यहि सरकारमा सहभागी हुँदैनौं : रिजाल

काठमाडौं, १० पुस । कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले प्रधानमन्त्री बाबुराम भट्टराईको सम्मानजनक बर्हिगमनका नाममा वर्तमान सरकारमा आफूहरु सहभागी हुने विषय असम्भव रहेको बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा नेता रिजालले निर्वाचनको मिति, बाधा अड्काउ फुकाउ, क्षेत्र निर्धारणलगायतका कुरा निकालेर एमाओवादीले सहमतिमा भाँजो हाल्न थालेको आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो नेतृत्वमा कांग्रेसको सहभागिताको कुरा उठाएर सहमति भाँडेका छन् ।’
कांग्रेसलाई आर्कषक मन्त्रालयको प्रस्ताव गरेर पार्टी फूटाउने षडयन्त्र प्रधानमन्त्री भट्टराईले गरेको भन्दै नेता रिजालले आफूहरु सत्ताका लागि सिद्धान्त भन्दा बाहिर नजाने बताए ।
उनले बाधा अडकाउन फुकाउने र आफ्नो नेतृत्वमा कांग्रेस, एमाले आउनु पर्छ भन्ने कुरा आफ्नो सत्ता लम्बाउन षड्यन्त्र भन्दा अरु केही नभएको उल्लेख गरे । उनले भट्टराईको सम्मानजनक बर्हिगमनका पक्षमा रहे पनि एमाओवादीको सर्वसत्तावादको मतियार बन्न कांग्रेस तयार नरहेको स्पष्ट पारे ।

प्रतिक्रिया