‘दिगो विकासमा पर्यावरण आवश्यक’

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले दक्षिण एसियाली देशमा दिगो विकासका लागि विकाससँगै पर्यावरणमा पनि ध्यान दिनुपर्ने र यसका लागि सरकारले आफ्नो विकास खर्चमा समेत ध्यान दिनुपर्ने बताए । खतिवडाले मंगलबार काठमाडौंमा नवाँै दक्षिण एसियाली विद्यार्थी समिटको उद्घाटन गर्दै सो धारणा व्यक्त गरेका हुन् । खतिवडाले देशको आर्थिक विकासमा पर्यावरणमा ध्यान दिनुपर्नेमा केही रियल स्टेटका व्यवसायीले रियल स्टेट उद्योगका नाममा खेतबारीको तहसनहस गरेकाले राष्ट्र बैंकले त्यसमा जाने कर्जामा रोक लगाएको बताए । उनले भने, ‘रियलस्टेटका नाममा खेतबारी मासेर ग्राभेल गर्ने र बजारमा कृत्रिम मूल्य खडा गरेर उर्वराशक्ति मासेकाले वित्तीय उपकरणको परिचालन गरेर पर्यावरणको संरक्षण गर्न सफल भयाँै ।’ रियलस्टेट क्षेत्रमा वित्तीय क्षेत्रको कुल कर्जाको केबल १२ प्रतिशत मात्र कर्जा रहेको छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति हीरा महर्जनले विकासका लागि पर्यावरणमा ध्यान दिनुपर्ने र सार्क देशमा पर्यावरणीय अध्ययनमा पर्याप्त काम हुन नसकेको बताए । प्राध्यापक डा. विश्वम्भर प्याकुरेलले दक्षिण एसियाली देशमा विकाससँगै गरिबी, बेरोजगारीका विषयमा बहस/छलफल आवश्यक भएको बताए । उनले जनताको आम्दानीसँगै विकासको परियोजनामा अपनत्वको भावना जागरुक नगराएका अवस्थामा त्यसले दिगो विकास गर्न नसक्ने धारणा राखे ।
इन्डियन इन्स्चि्युट अफ टेक्नोलोजी मुम्बईका प्राध्यापक के नारायनले दक्षिण एसियाली देशहरूमा विकासका लागि उद्योग प्रतिष्ठानबारे बढी र मानवीय असरका पक्षमा कम ध्यान दिने भएकाले यसलाई सुधार गर्न सरकारले उपयुक्त नीति अख्तियार गर्नुपर्ने बताए । युनाइटेड इन्टरनेसनल युनिभर्सिटी ढाकाका प्राध्यापक एके इनाम्युल हकले दक्षिण एसियाली देशमा ऊर्जा विकासका लागि पर्यावरणमा ध्यान दिनुपर्ने भएकाले सौर्य ऊर्जालाई कम लागतमा जनतालाई उपलब्ध गराइएका खण्डमा मात्र पर्यावरणको संरक्षण हुने धारणा राखे ।
विभिन्न छ देशका विभिन्न विश्वविद्यालयमा अर्थशास्त्रको विषयमा अध्ययन गरिरहेका ७२ जनाको सहभागिता रहेको उक्त सम्मेलन चार दिनसम्म चल्ने त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक नवीन अधिकारीले जानकारी दिए । कार्यक्रममा विभिन्न एक दर्जन विषयमा विभिन्न विषयका प्राध्यापकले विद्यार्थीसँग छलफल गर्ने र उनीहरूलाई विषयगत रूपमा प्रतिस्पर्धा गराइने कार्यक्रम रहेको छ । (सौस)

प्रतिक्रिया