“मातृ–सम्भोग ! ब्लु बुक होइन”

विवादित उपन्यास ‘मातृ–सम्भोग’ बाट चर्चामा आए, स्वागत नेपाल । लेखन, शैली र प्रस्तुतिका हिसाबले भन्दा उपन्यासलाई यसको विषय (जो मानव समाजमा वर्जितमात्रै होइन, अप्राकृतिक र अकल्पनीयसमेत मानिन्छ)ले चर्चित बनायो । पत्रकार देवप्रकाश त्रिपाठीले आफ्नो उपन्यास ‘प्रलय प्रारम्भ’मा ‘मातृ सम्भोग’को ‘थिम’ नक्कल गरेको प्रसंगले अहिले नेपाली साहित्य बजारमा तरंग ल्याएको छ । उनका ‘पहाड हाँस्दा पहिरो जान्छ’ र ‘धरहरा’ कवितासंग्रह प्रकाशित छन् ।
कथा/कविताका पुराना दिनहरू कस्ता थिए ?
पूर्ण भूतकाललाई वर्तमानकाल बुझेजस्तो भ्रम हुन्छ, नोस्टाल्जिया । स्कुल छँदा मनोवाद, दैनिकी लेख्ने गृहकार्य हुन्थ्यो । पञ्चायत व्यवस्था हटाएर मात्र नयाँ दसैँ मनाउने भनेर लेख्थेँ मनोवाद । हेडसरले कार्यालयमा बोलाएर त्यस्तो कविता किन लेखेको ? तेरा दाजुहरू यस्तै कुरा गरेर पढ्न पाएनन् भन्दै पिटिसकेर रुनुभयो । त्यो कविताचाहिँ भएछ भन्ने लाग्यो । कक्षा आठमा पढ्दा आमासँग धान गोड्दा ढाड दुख्यो । अनि लाग्यो– बीउ नछरी झारहरू उम्रिएजस्तो फूलहरू उम्रिनु, धान मकै र कोदो उम्रिनु कति सुन्दर हुन्थ्यो संसार । त्यही कविता पछि राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत भयो ।
ठीक छ, कतिपयले स्वागत नेपाललाई अफ बिटको नाममा समाजमा अपच साहित्य लेख्छ भनेको मैले सुनेको छु । ‘मातृ–सम्भोग †’ को नाममा त्यो कत्तिको लागू हुन्छ ?
स्वीकारभन्दा तिरस्कार गर्न धेरै शक्ति चाहिन्छ । पचाउनभन्दा नपचाउन बढी बल पर्छ । पचाउनेभन्दा नपचाउनेसँग शक्ति बढी हुन्छ । त्यसैले घृणापूर्वक अपाच्य ठान्नेहरू धेरै मेरै कुराको अध्ययन गर्नेहरू हुन्, भन्ने सोच्थे तर होइन रहेछ, पढ्दै नपढी भन्दा रहेछन् । जेहोस् घृणा अव्यवस्थित प्रेम हो ।
‘मातृ–सम्भोग †’ को हकमा पनि त्यही मात्र भएको हो ।
‘मातृ–सम्भोग †’ उपन्यासबाट तपार्इंले जोखिम उठाउनुभएको हो ?
माइक्रोस्कोपले मात्र देख्न सकिने रेखा हुन्छ भव्य सिर्जनशीलता र भयानक मुर्खताबीचमा फरक । जोखिम सिर्जनशीलता हो । सबैलाई जोखिम मोल्ने अधिकार छ नि । जलिरहेको घरभित्रबाट बाहिर फाल हानेर बल्ल बाँच्ला कि भनिएको मान्छेलाई तपाईंले आत्महत्याको जोखिम किन मोलेको भनेर कारबाही गर्न मिल्छ ? हाम्रो समाज त्यस्तो गरिरहेको छ मलाई उपन्यास ‘मातृ–सम्भोग †’ को सन्दर्भमा ।
‘मातृ–सम्भोग †’ जस्तो उपन्यासको भूमिका आमालाई लेखाउनुभएछ नि † अप्ठयारो लागेन ?
लजाउनुपथ्र्यो त पत्रकारहरूलाई । समयमा र कहिल्यै पैसा नदिई समाचारपत्रिका चलाउनेहरूले, सानो–ठूलो जस्तो होस् । लजाउनु पथ्र्यो विदेशीलाई सूचना बेच्नेले । त्यो त मातृ–बलात्कार हो । मातृ–बलात्कारी प्रवृत्तिलाई त्यही हो भनेर लेखेँ । म किन लजाउने ?
