विद्यार्थी पिट्नेलाई कारबाहीको माग

राजविराज, ९ पुस । गृहकार्य नगरेको आरोपमा १२ वर्षीय बालकलाई रूखमा बाँधेर निर्घात कुटपिट बोर्डिङका प्रिन्सिपललगायत कर्मचारीलाई कारबाही गरिएको छ । राजविराज–६ स्थित प्राइम होलिक्रस इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल, शिक्षक तथा स्टाफलाई कारबाही गर्न चौतर्फी दबाब परेको हो ।

आइतबार बालकका अभिभावकसहितको टोलीले सिडिओ हरिराज पन्तलाई भेटेर घटनाको न्यायिक छानबिन, दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गरेको छ । बोर्डिङका प्रिन्सिपल सञ्जयकुमार शर्मा, शिक्षक दीपककुमार ठाकुर तथा पियनसमेतले कक्षा–६ का विद्यार्थी सन्दीपकुमार मण्डललाई शुक्रबार गृहकार्य नगरेको भन्दै रूखमा बाँधेर बाँसको भाटाले निर्घात कुटपिट गरेका थिए । अभिभावकले सिडिओ पन्तलाई भेटेर बालकमाथि भएको घटना क्रूर र अमानवीय भएको भन्दै घटनामा संलग्नलाई तत्काल कारबाही माग गरेका छन् ।
पीडित बालकका बाबु हरि मण्डलले छोरालाई पढ्नका लागि विद्यालय भर्ना गरे पनि शिक्षकहरूबाटै पशुसरह कुटपिट भएकाले घटना दोहोरिन नदिन कुटपिटमा संलग्नलाई कारबाहीको माग गरे । बालअधिकारको क्षेत्रमा कार्यरत युवा सशक्तीकरण संघ नेपालले सिडिओ पन्तलाई आइतबार ज्ञापनपत्र बुझाएको छ ।
संस्थाका अध्यक्ष किशोरकुमार यादवले जिल्ला बाल कल्याण समितिका अध्यक्षसमेत रहेका पन्तसमक्ष बुझाएको ज्ञापनपत्रमा बालकले जीवनको लक्ष्य हासिल गर्ने पहिलो खुड्किलो विद्यालयलाई विद्याको पवित्र मन्दिरको सट्टा यातनागृह बनाउने काम भएको भन्दै घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गरिएको छ । ज्ञापनपत्रमा बालकमाथि भएको कुटपिट बालअधिकार महासन्धिको धारा १९ विरुद्ध रहेको र बालबालिकासम्बन्धी ऐनसमेतको उल्लंघन भनिएको छ ।
ज्ञापनपत्र बुझ्दै सिडिओ पन्तले विद्यालयमा विद्यार्थीलाई बाँधेर कुटेको विषयमा जानकारी पाएलगत्तै आफूले जिल्ला बालकल्याण समितिको बैठक बोलाएको र बैठकको निर्णयअनुसार अघि बढ्ने बताए । पन्तले भने, ‘सोमबार बस्ने बैठकले गरेको निर्णयअनुसार दोषीलाई कारबाही हुन्छ ।’

प्रतिक्रिया