रक्सीले मुटुको उपचार †

सामान्यतया रक्सीलाई कुलतका रूपमा हेरिन्छ । यसले पैसा र जिन्दगी दुवै नाश गर्ने चेतनामूलक विज्ञापन स्वास्थ्य मन्त्रालयले प्रवाह गरिरहेको हुन्छ । तर, बेलायतमा भने रक्सीले एक मान्छेको ज्यान बचाइदिएको छ ।
ब्रिटेनका ७७ वर्षीय नागरिक रोनाल्ड एल्डमको मुटुको धड्कन असामान्य रूपमा तीव्र हुन थालेपछि उनी अस्पताल पुगे । भेन्ट्रिकुलर टेंकिकार्डिया नामक यो समस्यालाई बेलैमा उपचार नगरे व्यक्तिको ज्यानै जान सक्छ । डाक्टरहरूले यो समस्याका लागि सधैँ गरिरहेजस्तो उपचार प्रक्रिया सुरु गरे तर रोनाल्डको व्यथा झन् चर्कन थाल्यो ।
अन्त्यमा डाक्टरहरूले अनौठो तरिका अपनाए । ती व्यक्तिको शरीरमा नियन्त्रित रूपमा इन्जेक्सनमार्फत शुद्ध एथेनाल अर्थात् रक्सी पठाए । ताकि उनको मुटुको रोगसंक्रमित मांसपेशी नष्ट गर्न सकियोस् । यसका लागि डाक्टरहरूले उनको कम्मर र जाँघको बीचमा रहेको एक धमनीको अध्ययनमार्फत मुटुको कुन भागमा तेज रफ्तारले रक्तप्रवाह भइरहेको छ भन्ने पत्ता लगाए । त्यो भागलाई रक्सीको प्रयोगले नष्ट गरेर नियन्त्रणमा लिन सकिने ठहर्‍याए ।
नभन्दै यो उपचारविधि अपनाएको केही समयपछि नै रोनाल्ड पहिलेभन्दा बढी फुर्तिलो र चुस्त–स्फूर्त हुन पुगेको डाक्टरहरूले बताएका छन् । रोनाल्डले भनेका छन्– ‘अहिले म ठीक छु, डाक्टरहरूले यो उपाय नलगाएका भए सायद म रहँदैनथेँ ।’ (एजेन्सी)

प्रतिक्रिया