भक्तबहादुर म्युनिख नरसंहारका साक्षी

सन् १९७२ । म्युनिखमा ओलम्पिकको चटारो थियो । विश्वभरिका खेलाडी जर्मनीमा उर्लिएका थिए । सबै जना आ–आफ्नो खेलक्षमता उत्कृष्ट साबित गर्न मेहनत गरिरहेका थिए । खेलमार्फत विश्वबन्धुत्वको भावना विस्तार गराउने नारा उरालिरहेका थिए आयोजकहरू । तर, इजरायल र प्यालेस्टाइनबीचको कटुताले नराम्ररी हल्लाइदियो, ओलम्पिकको यो संस्करणलाई । प्यालेस्टाइनीले ओलम्पिक ‘भिलेज’ बाटै इजरायली एथलेटलाई उठाएर लगे र एयरपोर्ट पुर्‍याएर आत्मघाती हमला गरे । खेलहरूको विश्वस्तरीय कुम्भमेलासँग जोडिएको नरसंहारको यो घटनाले अहिले ४० वर्ष नाघिसक्यो । थुप्रैले बिर्सी पनि सके होलान् । ‘तर मलाई त त्यो घटना अहिले पनि आँखैअघि झलझली आइरहन्छ,’ भक्तबहादुर सापकोटा चार दशकअघि फर्किए– ‘म त्यति बेला ती इजरायली एथलेटको छेवैको कोठामा बसेको थिएँ ।’ ओलम्पिक इतिहासका सर्वाधिक चर्चितमध्येको एक उक्त घटनाको साक्षी हुन्, भक्तबहादुर । नेपालका लागि भने म्युनिख ओलम्पिक अर्को पक्षबाट पनि स्मरणीय बन्यो । किनकि सोही संस्करणबाट भक्तबहादुर ओलम्पिक म्याराथन रेस पूरा गर्ने पहिलो नेपाली बन्न सफल हुन पुगे ।

प्राचीनकालीन ओलम्पिक संरचना कस्तो थियो होला ? के यो त्यतिखेरैदेखि व्यवस्थित खेलतालिकाबाट सञ्चालित थियो ? वा, मनोरञ्जनको सस्तो माध्यमका रूपमा मात्र अपनाइएको थियो ? ओलम्पिकको इतिहाससँग जोडिएका यस्ता थुप्रै प्रश्न अहिले पनि निरुत्तरित नै छन् । कसैले यही नै थियो भनेर ठोकुवा गर्न सकेको छैन । अस्पष्ट इतिहासले यसो चाहिँ पक्कै भन्छ– यो खेलकुद स्पर्धाभन्दा बढी ग्रिक सभ्यताको प्रतीक हो ।

ओलम्पिक खेलकुद रोकिएर सन् १८९६ मा फेरि सुरु हुँदा पनि ग्रिक सम्राटहरूले यसलाई आफ्नो सभ्यताको प्रतीक नै ठाने । यसै कारण आधुनिक ओलम्पिकलाई पनि सधैँ आफ्नै देशमा मात्र सीमित गरिराख्ने चाहना देखाए । अन्तर्राष्ट्रिय निकायले त्यसलाई अस्वीकार गरेर विश्वकै बनाइसकेपछिको ओलम्पिक इतिहासले पनि अहिले १ सय १६ वर्ष पार गरिसकेको छ । हालसम्मका यसका ३० वटै संस्करण विभिन्न कारणले महत्त्वपूर्ण रहे । २९औँ संस्करणमा आइपुग्दा ‘ओलम्पिक मुभमेन्ट’ जाति, धर्म, वर्ग र वर्ण सबैखाले भेदभावबाट मुक्त समाजका लागि समर्पित बन्यो । बेइजिङ ओलम्पिकमा तय गरिएको ‘वान वल्र्ड वान ड्रिम’ को मुद्दालाई आत्मसात् गर्नुअघि थुप्रै आरोहअवरोह पार गर्‍यो । शीतयुद्ध, गाजाक्षेत्रको विवाद, रंगभेद नीति, नाजी र यहुदीको जातीय विखण्डन पनि ओलम्पिक इतिहासका पाटा बनेर बसे । ओलम्पिकको प्राचीनता र जोडिएका अनेकौं पाटाबारे भक्तबहादुरलाई थाहा नहोला तर म्युनिख ओलम्पिकका एउटा हिस्सा भने उनी पनि हुन् । नेपालले ओलम्पिक सहभागिता सुरु गरेको पाँच दशक भयो । भक्तबहादुर यो ओलम्पिकयात्राका पुरानो कालखण्डका अनुभवी नेपाली हुन् ।
त्यसो त उनी बाल्यकालदेखि नै खेलकुदमा लागेका होइनन् । सेनाको जागिरमा लागेपछि उनको खेलकुदयात्रा पनि फराकिलो हुन थालेको हो । सुरुसुरुमा उनी ब्यारेकमै ५ माइल कुद्ने गर्थे । विस्तारै सेनाका तर्फबाट दौड स्पर्धाहरूमा पनि सहभागिता जनाउन थाले । त्यति बेलासम्म राष्ट्रको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने कुनै छेकछन्दै थिएन उनको मनमा ।