समाज जतिसुकै संकटमा परे पनि मातृ–सम्भोगको हदसम्म पुग्छ होला ?
त्यस्तो सम्भव नहोस् भनेर नै लेखिएको हो । हुनै पर्छ, होस् भनेर होइन । उपन्यासले विरोध गरेका कुरा मान्छेले जारी राखेमा सम्भव छ ।
त्यस्तो उपन्यासको उपस्थितिले नेपाली साहित्यलाई फाइदा के घाटा के ?
मैले ‘बुक’ पो लेखेको त ब्लु बुक होइन नि । न त चेक बुक नै हो । अनि के को नाफा–घाटा ? साहित्यमा नयाँ पाटो सुरु भो ।
‘मातृ–सम्भोग †’ लाई मैले एक अखबारमा समीक्षा गर्दा एकपल्ट ‘यो नेपाली साहित्यको दुर्घटना र श्राप हो’ भनेको थिएँ । एक प्रकारले यस्तो कन्टेन्ट श्राप पनि त होला नि ?
म आज जे छु त्यो पनि दुर्घटना हो । तपाईंले यसलाई श्राप भन्नुभयो । उहिल्यै एक साप्ताहिकमा पनि गाली गरेर लेख्नुभयो । अझै गर्दै हुुनुहुन्छ । तपाईँ मेरो घोर विरोधी हुनुभयो । अलि कम गरौँ न बरु । यसो केही मिलाउँला भन्न पनि नमिल्ने । मिल्न पनि नसक्ने परियो आफू । श्रापचाहिँ नेपाल आमालाई बलात्कार गर्न खोज्नेलाई लागोस् भनेको हुँ ‘मातृ–सम्भोग †’ उपन्यासमा ।
अब अर्को सन्दर्भ, ‘मेरो उपन्यासको कन्टेन्ट एकजना पत्रकार देवप्रकाश त्रिपाठीबाट कपी भयो’ भनेर आफैंले भन्दै हिँड्नुभो । तर, खास एक्सनचाहिँ लिनुभएन नि ?
मैले आपैँm त भन्दै हिँडिनँ । मेरो कुनै उद्धरणविना पत्रपत्रिकामा उहाँले मेरो उपन्यास ठ्याम्मै मिल्ने गरी हुबहु नक्कल गर्नुभएको हो भनेर आए । पछि उहाँले मैले चोर्नु पर्ने गरी स्वागत नेपालको सिर्जनाशक्ति छैन भनेपछि मैले चोरले चोरी गरेर फर्किएपछि जसको घरमा चोर्न गएको थिएँ त्यो त मभन्दा गरिब रहेछ भन्दै फर्किएजस्तो भयो भनेँ । अंग्रेजीमा सभ्य भएर प्लेजरिजम् भन्छन् तर म एफोरिजम् भन्छु जसको अर्थ हो ओरिजिनल कलेक्सन गरेर प्रकाशित गर्ने सोख । उहाँ राम्रो सम्पादक भएकोले सम्पादन गर्नु भएको होला मेरो पुस्तक । सम्पादक राम्रो रिराइटर पनि हुन्छ । त्यसैले रिराइट गर्नुभएको होला मेरो उपन्यासलाई । एक्सन केहीपछि सिर्जनशील तवरबाटै आउनेछ ।
तपाईंको कविता–संग्रह पनि आएको छ क्यारे । तर, त्यसको चर्चा कहीँ सुनिँदैन । ‘मातृ–सम्भोग †’को चर्चा व्यापक भयो । तपाईं कवितामाचाहिँ फ्लप हो ?
राष्ट्रिय कविता महोत्वसमै पुरस्कृत कवितासमेतको संग्रह हो त्यो । ‘छोरी तिमी राजा नहोऊ,’ सडकमा आन्दोलनको बेला पनि सुनाएको कविता थियो । पहिलोपटक नेपाल दुई ढुंगाबीचको तरुल होइन दुई तरुलबीचको ढुंगा हो किनकि उनीहरूको प्रगतिका मुना पलाइरहेको छ भन्दै नयाँ कुरामार्फत ११ वर्षअघि नै ऐतिहासिक विम्ब भत्काइदिएर नयाँ परिभाषा दिएँ । सबैले ‘मेरी प्रिया तिमी आकाशकी जून,’ ‘अकबरी सुन’ भन्थे । मैले तिमी आकाशकी होइनौ, त्यहाँ दुई करोड खर्च गर्‍यो भने पाइला टेक्न पाइन्छ, तिमी दुई करोडमा सबैले पाइला टेक्न पाउने होइनौ अनि सुन पनि होइनौ सधैँ भाउ घटबढ भइरहने भनेँ । यस्तो कुरा कसैले सोचेको पनि थिएन, उपमा नै परिवर्तन गरिदिएँ युगौँदेखिको, अनि कसरी फ्लप ?
