‍यो । नेपाल सरकारले उनीहरू आफ्ना नागरिक नभएको बताइदियो । सानैमा बेचिएका कारण उनीहरूसँग नागरिकता थिएन । ‘सरकारी गृहमा पनि निकै हेला गरे’, भन्छिन्– ‘सेक्स मात्रै गरेनन् । अरू व्यवहार त कैदीलाई भन्दा पनि अभद्र थियो ।’ एउटी साथीले त्यहीँ ज्यान गुमाई, एचआइभी पोजिटिभ भएका कारण । उनीहरूले मिलेर उसलाई अस्पताल पुर्‍याउन खोजे । कसैले उनीहरूलाई दुख्ने गरी भन्यो– ‘तिमीहरूचाहिँ कुन सत्य सावित्री हौ र ? भोलि तिमीहरू पनि यसरी नै मर्नुपर्छ । बरु अहिल्यैदेखि तयारी गर, सजिलो हुन्छ ।’
त्यहाँ उनीहरू अनेकौँ हल्ला सुन्थे– एड्सको पोको नेपाल भित्रन्छ भनेर सरकारले उनीहरूलाई आउन नदिएको रे † सरकारी गृहभित्रको पीडादायी जिन्दगी अनि नेपाल सरकारको यस्तो व्यवहार देखेपछि उनीहरू त्यहाँबाट भागे । सबै किसिमका आश मारे । केही समयपछि मावअधिकारवादी गौरी प्रधान उनीहरू भएको ठाउँमा पुगे । पुरुषबाट सताइएका उनीहरूले प्रधानलाई पनि विश्वास गरेनन् सुरुमा । भन्न थाले– ‘तँ पनि हामीलाई बेच्न आएको होलास् होइन ? कतिमा बेच्छस् भन् †’ सुनिता सुनाउँछिन्– ‘यसो भनिरहँदा उहाँ केही नबोली बसिरहनुभयो । गाली गर्दागर्दा ऊर्जा सकियो । अनि उहाँले भन्नुभयो– म तिमीहरूलाई नेपाल फर्काउन आएको हुँ, बेच्न होइन ।’
विभिन्न एनजिओमार्फत १ सय २८ जना किशोरीलाई नेपाल ल्याउन पहल भयो । त्यति बेला बलिउड नायक सुनील सेट्टीले सेभ द चिल्ड्रेनको सहयोगमा उनीहरूका लागि प्लेन बुक गराइदिएका थिए । उनीहरू नेपाल त आइपुगे । तर, त्यसअघि नै आइपुगिसकेको थियो, नकारात्मक प्रचार । भारतबाट ‘१ सय २८ जना किशोरी आउँदै छन्’ होइन, बम्बईका वेश्याहरू नेपाल आउँदै भनेर प्रचार गरिएको थियो ।
एक्लै सामाजिक रूपमा स्थापित हुन सहज थिएन उनीहरूलाई । त्यसैले १३ जनाले नछुट्टिई सँगै बस्ने निर्णय गरे । मानवअधिकारवादी डा. रेणु राजभण्डारीले उनीहरूको जिम्मा लिइन् । पहिले उनीहरूको एचआइभी टेस्ट गरियो, वीर अस्पतालमा । ७ जनालाई एचआइभी पोजिटिभ देखियो । रुवाबासी चल्यो । तर, अब रुनुको अर्थ पनि थिएन । रेणुले उनीहरूलाई विभिन्न तालिमको मेसो मिलाइदिइन् । सामूहिक रूपमै संघर्ष सुरु गरे सुनिताहरूले । तालिमले उनीहरूमा आत्मविश्वास जगाइदिएको थियो । उनीहरूले नयाँ अठोट गरे– हामी त झुक्याइएर बेचिएका पो हौँ त, हाम्रो के दोष ? किन लुकेर बस्ने ? बरु चेलिबेटी बेचबिखनको विरुद्धमा अभियान सुरु गर्छौं । दलालहरूलाई समाजबाट खेदेरै छाड्छौँ ।
सुनिताहरूले आँसुलाई शक्तिमा बदले । संस्थागत रूपमै अघि बढ्ने योजना बुने । तर, संस्था दर्ता गर्न उनीहरूसँग नागरिकता थिएन । सबै जना उनीहरूलाई उडाउँथे । जिप्रका पुग्दा सिडिओले भनेका यी वचन बिर्सेकी छैनन्, सुनीताले– ‘संस्था दर्ता गराउन त डिग्री पढेको हुनुपर्छ । त्यसमाथि तिमीहरू त साना पनि छौ । देख्नमा राम्रै छौ, बरु रेस्टुरेन्ट–बारतिर जाओ, त्यतै तिमीहरूलाई हुने काम पाउँछौ ।’ यस्ता वचनबाट हताश भएनन् उनीहरू । संघर्ष गर्दागर्दै आखिर २०५७ सालमा शक्ति समूह दर्ता गरेरै छाडे । मानव बेचबिखनविरुद्धको अभियान मुलुकभरि फैलाए । अहिले सबैले उनीहरूको कामको प्रशंसा गर्छन् । सरकारले थुप्रैचोटि शक्तिसमूहलाई सम्मानित गरिसकेको छ । नागरिकताकै लागि यहाँ आएर बिहे गरिन् सुनिताले । तर, वैवाहिक पाटोबारे उति खुल्न चाहन्नन् ।
१३ वर्षको उमेरमा कोठीमा पुर्‍याइएकी तिनै सुनिता अहिले अध्यक्षका रूपमा शक्ति समूहलाई हाँकिरहेकी छन् । गैरसरकारी संस्था महासंघकी केन्द्रीय सदस्य पनि हुन् ।
कोठीबाट फर्किएपछि सुनिताले आफ्ना आमाबुबालाई भेट्न खोजिन् । तर, उनीहरू खसिसकेछन् । केही महिनाअघि हराएका दाजु चाहिँ फेला पारिछन् उनले ।

प्रतिक्रिया