“उत्तर कोरियाले अमेरिकामा क्षेप्यास्त्र हान्न सक्छ”

सोल : अमेरिकी भूमिमै परमाणु क्षेप्यास्त्र प्रहार गर्नसक्ने क्षमता उत्तर कोरियाले विकास गरेको दाबी दक्षिण कोरियाले गरेको छ । केही साताअघि रकेट प्रक्षेपण गरी भू–उपग्रह तैनाथ गर्न उत्तर कोरिया सफल भएको घटनाले अमेरिकी भूमिमै निसाना साध्ने क्षमता उत्तरले विकास गरेको देखिएको दक्षिणले जनाएको छ ।
उत्तर कोरियासँग लामो दूरीसम्म मार हान्नसक्ने क्षमता विकास नहोस् भन्नेमा अमेरिका चनाखो रहँदै आएको छ । तर, दक्षिण कोरियाली अधिकारीको भनाइलाई आधार मान्ने हो भने १० हजार किलोमिटर परसम्मको क्षेत्रलाई आक्रमणको तारो बनाउन सक्ने क्षमता उत्तर कोरियाले हासिल गरेको छ । यदि ती अधिकारीको दाबी सत्य हो भने आवश्यक परेको बेला उत्तर कोरियाले अमेरिकाको पश्चिमी तटीय क्षेत्रमा परमाणु क्षेप्यास्त्र खसाउन सक्छ । उत्तर कोरियाले रकेट परीक्षण गरेपछि अमेरिका र उसका साझेदार राष्ट्र चिन्तित भएका छन् । सफल परीक्षण गरेर उत्तर कोरियाले क्षेप्यास्त्र विकास र तैनाथका क्षेत्रमा उल्लेख्य फड्को मारेको विश्लेषकको भनाइ छ ।
उत्तर कोरियाको सैन्य क्षमताको चर्चा गर्दै एक औपचारिक कार्यक्रममा दक्षिण कोरियाली प्रतिरक्षा मन्त्रालयका एक अधिकारीले शनिबार भने, ‘उत्तर कोरियाले उन्हा–३ रकेट सफलतापूर्वक प्रक्षेपण गरेपछि पाँच सयदेखि ६ सय केजीको मुखास्त्र (वारहेड) १० हजार किलोमिटर परसम्म प्रहार गर्नसक्ने क्षमता उसले हासिल गरेको हाम्रो विश्लेषण छ ।’ अमेरिलाई ‘युद्ध भड्काउनेको नाइके’को संज्ञा दिँदै अमेरिकासम्म प्रहार गर्नसक्ने क्षमताको क्षेप्यास्त्र निर्माण गर्न उत्तर कोरियाले लामो समयदेखि प्रयास गर्दै आएको छ । डिसेम्बर १२ मा प्रक्षेपण गरिएको रकेटमार्फत जलवायुसम्बन्धी सूचना दिने भू–उपग्रह तैनाथ गरिएको दाबी उत्तर कोरियाले गरे पनि अमेरिकी विश्लेषकले भने अमेरिकासम्म मार हान्नसक्ने प्रविधि विकास गर्ने दिशातर्फको कदमका रूपमा यसलाई लिएका छन् ।
सन् २००६ र २००९ मा उत्तर कोरियाले परमाणु हतियार परीक्षण गरेपछि उत्तर कोरियाले अब उप्रान्त क्षेप्यास्त्र अथवा परमाणु परीक्षण गर्न नपाउने प्रतिबन्ध राष्ट्रसंघले लगाएको छ । राष्ट्रसंघ सुरक्षापरिषद्ले औपचारिक रूपमै उत्तर कोरियाको परमाणु हतियार परीक्षणको भत्र्सना गरिसकेको छ । (एजेन्सी)

प्रतिक्रिया