पाँच भाइमध्येका साहिँला उनी । जीविका धान्न आर्मीमा प्रवेश गरेका । बढुवा हुनु, हट्टाकट्टा देखिनु र तन्दुरुस्त रहनु नै उनका सपना थिए । वैज्ञानिक ढंगको एथलेटिक्स प्रशिक्षणबारे उनलाई के थाहा ? मूलधारको खेलकुदको संस्थागत संरचना उनका लागि चासोको कुरै थिएन उति बेला । त्यसो त उनी कुदिचाहिँ रहन्थे, त्यसैले धेरेको चासोका पात्र बनिसकेका थिए । काभ्रेको चिसो पानी र गाउँले जीवनयापनले आफूलाई बलियोबांगो बनाएको उनी ठान्छन् ।
आर्मीमा उनलाई रामकृष्ण खड्काले प्रशिक्षण दिन्थे । तीव्र गतिमा दौडन सक्ने उनको चर्चा खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्सम्म पुग्यो । यसै चर्चाले उनलाई बन्द प्रशिक्षणसम्म डोहोर्‍यायो । परिणाम– उनी सन् १९७० को बैंकक एसियन गेम्स खेल्ने नेपाली टोलीमा समावेश भए । त्यति बेला उनी १० हजार मिटरमा नेपाली टोलीको प्रतिनिधित्व गर्थे । लक्ष्मणविक्रम शाह, मधुशमशेर र भारतीय प्रशिक्षक विद्यासागर नेपाली टोलीका प्रशिक्षक थिए ।
लामो समयसम्म मध्यम दूरीका धावक रहेनन् उनी । म्युनिख ओलम्पिकमा म्याराथनमा सहभागिता जनाए । यसबीच उनी र नेपालका अर्का परिचित धावक जितबहादुर केसी निकैचोटि आमनेसामने भए । घरी एउटा पहिलो हुन्थे, घरी अर्का । तर, धेरै जित्नेचाहिँ जितबहादुरै हुन्थे । संयोगवश म्युनिख ओलम्पिकमा भने जितबहादुरले रेस पूरा गरेनन् । अनि ओलम्पिकमा म्याराथन रेस पूरा गर्ने पहिलो नेपालीका रूपमा नाम लेखियो, भक्तबहादुरको । कुल १ सय २५ जनाबीचको विश्वस्तरीय दौडमा भक्तबहादुरले २ घन्टा ३७ मिनेट लगाएर २५औं स्थान ल्याएका थिए ।
त्रत्रत्र
एथलेटिक्स विज्ञानले दौडलाई तीन ढंगले विभाजित गरेको छ– छोटो, मध्यम र लामो दूरी । यी तीनैका आफ्नैखाले विशेषता छन् । भिन्न शारीरिक क्षमता, बनावट र शक्ति हुनेका लागि छुट्टै स्पर्धा उपयुक्त हुन्छ नै । उनी २१औं शताब्दी सुरु भएपछिका धावक हुन्थे त मध्यम दूरीबाट लामो दूरीका धावक बन्दा किन सफल भए भन्नेबारे अनेकौँ छलफल र अध्ययन हुन्थे होलान् । उनलाई यही विधा यसकारण उपयुक्त छ भन्नेबारे अनेकौँ सल्लाह मिल्थ्यो होला । तर, एथलेटिक्सलाई अझै पनि विज्ञानको एउटा पाटो हो भनेर नस्वीकार्ने नेपाली मानसिकता कायमै छ । त्यसमाथि उनी परे चार दशकअघिका धावक । उनलाई सम्झाउने को हुन्थे र ? भन्छन्– ‘मध्यम दूरी छाडेर लामो दूरीमा किन केन्द्रित भएँ, यसको कारण म आपैँmलाई पनि थाहा छैन, त्यति बेला त्यही ठीक लाग्यो, त्यही गरियो ।’
उनका लागि खेलविज्ञानभन्दा म्युनिख ओलम्पिकको मानवसभ्यतालाई नै कलंकित बनाउने त्यो घटनाचाहिँ विशेष स्मरणीय छ, ‘इजरायली एथलेटलाई कब्जामा लिन उनीहरूले ओलम्पिक भिलेज ध्वस्त गर्ने धम्की दिए । जर्मन सरकार, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र राष्ट्रसंघ पनि इजरायली एथलेटलाई भिलेजबाट बाहिर निकाल्न मजबुर भए । लगत्तै उनीहरूलाई एयरपोर्ट पुर्‍याइयो । एयरपोर्टमा उनीहरूलाई उद्धार गर्न लोडसेडिङ के गरिएको थियो, आत्मघाती विस्फोट गरिहाले नि † इजरायली टोलीका नौ जना मारिए ।’
