साथीलाई पिट्दा आमाको झापु भेटेँ

मेरो शिक्षारम्भ घरबाटै भएको हो, अनौपचारिक रूपमा । हरि गुरुले पढाउनुहुन्थ्यो । बाह्रखरी र म्याथ सिकाउनुहुन्थ्यो । औपचारिक शिक्षाचाहिँ एकैचोटि पाँच कक्षामा भर्ना भएर सुरु गरियो । मरुस्थित शान्ति निकुञ्ज माविमा । स्कुल जान पाउँदा खुब रमाइलो लाग्थ्यो । त्यसैले कहिल्यै स्कुलबाट भागिनँ ।
जहिल्यै स्कुल लागिरहोस्, बिदा नहोस् जस्तो लाग्थ्यो । एक दिन एउटा साथीले भन्यो– ‘तँलाई थाहा छ, आज त स्कुल बिदा छ नि ?’ नरमाइलो लाग्दालाग्दै उसलाई पत्याएर त्यस दिन गइनँ । तर, साथीले ढाँटिदिएको रहेछ । स्कुल त लागेछ । साँझ बुबाले थाहा पाएपछि पिटाइ भेटेँ । गाली पनि खुब गर्नुभयो । स्कुल छुटेकोमा निकै पछुतो भयो, त्यसपछि त्यस्तो गल्ती कहिल्यै गरिनँ ।
सानैदेखि समूह बनाउन मन पराउँथेँ म । आफ्नै उमेरसमूहका साथीहरू जम्मा पारेर ११ वर्षकै उमेरमा क्लब बनाएको थिएँ । घरबाट खाजाका लागि पाएको पैसा जोगाएर क्लबका लागि जम्मा गथ्र्यौं । क्लबमार्फत ब्याडमिन्टन, टेबुलटेनिस, फुटबल, डन्डिबियो, गुच्चाजस्ता खेल सञ्चालन गथ्र्यौं । खेल्न टुँडिखेलतिर पुग्थ्यौँ । वसन्तपुरनजिकै हाम्रो घर । उहिलेको काठमाडौं अहिलेजस्तो भीडभाड थिएन । जता पनि खेल्न सकिने, सबै आफ्नै साम्राज्यजस्तो लाग्थ्यो ।
घरबाट पाँच पैसा खाजाखर्च दिन्थे । त्यो जमानामा त्यो धेरै नै थियो । पैसाको भ्याल्यु थियो । पाउँ, बकुल्लाजस्ता खानेकुरा किनेर खान्थ्यौँ । आठ कक्षा पढ्न सिद्धार्थ बनस्थली गएँ । अब, घरबाट एक रुपियाँ खाजाखर्च पाउन थालेँ । पचहत्तर पैसामा एक पोको पाउरोटी आउँथ्यो । हामी पाउरोटी किनेर बचेको पैसा उभाथ्र्यौं अनि क्लबमा जम्मा गथ्र्यौं ।
मलाई सानैदेखि अन्याय मन नपर्ने । लाग्छ– नेतागिरी पनि त्यही बेलादेखि सुरु गरेँ होला । हाम्रो आफ्नै ग्याङ थियो । कैयौँ पटक अर्को ग्याङसँग फाइट पथ्र्यो । धेरै पटक पिटाइ खाएको छु, त्यसो त अरूलाई गोदेको पनि छु । एक दिन त्यसै गरी अर्काे ग्रुपको एउटा साथीलाई भकुरेँ । तर, पछि त ऊ आमा लिएर आएछ । मेरो छोरालाई किन पिटिस् भन्दै मलाई पिट्न थालिन् । साथीलाई पिट्दा उसकी आमाको झापु भेटियो, पहिलोचोटि ।
साँझ घर गएर बुबालाई कुरा लगाएँ । तर, उहाँले त उल्टै गाली गर्नुभयो, तेरै गल्ती होला त्यसैले त पिटे । नत्र त्यत्तिकै पिट्छन् †’ बुबाको सहानुभूति पाउँला भनेको उल्टै खिस्रिक्क पो पर्नुपर्‍यो ।
अहिलेका बच्चालाई जस्तो छानीछानी लुगा लगाउन पाउने अवस्था उति बेला थिएन । दसैँमा मात्र नयाँ लुगा दिन्थे । नत्र नयाँ लुगा भनेको उही स्कुलको ड्ेरस मात्रै हो । कुनै सामान मन पर्‍यो भने घरमा सिधै किनिदिनुस् भन्ने आँट आउँदैनथ्यो । त्यसैले म त्यही सामानबारे कविता लेखेर घरमा सुनाउँथेँ, कूटनीतिक चालमा । घरकाले बुझिहाल्थे । कहिलेकाहीँचाहिँ त्यो चालले पनि काम गथ्र्यो, आफूले चाहेको सामान पाइहाल्थेँ ।
संयुक्त परिवारमा हुर्किएको हुँ । निकै रमाइलो पो हुन्थ्यो त † चाडबाडमा खानेकुरा बाँडिँदा समूहमा हारालुछ गरेर बसिन्थ्यो । दसैँमा झनै मज्जा । मासु पोलेर खाइन्थ्यो, भागै नपुग्ने । त्यसमा पनि छुट्टै आनन्द थियो, अहिले सम्झँदा पनि रमाइलो लाग्छ ।
खेल्ने कुरामा पनि अहिलेका बालबालिकालाई जस्तो अनेकौँ विकल्प उति बेला थिएनन् । एक्लै केही खेल्न मिल्दैनथ्यो । समूहमै खेल्नुपर्ने । साथी नभई नहुने । तर, अहिलेका केटाकेटीलाई त साथी नभए पनि हुन्छ, कम्प्युटरमा एक्लै गेम खेलेर बस्छन् । त्यसैले त उति बेलाको जस्तो साथीसाथीबीचको आनन्द र भावनात्मक सम्बन्ध अहिलेका बालबालिकामा पाइँदैन । साथीसाथी मिलेर बिदाको समयमा फिलिम हेर्न जान्थ्यौँ, रञ्जना र जय नेपाल हलतिर ।
(वार्तामा आधारित)

प्रतिक्रिया