वाल्ट ह्विट्मेनले ‘आई सेलिब्रेट माइसेल्फ’ भनेभैँm तपाईंले पनि यस्ता लेखनबाट आपैँm मात्र सेलिब्रेट गर्नुभो । दुनियाँलाई चाहिँ पीडा दिनुभो ।
ह्विटमेनसँग मेरो धेरै कुरा मिल्छ । मैले पनि ३० वर्ष जतिसम्म रक्सी चाखेको थिइनँ । उनी पनि पत्रकार, शिक्षक थिए । उनी ७२ वर्ष बाँचे मेरो थाहा छैन । अँ पीडाको कुरा गर्नुभयो । हो, म दिन्छु, पीडा तिनीहरूलाई । जसका कर्तुत सम्झाउँदा तिनलाई पीडा हुन्छ ?
आफ्नो उपन्यास/कथामा सेक्सलाई बढी नै स्थान दिनुहुन्छ । लेखक सेक्सले बाँच्ने हो कि लेखनको स्तरले ?
सेक्स तन, मन, वचन र कर्मले फरक फरक गरिन्छ । शरीरले मात्र होइन । मुलुकी ऐनमा पनि आशय–करणी भएको पुष्टि भयो भने कारबाही गर्ने व्यवस्था छ । तर मेरो लेखनमा सेक्सले बढी प्राथमिकता पाएजस्तो लाग्दैन । ‘मातृ–सम्भोग †’ को कुरा गर्ने हो भने यो यौनकथानक नै हैन ।
धर्म, ईश्वरप्रति तपाईंको के धारणा छ ? साहित्यमा धर्मको स्थान कस्तो हुनुपर्छ ?
ईश्वरलाई थाहा छ उनलाई मेरो बारेमा मलाई भन्दा बढी थाहा छैन –म सत्य बोल्छु । उनलाई भेटेँ भने उनको मेरो भिषण झगडा हुनेवाला छ । त्यसैले मेरो अघि आउँदैनन् ।
तपाईं अधिवक्ता पनि हुनुहुन्छ । अदालतका फिरादपत्र, जाहेरी, बहस, मुद्दामा व्यापक अल्झिनुपर्ला । यस्ता कुराको प्रभाव साहित्य लेखनमा पर्छ कि पर्दैन ?
अदालती कागजातमा त साहित्यको केही भूमिका हुन्न । तर, बहस पैरवी प्रस्तुति अनि सिलसिलाबद्धताको प्रभावकारिताचाहिँ साहित्यिक पुटका कारण बढी सम्प्रेष्य हुन्छ । हरेकजसो मुद्दाका पछाडि एउटा न एउटा कथा हुन्छ, पीडा हुन्छ जोसँग हामी नियमित साक्षात्कार गछौँ । ती नलेखिएका कथा झन् बेजोड हुन्छन् ।
तपाईं आफैँले हेर्दा आफ्ना कविता, उपन्यासको स्तर कहाँ छ ?
म अरूले सोच्न नभ्याएका र नसोचेका वा सोचेर पनि लेख्न हिम्मत गर्न नसकेका आख्यान र कविता लेख्न प्रयासरत सर्जक हुँ । रचनाको सैद्धान्तिक धरातल देखाएर व्याख्या पनि गर्न सक्छु । लेखेर छोडिदिने मात्र होइन । स्तर चाहिँ विशेषज्ञले भन्ने हो । कपडा सिलाउन नजान्ने पनि अरूले सिलाएको मिलेन त भन्न सक्छन् ।
तपाईं आफू रेडियो, टेलिभिजन आदिका विज्ञापनका लागि २०/२५ सेकेन्डका गीत, संवाद र अढाई–तीन घन्टाका फिल्मका स्क्रिप्ट पनि लेख्नुहुन्छ, फरक के छ कमर्सियल लेखन र साहित्यिक लेखनमा ?
टेलिभिजन, रेडियोका विज्ञापनका लागि पनि छोटा छोटा कथा, कविता गीत लेख्नुपर्छ । ती विशुद्ध रूपमा व्यापारिक हुन्छन् । २० सेकेन्डमा सकिने अरूलाई चित्तबुझ्दो कविता, गीत, संवादका टुक्रा तयार गर्न निक्कै मिहिनुत गर्नुपर्छ ।

प्रस्तुति : दीपक सापकोटा

प्रतिक्रिया