अमेरिकाले रुसी धर्मसन्तान राख्न नपाउने

मस्को : रुसी संसद्को तल्लो सदनले रुसी बालबालिकालाई धर्मसन्तानका रूपमा अमेरिकी नागरिकले लैजान नपाउने कानुन पारित गरेको छ । यसले रुसी बालबालिकालाई हानि पुग्ने प्रतिक्रिया अमेरिकाले दिएको छ ।
रुसी संसद्को तल्लो सदन ‘स्टेट डुमा’ले विधेयकमा छलफल नगरी कानुन पारित गरेको हो । शुक्रबार भएको मतदानमा विधेयकको पक्षमा ४ सय २० मत परेको थियो भने विपक्षमा सात मत परेको थियो । विधेयकको विरोधमा संसद्भवनबाहिर प्रदर्शन भएको थियो । यसलाई संसद्को माथिल्लो सभाले बुधबार पारित गर्ने र यो राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष हस्ताक्षरका लागि प्रस्तुत हुने बताइएको छ । राष्ट्रपति पुटिनले पनि आफूले यस विधेयकमा हस्ताक्षर गर्ने बताएका छन् । नयाँ कानुन जनवरी १ देखि
लागू हुनेछ ।
अमेरिकी नागरिकले प्रतिवर्ष करिब एक हजार रुसी बालबालिकालाई धर्मसन्तानका रूपमा अमेरिका लग्ने गरेका छन् । नयाँ कानुनले अमेरिका र रुसबीचको सम्बन्धमा थप तिक्तता बढाउने अनुमान गरिएको
छ । (एएफपी)

प्रतिक्रिया