एसिया–प्रशान्त क्षेत्रका सांसद काठमाडौंमा भेला हुने

काठमाडौं : एसिया प्यासिफिक क्षेत्रका सांसदहरूको १६औँ सम्मेलन काठमाडौंमा हुने भएको छ ।

८ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएपछि सम्मेलन १ माघदेखि चार दिन राजधानीको एक होटलमा हुने कार्यक्रम तय भएको हो । ४६ देशका सांसद एसिया प्यासिफिक पार्लामेन्टिरियन अन इनभारमेन्ट एन्ड एकोनोमिक संस्थाका सदस्य छन् । सम्मेलनमा सदस्य देशका मन्त्री, सभामुख र सांसद गरी सयजना सहभागी हुने संस्थाकी महासचिव महालक्ष्मी उपाध्याय डिनाले जानकारी दिइन् ।
महासचिव उपाध्यायका अनुसार सम्मेलनले वातावरणीय परिवर्तन र विकासका विषयमा रणनीति बनाउनेछ । सम्मेलनबाट पारित घोषणापत्रलाई युरोपियन युनियनमा पेस गरिनेछ । सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्ने उनले बताइन् । मलेसियाको क्वालालाम्पुरमा सम्पन्न १५आँै सम्मेलनले दक्षिण कोरियाली रुलिङ पार्टीका अध्यक्ष वाङ ओ ई लाई अध्यक्षमा निर्वाचित गरेको थियो भने उपाध्याय महासचिवमा चुनिएकी थिइन् । (सौस)

प्रतिक्रिया