२००४ सालमा जन्मिएका भक्तबहादुरले त्यसबाहेक खेलेको अर्को ठूलो प्रतियोगिता थियो, मनिलामा भएको एसियन ट्रायक एन्ड फिल्ड । त्यसमा जितबहादुरले अन्तर्राष्ट्रिय पदक जित्ने पहिलो नेपालीका रूपमा नाम लेखाएका थिए । भक्तबहादुरचाहिँ चौथो हुन पुगे । अन्तर्राष्ट्रिय प्रतियोगिताका हकमा उनले पाकिस्तानको पेसाबरमा भएको आमन्त्रण प्रतियोगितामा तेस्रो स्थान पाएका थिए । नेपालगन्ज र वीरगन्जमा राष्ट्रिय स्तरको प्रतियोगितामा उनले १० हजार मिटरमा सहभागिता जनाए । १९७३ को एसियन ट्रयाक एन्ड फिल्डपछि भने उनी बिस्तारै खेलबाट टाढिए । सँगैका धेरै जना परिषद् र संघतिर सक्रिय हुन थाले । उनी भने सेनाकै जागिरमा रहे । ०५२ मा मानार्थ उपसेनानीबाट अबकाश पाएपछि अहिले पूर्ण रूपमा घरायसी जीवनमै केन्द्रित छन् । उनीसँगै एसियन गेम्समा सहभागिता जनाएका अनुपशमशेर राणाको धेरै अघि निधन भइसकेको छ । ८ सय मिटरका धावक खड्ग रानाभाट राखेपमा सदस्य छन् ।
अहिले नेपाली एथलेटिक्समा प्रत्यक्ष सरोकार छैन भक्तबहादुरको । तैपनि, नेपाली खेलकुदबारे जानकारी राखिरहन्छन् । ‘हाम्रो पालामा प्रतिबद्धता थियो, अहिले सुविधा छ,’ नेपाली खेलकुदको विगत र वर्तमान तुलना गर्छन् । गत वर्ष धनगढीमा छैटौँ राष्ट्रिय खेलकुद भयो । थुप्रै ओलम्पियनले ओलम्पिक टर्च बोक्ने अवसर पाए । उनले यी सबै कुरा समाचारमा पढे । तर, उनलाई कसैले सम्झेन । भित्रभित्रै दुख्छन् उनी । घरीघरी त्यो विभेद आक्रोश बनेर पनि पोखिन्छ– ‘हामी गाउँले । जितबहादुर पनि गाउँले नै हो, दोलखाको । यसै कारण हामीलाई भेदभाव गरियो । राज्य र ठूला भनाउँदाले सम्झिँदैनन् । परिषद्मा बोलवाला पनि रैथानेकै छ ।’ निराश वर्तमानप्रति अझ आक्रोशित हुँदै छन् उनी– ‘राज्यको केन्द्रीय निकाय मात्र होइन, अरूले पनि मलाई सम्झेका छैनन् । यसो भन्दैमा कसैले इतिहासलाई नै तोडमरोड गर्न त सक्दैन नि †’ उनी सन्तुष्ट हुने प्रयास गर्छन् ।
आजका दिनमा उनी नेपाली खेलक्षेत्रबाट कसैको पनि सम्पर्कमा छैनन् । तर, समाचारमार्फत जानाकारी राखिरहन्छन् । खेलकुद प्रशासनबारे थुप्रै विवाद सुनिरहन्छन् । उनी ठहर्‍याउँछन्– ‘ती सबै विवाद खेलकुदको विकास गर्न होइन कि आफ्नो स्वार्थ पूर्ति गर्न उठाइएका हुन्, धेरै भ्रष्टहरूकै बोलवाला भयो । नातावाद र कृपावाद चरम भयो ।’ अझै छन् उनका गुनासा– ‘मजस्ता दुई दशक खेलकुदमा बिताएका अरू पनि थुप्रै होलान् तर हामीलाई सम्झने फुर्सद कुनै पनि खेलकुद निकायलाई छैन । ओलम्पिक इतिहासका प्रारम्भिक दिनमा नेपाली खेलकुदलाई प्यारले सुमसुम्याउने, आत्मीय सम्बन्धहरू गाँस्ने उनै हुन्, तर आज यही खेलकुद उनलाई पराई सम्झन्छ । उनले भनेजस्तो सबैलाई खेलकुदको जिम्मेवार निकायले बेवास्ता गरेको नहोला । तर, योचाहिँ साँचो हो– नेपाली खेलकुदको कुनै पनि निकायमा नअटाइएका र नबोलाइएका एक्ला ओलम्पियन हुन् उनी । जसले उनलाई म्युनिख ओलम्पिकमा देखिएको नरसंहारको कठोर दृश्यले भन्दा पनि बढी पोलिरहन्छ ।

प्रतिक्रिया