नेपाली समाजको चिरफार

सोह्र वर्षको समय, आठवटा कृति अनि सोह्रै पुरस्कार । रवीन्द्र समीरका उपलब्धि । त्यो पनि सयौँ, हजारौँ बिरामीका नाडी छाम्ने व्यस्तताका बाबजुद निकालेको समय । सहज कहाँ छ ? बिरामीको नाडी छाम्दा–छाम्दै उनले देशको नाडी छामे । यहाँ विद्यमान व्यवस्थाको नाडी छामे । प्रशासन र नेताहरूको नाडी छामे । बिसंगतिलाई छामे । गाउँ, सहर, देश, विदेश तथा सिंगो समाजलाई छामे । अनि पोख्न थाले निरन्तर आफ्ना अनुभूतिहरू लघुकथामा ।
आठवटा कृतिमध्ये ६ वटा त उनका लघुकथासंग्रह नै छन् । ‘अणु र पहाड’ उनको छैठाँै लघुकथासंग्रह तथा आठौँ कृति हो । यस संग्रहका लघुकथाले मान्छेका वैयक्तिक, पारिवारिक, आर्थिक सामाजिक, राजनीतिक आदि विविध कमजोरीमाथि व्यंग्यात्मक किसिमले तीव्र प्रहार गरेका छन् । त्यसैले ‘अण’ र ‘पहाड’ कथासंग्रहको शीर्षक सार्थक देखिन्छ । यो कुनै एउटा लघुकथाको शीर्षक नभएर सबै लघुकथाका मर्मलाई छिचोल्ने शीर्षक भएकाले पनि यस शीर्षकले यसभित्रका सबै लघुकथाको पूर्णप्रतिनिधित्व गर्छ ।
यस कृतिमा जम्मा पैँसठ्ठीवटा लघुकथा छन् । ती लघुकथा पढ्दा मुक्तकको स्वाद, छोटा व्यंग्यको स्वाद, सटीक कथाको स्वाद र छरिता निबन्धको स्वादसमेत् पाइन्छ । त्यसैले डा. समीरको अर्जुनदृष्टि भित्रका लघुकथाहरू विविधतामय हुन रुचाउँछन् † बहुदलवादी हुन रुचाउँछन् । आजका फोहरी राजनीतिका कुरूप यथार्थ र त्रासदीका विम्बहरू यी लघुकथाहरूमा प्रभावी बनेर आएका छन् । देशको गरिबी, अभाव, आर्थिक दूरवस्था, भ्रष्टाचार, नातावाद, कृपावाद, चाकडी, चरम संगतिहीनता, यावत् बिब्ल्याँटा परिस्थितिहरू, विकृतिहरू विसंगतिहरू आदि सबै पक्षहरूलाई डा.समीरको कलमले यथार्थ रूपमा प्रस्तुत गरेको छ । हरेक लघुकथाका आफ्ना विशेषता छन् । तथापि पछुतो, होली, असफलता, बहाना, जस, प्रसंग, यहाँ र त्यहाँ, अम्मल, जन्मको संयोग, नाम, कुन्ठा, छनोट, निर्माता संग्रहमा भएमध्येका सबभन्दा अब्बल कथा हुन् । लघुकथामा सबभन्दा बढी आवश्यक पर्ने कुरा हो यसको अन्त्य । अन्त्य ‘पन्ची’ भएन भने लघुकथा खल्लो–खल्लो लाग्न सक्छ, उसिनेको खानेकुरा खाएजस्तै । अणु र पहाडमा भएका अधिकांश कथाको अन्त्यलाई समीरले पन्ची बनाउने यथेष्ट प्रयत्न गरेको देखिन्छ । अर्को राम्रो पक्ष भनेको यसको भाषा शैली नै हो । भन्नुपर्ने कुरालाई समीर सिधा भन्न रुचाउँछन् विना कुनै अभिव्यञ्जना । लघुकथामा क्लिष्टताले काम गर्दैन पनि । समीरले यो कुराको पनि राम्रोसँग नाडी छामेको बुझिन्छ ।
रवीन्द्र समीर लघुकथामा पात्रहरूको मनोविज्ञान पनि केलाउन खप्पिस देखिन्छन् । जस्तो ‘बहाना’ कथामा रक्सी खाने अनेक बहाना खोज्ने लोग्नेको एक एक संवाद र लोग्नेको रक्सी खाने मनोदशा बुझिरहेकी स्वास्नीको एक मात्र संवादलाई मनोवैज्ञानिक फ्लेबर दिएर बडो मीठो ढंगले लेखेका छन् । यो कथा पुस्तकमा भएको सबैभन्दा उत्कृष्ट कथा हो । त्यसैगरी उनले मर्नेबेलामा आफ्नो नाउँ थाहा पाएकी कलादेबीको पूरै जीवनका मार्मिकता एउटा लघुकथामा विशिष्ट ढंगले उतारेका छन् ‘नाउँ’ शीर्षकको कथामा । त्यसैगरी ‘होली’ कथामा एउटी महिलाको साइकोलोजीलाई उनले जुन रूपमा प्रस्तुत गरेका छन् त्यो बिलकुलै यथार्थपरक र चोटिलो छ । यस कृतिको अर्को अब्बल कथा ‘जन्मको संयोग’को कुरा नगरे त झन् सम्पूर्ण समीक्षा नै अधुरो रहला । आफू अनेक बिकसित राष्ट्रहरूको नाउँ लिँदै त्यहाँ जन्मन नपाएको खेद प्रकट गरिरहेका हीन पात्रहरूको भीडमा आफू जन्मन पाएकोमै गौरब गर्ने एक पात्र क्रोमोजम र जीनहरूलाई धन्यबाद दिन्छ । थोरै कुरामा धेरै गहन दर्शन बोकेको कथा हो यो । असन्तोषीहरू संसारको कुनै कुनामा जन्मे पनि सन्तोष गर्न जान्दैनन् । सन्तोषीहरू केवल जन्मन पाएकोमै गर्व गर्छन् ।
कुनै पनि भीड एकैखाले एकाइबाट निर्माण हुँदैन । नि:सन्देह त्यहाँ विविधता हुन्छ । विविधता गुणको आधारमा छुट्याउँदा तल माथि हुन्छ । यसैले पैँसठ्ठी लघुकथाको भीडमा राम्रा कथा पनि छन् कमजोर कथा पनि । केही कथा समीरले नराखेकै भए हुन्थ्यो भन्ने भान केही पाठकहरूलाई लाग्न सक्छ । तथापि, राम्रा कथाहरूको उल्लेखनीय उपस्थितिले गर्दा कमजोर कथाहरूलाई सहजै नजरअन्दाज गर्न पाठकहरू सक्षम हुन सक्नेछन भन्ने विश्वाश भने लिन सकिन्छ । सूत्रात्मकता, छरितो अभिव्यक्ति, मुक्तकीय ढाँचा, कथ्यको अत्यन्त गम्भीर प्रस्तुति, व्यंग्यको सटीक प्रयोगजस्ता विशेषताका कारण यस संग्रहका लघुकथा रोचक र घोचक समेत् बनेका छन् ।

प्रतिक्रिया